अर्थ

कैदीलाई ढाका बुन्ने तान

खोटाङ– जिल्ला कारागार शाखा खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ। कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिकरुपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने तान प्रदान गरिएको हो।

सामाजिक कानुनी सहायता केन्द्र दिक्तेलले कारागार अनुगमनका लागि आएको बजेट संकलन गरेर पुरुष कैदीबन्दीलाई तीन थान र महिला कैंदीबन्दीलाई दुई थान तान हस्तान्तरण गरेको हो ।

सोमबार कारागारभित्र आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश शान्तीप्रसाद अचार्यले कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने नयाँ तान हस्तान्तरण गरेका छन् । विभिन्न मुद्धामा जेल जीवन बिताउने क्रममा कारागार पुगेका कैदीबन्दीलाई सीपमूलक बनाउनकालागि सघाउ पु¥याउन ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको सामाजिक कानूनी सहायता केन्द्रका संयोजक चन्द्रबहादुर खड्काले बताए ।

कैदीबन्दीलाई प्रतिवटा तीन हजार पर्ने तान प्रदान गरिएको हो । कारागारभित्र अधिकांश कैदीबन्दीले
ढाकाको टोपी र गलबन्दी बुन्ने पेशा अपनाउँदै आएका छन्।

‘जेलमा बसेर समय बरबाद मात्र गरेर हुँदैन, निस्कँदा सीपयुक्त बनेर निस्कोस् भन्नकालागि तान प्रदान गरिएको हो,’ खड्काले भने, ‘उनीहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’ केही वर्षअघि घरेलु तथा साना उद्योग बिकास समितिले तालिम दिएपछि कैदीबन्दीले ढाकाका कपडा तयार पार्दैआएका छन्।

जेलमा पुगेका कैदीबन्दीले अरुबाट तान बुन्न सिक्ने गरेका छन् । कारागारका अनुुसार हाल ४० जना कैदीले ढाकाका कपडा बुन्दै आएका छन् ।

प्रकाशित: २० मंसिर २०७३ १३:१८ सोमबार

कैदीलाई ढाका बुन्ने तान