अर्थ

विद्युत् चुहावट ७.९९ प्रतिशत

चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ। नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत् प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत विन्दुले घटाइएको छ। गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.६५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो।

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ। गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो।

प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।

चालु आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको छ। ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ। प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए। ‘ग्राहकका घरमा रािखएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङ लगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्ने लगायतलाई देशैभरी अभियानकै रूपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन्, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालमा आएका छन्, सबस्टेसनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ।’

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ।

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ। लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ। प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन्।

मधेश प्रदेशको चुहावट ११.७८ प्रतिशतमा झर्‍यो

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावटरहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झारेको छ। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट रहेको छ।

गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४१.८६ प्रतिशत थियो। रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ३८.६४ प्रतिशत रहेको थियो। गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो। बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३८.३९ प्रतिशत छ। गत वर्ष त्यस केन्द्रको चुहावट ३९.३४ प्रतिशत थियो। रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत रहेको छ।

कोसी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ८.१७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो। प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रंगेली वितरण केन्द्रको छ। यस केन्द्रको विद्युत् चुहावट १९.९५ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो। बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको ४.६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत रहेको छ।  

प्रकाशित: २ चैत्र २०७९ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App