अर्थ

‘खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण’

सिन्धुपाल्चोक– डेढ वर्षदेखि बन्द उत्तरको मुख्य नाका खासा–तातोपानी नखुल्नुमा खासातर्फको क्षतिग्रस्त सडक मुख्य कारण रहेको स्थानीय तिब्बती अधिकारीले बताएका छन् ।

सीमावर्ती दुई जिल्लाका अधिकारीबीचको सीमा बैठकमा बुधबार उनीहरुले खासातर्फको क्षतिग्रस्त सडक मर्मतपछि नाका सञ्चालनमा आउने बताए । मितेरीपुल–खासा झण्डै १५ किमी सडक कामै नलाग्ने गरी बिग्रको र त्यो मर्मतको काम भइरहेको तिब्बती अधिकारीले बैठकमा जानकारी गराएका थिए ।

पुनर्निर्माण भइरहेको सडक काम कहिले सकिने र नाका कहिलेदेखि सञ्चालनमा आउने भन्ने चाहिँ उनीहरुले खुलाएनन् । ‘सडक मर्मत भइरहेको छ । मर्मत सक्नासाथ नाका सञ्चालनमा आउँछ,’ बैठकपछि नेलाम जिल्लाका प्रमुख पेङ लु वेईको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए ।

गत वर्ष वैशाख १२ को बिनासकारी भूकम्पपछि खासा–तातोपानी नाका बन्द छ । गत असार २५ गतेको भोटेकोसी बाढीले तल्लो तटीय क्षेत्रको तातोपानीमा व्यापक भौतिक क्षति पु¥याएपछि नाकाको भविश्य अन्यौलपूर्ण छ । तिब्बती गतिविधीका कारण चीन तत्काल तातोपानी नाका खुलाउन तयार नरहेको चर्चा हुँदै आएको थियो ।

‘तपाईँहरु जत्तिकै हामी पनि तत्काल नाका खुलाउन हतारिएका छौँ,’ पेङले बैठकमा भने । उनले भूकम्पपछि खाली रहेको खासा क्षेत्रको भौगर्विक अध्ययन भइरहेको समेत जानकारी दिए । अध्ययनले खासामा बस्ती बसाल्न नमिल्ने देखाए नेलामबाट भएपनि व्यापारिक कारोवार र ओहोर–दोहोरको व्यवस्था मिलाइने त्यहाँका प्रमुख जिल्ला अधिकारी रहेका पेङले बताए ।

‘नाका बन्द हुँदा हाम्रो पनि व्यापारिक गतिविधि चौपट भएको छ । हामी छिटो नाका खुलाउन चिन्तित र सम्वेदनशील छौँ,’ उनले भने । आलोपालोमा हरेक ६ महिनामा हुने बैठकमा सिन्धुपाल्चोकका अधिकारीले बन्द नाका खुलाउन जोड दिँदै यसबारे चिनियाँ अधिकारीसँग चासो राखेका थिए ।

‘चिनियाँले नाका बन्द हुनुमा सडकलाई कारण देखाएका छन् । त्यो बनेपछि नाका खुल्नेमा बढी आसाबादी भएका छौँ,’ नेपाली अधिकारीको नेतृत्व गरेका प्रजिअ सिलवालले सञ्चारकर्मीसँग भने । बैठकमा तिब्तको नेलाम र सिन्धुपाल्चोकबीच भगेनी सहर सम्वन्ध कायम गर्न नेपाली अधिकारीहरुले प्रस्ताव गरेका थिए । प्रस्तावमा सकारात्मक चिनियाँ अधिकारीले यो प्रस्ताव केन्द्रीय सरकारसम्म पु¥याउने आश्वासन दिए ।

सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने आगालागी नियन्त्रण गर्न सहकार्य गर्ने निर्णय बैठकले गरेको प्रजिअ सिलवालले बताए । बैठकमा उनले भोटेकोसी बाढीले तल्लो तटीय क्षेत्रमा पु¥याएको बिनासबारे चिनियाँ अधिकारीलाई जानकारी गराउँदै आगामी दिनमा प्रकोप र त्यसबाट हुने क्षति किम गर्न मितेरी पुलमा सूचनायन्त्र (¥याडर) राख्ने तयारी भइरहेको बताएका थिए । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको बैठकमा सीमा जिल्लाका अध्यागमन, भन्सार, व्यापार, सुरक्षा, विदेशमामला, वन लगायत निकायका अधिकारी थिए ।

प्रकाशित: ६ पुस २०७३ १३:०० बुधबार

खासा–तातोपानी नाका नखुल्नुमा बाटो मुख्य कारण