अर्थ

कित्ताकाट खुलाउन पहल

गत असारको तेस्रो सातादेखि रोकिएको  जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्। यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो। यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ।

आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई  पत्राचार गरेको थियो।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव संकलन कार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको बताए। भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए। कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भूउपयोग नीतिले औंल्याएको छ।

असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण ३० लाख रुपैयाँभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ। कित्ताको रजिष्टे«शन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशन कार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए।

नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत संकलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए। रासस

प्रकाशित: १२ चैत्र २०७९ ०४:५५ आइतबार

उत्तरगया गाउँपालिका कित्ताकाट खुलाउन पहल