अर्थ

दिगो विकासको लागि पूर्वाधार : स्याक्स

जेफ्री स्याक्स पत्नी सहित चन्द्रागिरी डाँडामा

काठमाडौं– नेपालले दिगो विकास लक्ष्य हासिल गर्न यातायात, सञ्चारजस्ता सम्पर्क साधनको  विकास, शिक्षा, सुशासन तथा पूर्वाधारमा ध्यान दिनुपर्ने विश्व प्रसिद्ध अर्थशास्त्री जेफ्री स्याक्सले बताएका छन्।

जलविद्युत विकासले नेपालको पेट्रोलियम पदार्थमाथिको परनिर्भरतामात्र घटाउने नभई स्वच्छ ऊर्जाको विकास हुने पनि उनको दाबी छ।

मेरिकी अर्थशास्त्री एवं कोलम्बिया विश्वविध्यालयका प्राध्यापक स्याक्सले आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगद्वारा आयोाजित सस्टेनेबल डिभलपमेन्ट इन अन्सर्टेन वल्र्ड कार्यक्रममा बोल्दै नेपालले आगामी १५ वर्षमा १० गिगावाट बिजुली उत्पादन गरेर आफ्नो र  दक्षिण एसियाकै ऊर्जा माग पूरा गर्नुपर्ने बताए ।

जलविद्युत विकासले नेपालको पेट्रोलियम पदार्थमाथिको परनिर्भरतामात्र घटाउने नभई स्वच्छ ऊर्जाको विकास हुने पनि उनको दाबी छ।

उनले नेपालले विशेषतः भारत तथा चीन र समग्रमा दक्षिण एसियासँग गहन सम्बन्ध विकास गर्नुपर्ने पनि बताएका छन् । नेपालले आफ्ना दुई छिमेकीसँग राम्रो सम्बन्ध विकास गरेर अघि बढ्दा फाइदा हुने उनको सुझाव थियो ।

उनले नेपालले भ्रष्टाचार न्यूनीकरण गर्न बैंकिङ प्रणालीमार्फत कारोबार बढाउनुपर्ने र इ–गभर्नेन्समा ध्यान दिनुपर्ने उपाय पनि सुझाएका छन् ।

आइतबार विहान उनी राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेका साथ चन्द्रागिरी बेकलकार उवलोकन गर्न पनि पुगेका थिए । आर्थिक विकास र गरिबी विरुद्धको लडाइँका ज्ञाता जेफ्री परिवारसहित चन्द्रागिरि हिल्स पुगेका उनले त्यहाँ निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफू अत्यन्तै प्रभावित भएको पनि बताए ।

हार्वर्ड विश्वविद्यालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका स्याक्सले संयुक्त राष्ट्रसंघ ‘सहस्राब्दी विकास लक्ष्य’का विशेष सल्लाहकारका रुपमा समेत काम गरेका थिए । स्याक्सले संयुक्त राष्ट्र संघका पूर्वमहासचिवद्वय कोफी अन्नान र बान कि मुनको कार्यकालमा ‘सहस्राब्दी विकास लक्ष्य’का विशेष सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित: २० मंसिर २०७३ ०७:५७ सोमबार

दिगो विकासको लागि पूर्वाधार स्याक्स