अर्थ

पुनर्निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

काठमाडाैं– भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। परिवर्तनका लागि युवा अभियान नेपालले बुधवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पुनर्निर्माण सुस्त गतिमा भइरहेको भन्दै यसलाई तत्काल चुस्त नबनाए देशको समृद्धी यात्रा अझ पछि धकेलिने धारणा राखेका थिए।

विकास समितिका सभापति रविन्द्र अधिकारीले गाउँगाउँमा पैसा बाँडेर मात्र पुनर्निर्माण गर्न नसकिने भन्दै जनतालाई आश्यक निर्माण सामाग्रीमा समेत कालोबजारी भएकोले ती क्षेत्रहरुमा ‘मेटिरियल बैंक’ को व्यवस्था गरी निर्माण सामाग्रीलाई सहज बनाउनुपर्ने बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पुनर्निर्माणमा केही कमिकमजोरी रहे पनि यो राष्ट्रिय दायित्व भएकाले प्राधिकरणलाई सबैको सहयोग आवश्यक रहेको औंल्याएका थिए।

कार्यक्रमा बोल्दै पुरातत्व विभागकी अधिकृत यमुना महर्जनले पुरातात्व विभाग पुरातात्विक सम्पदाको पुनःनिर्माणमा गम्भिर रहेको बताइन्।

नेवि संघका केन्द्रीय सदस्य लक्ष्मण पन्थीले देशको समृद्धी र पुनर्निर्माणका लागि सर्वप्रथम नेतृत्वको मानसिकताको नवनिर्माण गर्नु आवश्यक रहेको धारणा राखे।

कार्यपत्र प्रस्तुत गर्दै ग्लोबल फेयरनेश इनिसिएटिभ नेपालका राष्ट्रिय निर्देशक होमराज आचार्यले विभिन्न देशमा भएको पुनर्निर्माणको तथ्यांक पेश गर्दै नेपालमा पनि सांस्कृतिक, आर्थिक र सामाजिक पक्षमा ध्यान दिँदै पुनर्निर्माण हुनुपर्नेमा जोड दिएको अभियानका सचिव चिरञ्जीवी न्यौपानेले जानकारी दिए।

 


    

प्रकाशित: १६ मंसिर २०७३ १२:०५ बिहीबार

पुनर्निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता