अर्थ

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो

पोखरा- ऋण भुक्तानीका लागि संयुक्त खाता खोल्ने प्रक्रियामा ढिलाइ हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्न सकेको छैन। गत वैशाख १ गते विमानस्थल निर्माण शिलान्यास भए पनि संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकिएको हो।

आयोजना प्रमुख प्रदीप अधिकारीका अनुसार विमानस्थल बनाउनका लागि आवश्यक ऋण भुक्तानीको संयुक्त खाता खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले सबै प्रक्रिया पूरा गरेर खाता खोल्ने स्वीकृतिका लागि चिनियाँ लगानीकर्ता 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकमा पठाइएको छ। तर एक्जिम बैंकले बोर्डमा लैजान बाँकी रहेको जनाउँदै स्वीकृत गरेको छैन।

अन्तिम प्रक्रिया अनुसार दुई मुलुकका चारवटा पक्ष (नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण, एक्जिम बैंक र नेपालको कुनै 'क' वर्गको वाणिज्य बैंक) बीच सहमति भएर नेपालमै खाता खोल्ने उनले बताए। 'त्यही खाता खोल्ने काम मात्र बाँकी रहेको हो। त्यसमा केही अवरोध छैन,' अधिकारीले भने, 'एक्जिम बैंकबाट स्वीकृत हुनासाथ संयुक्त खाता खोलिन्छ।'

अधिकारीका अनुसार चारपक्षको सहमतिमा ऋण भुक्तानीको लागि खोलिने त्यो खातालाई 'स्क्रो खाता भनिन्छ। स्क्रो खाता दुई प्रकारको हुन्छ। एउटा स्क्रो रेभिन्यु र अर्काे स्क्रो डिपोजिट हुन्छ। विमानस्थल सञ्चालनमा आएपछिको आम्दानी स्क्रो रेभिन्युमा जम्मा हुन्छ र किस्ता तिर्ने बेला स्क्रो डिपोजिट खातामा संकलन हुन्छ। रेभिन्युमा जम्मा भएको रकमले किस्ता तिर्न अपुग भए प्राधिकरणले आन्तरिक स्रोतबाट रकम जुटाउने अधिकारीले बताए।

'त्यही स्क्रो खाता खोल्नका लागि अहिले ढिलाइ भएको हो। त्यसमा अरु आशंका गर्न जरुरी छैन,' उनले भने, 'नेपाल सरकारका तर्फबाट सबै प्रक्रिया पूरा भएर स्क्रो खाता खोल्नका लागि प्रक्रिया अघि बढाउन भन्दै एक्जिम बैंकलाई पत्राचार गरिएको छ। एक्जिम बैंकमा प्रक्रिया ढिलिएको हो।'

एक्जिम बैंकबाट स्वीकृत हुनासाथ काम अघि बढाउने उनले बताए। विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भएको थियो। प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सम्झौता यसअघि नै भएको अधिकारीले बताए। उनका अनुसार सुरुका ७ वर्षलाई 'ग्रेस पिरियड' मानिएको छ। त्यसैले प्राधिकरणले ७ वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ। वर्षमा दुई किस्ताका दरले २६ किस्ता (१३ वर्ष) मा ऋण चुक्ता गर्नेगरी सम्झौता भएको अधिकारीले बताए।

'सुरुका ७ वर्ष किस्ता तिर्नु नपरेपनि ऋण चुक्ता गर्न पूरै २० वर्ष कुर्नु पर्नेछ,' उनले भने, 'किस्ता तिर्दा सरकारले निर्धारित समयभन्दा ६० दिन अगावै तिर्नेछ। लगानीकर्तालाई अन्योल नहोस भन्नका लागि अगावै किस्ता तिर्ने सहमति भएको छ।'

श्रोतका अनुसार एक्जिम बैंकले पछिल्लो समय पोखरा सहित नेपालका सबै विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा गर्नुपर्ने माग गर्दै आएपनि सरकारले त्यसलाई अस्वीकार गरेको छ। पोखरा विमानस्थल बाहेक अन्य विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा गर्न नसक्ने भन्दै सरकारले एक्जिम बैंकलाई जवाफ पठाएको स्रोतको भनाइ छ।

'सबै विमानस्थलको आम्दानी स्क्रो खातामा जम्मा हुनुपर्छ भन्ने एक्जिम बैंकका माग थियो। तर, सरकारले त्यो सर्तलाई अस्वीकार गरेको छ। कुनैपनि हालतमा नेपालका सबै विमानस्थलको आम्दानी खातामा जम्मा गर्न सकिन्न,' स्रोतले भन्यो, 'सरकार नै जमानी बसेपछि ऋण तिर्दैन की भनेर आशंका गर्न जरुरी छैन।'

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दुई वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो। प्राधिकरण र सिएएमसिई बीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार 'फोरडी' मोडलमा विमानस्थल बनाउने उल्लेख छ।

इपिसी मोडलमा बन्ने भएकोले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ। फोरडी विमानस्थलबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्छन्। २५ सय मिटर लामो र ४५ मिटर चौडाईको धावनमार्ग हुने विमानस्थलमा एकपटकमा आधादर्जन भन्दा बढी ठुला जहाज पार्किङ गर्न मिल्नेछ। यो विमानस्थलमा १२ सय मिटर लामो ट्याक्सीवे हुनेछ। त्यस्तै १० हजार वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल र ५ हजार वर्ग मिटरको आन्तरिक टर्मिनल भवन बन्नेछ। जहाजका ढोकासम्म पुग्नका लागि चारवटा बोर्डिङ ब्रिज पनि बनाइनेछ।

इपिसी मोडलमा विमानस्थल निर्माण हुने भएपनि डिजाइनको रिभ्यु र स्वीकृतिका लागि प्राधिकरणले आवश्यक परामर्शदाता छनौटको काम आफै गरेको छ। परामर्श सेवाका लागि आवश्यक करिव ५० करोड रुपैयाँ प्राधिकरणले आन्तरिक स्रोतबाट व्यवस्था गरेको छ। पोखराको यो विमास्थललाई विशेष प्राथमिकतामा राखेर डिजाइन रिभ्यु गर्न थालेको आयोजना प्रमुख अधिकारीले बताए।

यसैबीच आयोजनाले सोमबार विज्ञप्ति निकालेर विमानस्थल निर्माणमा कुनै आशंका नगर्न सबैसँग अनुरोध गरको छ। सयंुक्त रुपमा ऋण भुक्तानीको लागि खोलिने स्क्रो खाताका लागि प्रक्रिया सुरु भएको र त्यो पुरा भएपछि कार्यान्वयन हुने आयोजनाको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ मंसिर २०७३ ०५:१६ मंगलबार

संयुक्त खाता खोल्न ढिलाइ हुँदा काम रोकियो