अर्थ

ढुवानी रोक्ने भारतीयको चेतावनी

वीरगन्ज- भारतीय सहर रक्सौलका स्थानीय र भारतीय रेल्वेबीचको प्रदूषण विवादको चपेटामा नेपाली आयातकर्ता पर्ने देखिएको छ। रक्सौलका स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदूषण रोक्न यसअघि चरणबद्ध आन्दोलन गर्दै आएकोमा यसपालि ढुवानी नै रोक्न लागेका हुन्।

उनीहरुले घोषणा गरे अनुसार आइतबारदेखि रक्सौल रेल्वे स्टेसनको माल यार्डबाट ढुवानी रोकिए नेपाली उद्योगलाई समस्या पर्ने भन्दै उद्योगीले चिन्ता जनाएका छन्। रक्सौलका बासिन्दाले प्रदूषण नियन्त्रणका लागि आफ्ना सरोकारवाला निकायलाई दबाब दिन नेपालतर्फको ढुवानी आइतबारदेखि रोक्ने चेतावनी दिएका छन्। भारतीय रेल्वेको रक्सौल यार्डमा अनलोड भएर नेपाल भित्रिने क्लिंकरका कारण प्रदूषण बढेको भन्दै उनीहरूले आइतबारदेखि अनिश्चितकालका लागि ढुवानी रोक्ने बताएका हुन्। 'स्वच्छ रक्सौल' भन्ने अभियानको तर्फबाट जारी विरोधपत्रमा रक्सौल रेल यार्डबाट हुने नेपालको ढुवानी ठप्प पार्ने भनिएको छ।

रक्सौल रेल्वे स्टेसनको माल यार्डमा मुख्यतया नेपाली सिमेन्ट उद्योगले आयात गर्ने क्लिंकर, आइरन ओर (फलामको धुलो), जिप्सम, स्लेग, कोइला लगायतका डर्टी कार्गो लोड–अनलोड हुँदै आएको छ। लोड–अनलोड हुने बेला धुलो उत्पन्न हुने यस्ता वस्तु बोकेर आउने र्‍याकलाई 'डर्टी कार्गो'समेत भन्ने गरिएको छ। यिनै वस्तुबाट प्रदूषण भयो भन्दै रक्सौलका स्थानीयले विरोध सुरु गरेका हुन्। यस रेल नाका भएर 'डर्टी कार्गो' बाहेक खाद्यान्न, नुन, फलाम उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने विभिन्न खाले फलाम लगायत वस्तु नेपालको लागि आउने गरेको छ।

अहिले सुरु भएको विरोधका अगुवाइ गर्नेले 'रेल्वे र्‍याक प्वाइन्ट'बाट ढुवानी रोक्ने बताएका छन्। क्लिंकरको धुलोले उत्पन्न वायु प्रदूषणले स्थानीयको स्वास्थ्यमा समस्या पारेकोले ढुवानी रोक्न बाध्य भएको रक्सौलका नागरिक अगुवा अनिलकुमार सिन्हाको भनाइ छ। ढुवानी रोक्ने भारतीयको चेतावनीले नेपाली आयातकर्ता चिन्तित देखिएका छन्। ढुवानी रोकिएपछि स्थानीय उद्योग नराम्ररी प्रभावित हुने भन्दै समाधानका लागि भारतीय निकायसँग समन्वय गरिदिन वीरगन्ज उद्योग वाणिज्य संघमार्फत उद्योगीले वाणिज्य मन्त्रालय लगायत निकायलाई ध्यनाकर्षण गराएका छन्।

'नेपालतर्फको ढुवानी रोक्ने चेतावनीसहितको पत्र आएपछि हामी गम्भीर भएका छौं, सरकार पनि गम्भीर भइदियो भने समाधान निस्किन सक्छ,' संघका अध्यक्ष प्रदीपकुमार केडियाले भने, 'तुरुन्तै समाधान खोजिएन भने बारा–पर्साका सिमेन्टलगायत उद्योगको कच्चा पदार्थ आपूर्ति ठप्प हुने देखिएको छ।' समस्याबारे वाणिज्य मन्त्रालय, उद्योग विभाग, भन्सार विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, स्थानीय प्रशासन र भन्सार कार्यालयमा अवगत गराइएको केडियाले बताए।

त्यसैगरी वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावास र भारतीय रक्सौल कस्टमलाई समेत निकासका निम्ति पहल गर्न आफूहरुले आग्रह गरेको उनले जानकारी गराए। रक्सौलसम्म रेलमा ढुवानी गरेर ल्याई वीरगन्ज नाकाबाट बारा र पर्साका सिमेन्ट उद्योगले कच्चा पदार्थ भिœयाउने गरेका छन्। भारतीय रेल्वेको रक्सौल स्टेसनस्थित यार्डमा अनलोड गरी ट्रक र टि्रपरमा राखेर यता ल्याउने गरिएको छ।

प्रकाशित: २६ मंसिर २०७३ ०३:११ आइतबार

ढुवानी रोक्ने भारतीयको चेतावनी