अर्थ

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।

उद्योग विभागका अनुसार चालु आवको आठ महिनाको अवधिमा १५९ नयाँ उद्योगमा २० अर्ब ५६ करोड र सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रमा गरेर कुल ३१ अर्ब २१ करोड रूपैयाँ भित्रिने प्रतिवद्धता गरेका हुन्।

उद्योग विभागले हालसालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनाको अवधिमा १५९ उद्योगमा २० अर्ब ५६ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। सोही अवधिमा र सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) मा भने ४३ वटाका लागि भन्दै १० अर्ब ६५ करोड रूपैयाँको लगानीको प्रतिवद्धता आएको छ।

दर्ता भएका उद्योगले ९ हजार ४ सय ७८ जनालाई रोजगारी सिर्जना गर्ने दाबी गरिएको छ। विभागका अनुसार सुरुदेखि हालसम्म नेपालमा ४ खर्ब ३९ अर्ब ८२ करोड रूपैयाँका वैदेशिक लगानीको प्रतिवद्धता आएको छ।

हालसम्म ३ लाख १ हजार ५ सय ९८ जनालाई रोजगारी दिने प्रतिवद्धता व्यक्त गरिएको छ। चालु आवको ८ महिनामा १५९ वटा उद्योगमध्ये साना उद्योगका लागि १३४ वटा, मध्यम खालका उद्योगका लागि २२ र तीन वटा ठूला उद्योगका लागि वैदेशिक लगानीको प्रतिवद्धता आएको हो।

विभागका अनुसार फागुन महिनामा मात्रै तीन अर्ब ४४ करोड रूपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। सोमध्ये १५ नयाँ उद्योगका लागि १ अर्ब ९२ करोड र एसपीए र एसएसएका लागि भने १ अर्ब ५२ करोड रूपैयाँको प्रतिवद्धता आएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भने ५४ अर्ब रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिवद्धता आएको थियो।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ लगानी प्रतिवद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रूपैयाँ लगानी प्रतिवद्धता आएकोमा गत आव २०७८/७९मा बढेर ५४ अर्ब १५ करोड रूपैयाँ प्रतिवद्धता आएको विभागले जनाएको छ।

गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्। विदेशीले सानादेखि ठूला उद्योगसम्ममा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन्।

पछिल्ला वर्ष अन्य देशको तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको छ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गरी कार्यान्वयनमा आएपछि लगानीकर्ताको आकर्षण बढेको छ। कोभिडको कारण अघिल्ला वर्ष विदेशी लगानी प्रतिवद्धतामा गिरावट आएको थियो। पूर्वाधारसहित विद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको छ। लगानी बोर्ड र उद्योग विभागबाट अनुमति लिए पनि विदेशी लगानी राष्ट्र बैंकमार्फत आउँछ।

नेपालले २०३८ सालमा विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन २०३८ ल्याएर कानुनी रूपमा एफडिआई ल्याउन सुरु गरेको थियो। लगानी बोर्ड मार्फत पनि लगानी स्वीकृत हुने गरेको छ। पछिल्लो समय नेपालले विदेशी लगानी आकर्षित गरेर लगानीको वातावरण बनाउन उद्योग क्षेत्रमा कानुनी, संरचनागत र प्रक्रियागत सुधार गर्दै आएको छ।

देशभित्र रहेको पुँजी परिचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र सर्वसाधारणसँग रहेको स–साना बचतलाई समेत पुँजी निर्माणमा उपयोग गरी आर्थिक विकासमा परिचालन गर्न तत्पर रहेको सरकारी अधिकारीको दाबी छ।

प्रकाशित: ६ चैत्र २०७९ ०३:५५ सोमबार

विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन २०३८ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता