अर्थ

हवाई भाडा बढाउने निर्णय

काठमाडौं- सरकारले २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको तेस्रो दिन बिहीबार आन्तरिक वायुसेवा कम्पनीहरूले २३ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बिहीबार बसेको बैठकले सुगम गन्तव्य (ट्रंक सेक्टर) तर्फ हवाई भाडा न्यूनतम २० देखि अधिकतम २३ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको हो। त्यस्तै पर्यटक गन्तव्य (टुरिस्ट सेक्टर) तर्फ न्यूनतम २३.५९ देखि अधिकतम ३५.८७ प्रतिशत भाडा बढ्ने छ। बढेको भाडा आगामी सोमबार (पुस ४) बाट लागू हुनेछ।

'सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी नयाँ दर निर्धारण गरेका छौं,' संघका प्रवक्ता तथा सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बिहीबार नागरिकसँग भने, 'अझै बढाउन सक्ने सिमा भए पनि बढाएनौं।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयअनुसार मंसिर २७ मा वायुसेवा कम्पनीलाई दुर्गम भेगबाहेक अधिकतम २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिइएको थियो। त्यसपछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर २९ मा वायुसेवालाई अधिकतम दर तोक्दै भाडा बढाउन पत्राचार गरेको थियो। लगत्तै भोलिपल्ट मंसिर ३० मा  वायुसेवाले भाडा वृद्धि गर्ने निर्णय गरेका हुन्।

बढेको भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान ५ सय ४० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान २ हजार १० रुपैयाँ बढी तिर्नुपर्ने छ। जसअनुसार सिमरा जान २ हजार ८ सय ४५ रुपैयाँ तथा धनगढी जान १२ हजार रुपैयाँ लाग्ने छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। सबै भाडा 'नर्मल' हुन्।

त्यसैगरी काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ हजार ४ सय ७५ रुपैयाँ, पोखरा ६ सय ९०, भैरहवा ९ सय ७०, विराटनगर १ हजार ४ सय ४५, भद्रपुर १ हजार ६ सय ७०, भरतपुर ५ सय ८०, नेपालगन्ज १ हजार ९ सय २५, जनकपुर ६ सय र तुम्लिङटारका लागि ९ सय ८५ रुपैयाँ बढी तिर्नुपर्ने छ। 

त्यसपछि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु १० हजार ८ सय रुपैयाँ, पोखरा जान ४ हजार ५ सय, भैरहवा ५ हजार ८ सय, विराटनगर ७ हजार, भद्रपुर ८ हजार ५ सय, भरतपुर ३ हजार ३ सय, नेपालगन्ज ९ हजार ३ सय, जनकपुर ३ हजार ८ सय र तुम्लिङटार जान ५ हजार ५ सय रुपैयाँ लाग्ने छ।

त्यसैगरी टुरिस्ट सेक्टरतर्फ न्यूनतम ५ सय २५ रुपैयाँदेखि अधिकतम १ हजार २ सय ४५ रुपैयाँसम्म वृद्धि गरिएको छ। जसअनुसार पोखराबाट जोमसोम जान २ हजार ७ सय ५० रुपैयाँ, काठमाडौंबाट मेघौली ३ हजार ७ सय ९५ र काठमाडौंबाट लुक्ला जान ४ हजार ७ सय १५ रुपैयाँ बढी तिर्नुपर्ने छ। ट्रंक र टुरिस्ट सेक्टरको अमेरिकी डलर भाडाको हकमा भने सन् २०१७ अक्टोबर १ बाट मात्र बढेको भाडा लागू हुने संघले जनाएको छ।

पुस ३ सम्म काठमाडौंबाट सिमरा जान २ हजार ३ सय ५, धनगढी जान ९ हजार ९ सय ९०, माउन्टेन फ्लाइट ८ हजार ३ सय २५, पोखरा ३ हजार ८ सय १०, भैरहवा ४ हजार ८ सय ३०, विराटनगर ५ हजार ५ सय ५५, भद्रपुर ६ हजार ८ सय ३०, भरतपुर २ हजार ७ सय २०, नेपालगन्ज ७ हजार ३ सय ७५, जनकपुर ३ हजार २ सय र तुम्लिङटार जान ४ हजार ५ सय १५ रुपैयाँमात्र लाग्छ। त्यस्तै काठमाडौंबाट लुक्ला जान ३ हजार ४ सय ७०, काठमाडौंबाट मेघौली २ हजार ७ सय ९५ र पोखराबाट जोमसोम जान २ हजार २ सय २५ रुपैयाँ तिरे पुग्छ।

मुद्रास्फीति, सञ्चालन लागत लगायत सबै कारण अध्ययन गरी सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेपछि उड्डयन प्राधिकरणले गरेको सिफारिसअनुसार पर्यटन मन्त्रालयले हवाई भाडा बढाउन अनुमति दिएको थियो।

सम्बद्ध अधिकारीका अनुसार यसअघि २०६६ सालमा हवाई भाडा निर्धारण गर्दा एक अमेरिकी डलरबराबर ७३ रुपैयाँको विनिमय दर थियो। अहिले १ डलरबराबर १ सय ८ रुपैयाँ छ। त्यसयता हालसम्म हवाई भाडा पुनरावलोकन भएको थिएन। वायुसेवा कम्पनीले सात वर्षदेखि हवाई भाडा पुनरावलोकन नभएकाले बजार भाउअनुसार बढाउन पाउनुपर्ने सरकारसँग आग्रह गर्दै आएका थिए।

त्यसपछि प्राधिकरणले उपमहानिर्देशक राजन पोखरेलको संयोजकत्वमा गत जेठमा सात सदस्यीय हवाई भाडा पुनरावलोकन समिति गठन गरेको थियो। उक्त समितिले करिब दुई महिना यसबारे अध्ययन गरी न्यूनतम १९ र अधिकतम ३९ प्रतिशतसम्म भाडा बढाउन मिल्ने सिफारिस प्राधिकरण सञ्चालक समितिमा पेस गरेको थियो।

सिफारिसपछि सञ्चालक समितिले थप अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। आचार्यको समितिले हालै २४ प्रतिशतसम्म हवाई भाडा वृद्धि गर्न उपयुक्त रहेको सुझाव दिएको थियो। यसैलाई मंसिर २७ गतेको पर्यटन मन्त्रीस्तरीय निर्णयले अनुमोदन गरेको थियो।

संघका अनुसार मूल्य वृद्धिअनुसार हवाई भाडा पुनरावलोकन हुन सकेको थिएन। वायुसेवा सञ्चालक र सरकारबीच प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सहमति भए पनि पछिल्लो सात वर्षदेखि विविध कारण पुनरावलोकन हुन सकेको थिएन।

प्रकाशित: १ पुस २०७३ ०४:४४ शुक्रबार

हवाई भाडा बढाउने निर्णय