अर्थ

आर्मी सेमिफाइनलमा

इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वार्टरफाइनलमा रोलिङ क्लब धुलाबारी, झापालाई ४-१ ले पराजित गर्दै आर्मी सेमिफाइनल पुगेको हो।

आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पीजङ्ग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे। रोलिङका डेडी वाम्बाले सान्त्वना गोल फर्काए। खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेस्रो मिनेटमा अग्रता बनायो। डी बक्सनजिकबाट उनले गरेको प्रहारले सीधै जाली चुमेको थियो।

पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए। युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन्। पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्न सफल रह्यो।

६२औं मिनेटमा सुदिल राईले ३-० को स्थिति बनाए। दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए। ६४औं मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टीमार्फत खेल ३-१ मा झार्न सफल भए। डी बक्सभित्र विमल पाण्डेले ह्यान्ड गरेपछि पाएका अवसरलाई वाम्बाले खेर फालेनन्। इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४-१ गोलअन्तरको सेमिफाइनल प्रवेश गरेको हो।

रोलिङ गत संस्करणमा समेत आर्मीसँग पराजित भएको थियो। १२आंै संस्करणमा सेमिफाइनलमा भिडेका २ टोली यस पटक क्वार्टरफाइनलमै आमनेसामने भएका थिए। खेलको म्यान अफ दी म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित भए। उनले नगद दस हजारसहित ट्रफी हात पारे।

आर्मीले चैत ९ गते फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्द्वी चर्च व्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानले लिगमा लगातार खेलेका कारण अपेक्षाअनुरूप प्रदर्शन नभएको बताए। उनले खेलाडीहरूको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए। ‘खेलको सुरुवातमा स्कोर निस्किएपछि पनि पाएका धेरै अवसर सदुपयोग हुन सकेनन्,’ उनले भने।

रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए। ‘गोलरक्षकको गल्ती कारण गोलका अवसरहरू धेरै निस्किए,’ लिम्बुले भने। 

प्रकाशित: ८ चैत्र २०७९ ०४:१४ बुधबार

१३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आर्मीको जितमा दीपक गुरुङ