अर्थ

सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड। फाइल तस्बिर: नागरिक

अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्। २० प्रतिशत अकुपेन्सीले होटल सञ्चालन खर्चसमेत धान्न नसक्ने व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार सञ्चालन खर्च धान्न कम्तीमा ४० प्रतिशत अकुपेन्सी हुनुपर्छ।

नेपाली नयाँ वर्ष पारेर होटल संघले चैत २९ देखि वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्ने ‘१८औं फेवा नववर्ष महोत्सव’ तयारीका क्रममा भएको छलफलमा व्यवसायीहरूले सिजनमा पनि पाहुना नहुँदा होटलको दैनिक खर्च जुटाउन पनि सकस भएको बताएका हुन्। ‘पर्यटन क्षेत्र साह्रै खस्क्यिो। होटलले मासिक विद्युत् महसुल समेत बुझाउन सक्ने अवस्था छैन। पर्यटन क्षेत्र निकै अप्ठेरो अवस्थामा छ,’ एक व्यवसायीले भने, ‘पर्यटन क्षेत्र उकासिन सकेन। कोरोनाकालमा भन्दा पनि अहिले अवस्था कमजोर छ।’

बैंक तथा वित्तीय संस्थाको कसिलो ब्याजदर, पाहुना आगमनमा कमजोर अवस्था, कोरोना संक्रमणदेखि सुरु भएको नोक्सानीको शृंखलाका कारण व्यवसाय धान्न पनि नसकिने अवस्था आएको ती व्यवसायीले बताए।

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा १५ देखि २० प्रतिशतमा खुम्चिएको बताए। पर्यटकीय सिजनमा नै अकुपेन्सी २० प्रतिशत मात्र हँुदा होटललाई सञ्चालन खर्च धान्न पनि मुस्किल परेको उनले बताए। ‘पर्यटन क्षेत्र साँच्चै समस्यामा छ। सरकारले तत्कालै उचित कदम नचाल्ने हो भने यस क्षेत्रको लगानी डुब्ने अवस्था नजिकिएको छ,’ सुवेदीले भने, ‘सीमित होटलले केही आकारमा पाहुना पाए पनि धेरैजसो समस्यामा छन्। यस्तै अवस्था अझै केही समय रहिरहने हो भने लेकसाइडका धेरै होटल बन्द हुनेछन् वा बिक्रीमा जानेछन्।’

सुवेदीका अनुसार अहिले खर्च धान्न नसकेर केही व्यवसायीले होटल बिक्री गर्ने योजना बनाएका छन। कतिपय होटल बैंक तथा वित्तीय संस्थाको लिलालीमा पर्ने त्रासमा छन्। ‘सबैतिरबाट अहिले पर्यटन क्षेत्र मारमा छ। विदेशी पर्यटक आगमन निकै कमजोर छ। आउजाउ सहज नहुँदा आन्तरिक पाहुना पनि घटेका छन्। आन्तरिक पाहुनाको क्रयशक्ति पनि कमजोर छ,’ उनले भने, ‘सबैभन्दा बढी तनाव त अहिले बैंक तथा वित्तीय संस्थाका कारण भएको छ। व्यवसायी बैंकको किस्ता तिर्ने कि दैनिक खर्च धान्ने भन्ने समस्यामा छन्।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरामा माघ १ गते भएको हवाई दुर्घटनाको असर निकै परेको बताउँछन्। ‘हवाई दुर्घटनापछि निकै नराम्रो सन्देश फैलिएको छ। स्थलमार्गको झन्झटिलो यात्राले पनि पाहुन घटेका छन्,’ पराजुली भन्छन्, ‘एकपटक निजी गाडी लिएर पोखरा आएको मान्छे दोहोर्‍याएर आउन खोज्दैन। किनकि सडक यात्रा कठिनपूर्ण छ।’

उनका अनुसार भारतीय पाहुनाको आगमन पनि उति सारो उकालो लागेको छैन। सीमित नेपाली पाहुनाबाट मात्र व्यवसाय धान्न कठिन हुने उनले बताए। ‘होटलको अकुपेन्सी ४० प्रतिशत उकालो लागेपछि बल्ल खर्च धानिन्छ। ५० प्रतिशत अकुपेन्सी कटेपछि नाफा आउने हो,’ पराजुलीले भने, ‘केही ठुला होटलमा राम्रै अकुपेन्सी छ। मध्यम र साना होटलको अकुपेन्सी अनुपात २० प्रतिशत हाराहारीमा छ। पर्यटनको मुख्य सिजनमा होटलको अकुपेन्सी ८० प्रतिशत हाराहारीमा हुनुपर्ने हो तर २० प्रतिशतमै रोकिएको छ।’

पराजुलीका अनुसार पर्यटन क्षेत्र चलायमान बन्न नसक्दा समस्या भएको हो। विश्वकै आर्थिक सूचकांक कमजोर हुँदै जाँदा नेपालको पर्यटन क्षेत्र पनि प्रभावित भएको उनले बताए।

प्रकाशित: १२ चैत्र २०७९ ०३:१६ आइतबार

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी