अर्थ

‘सहकारी अभियानलाई संकटबाट जोगाऔं’

‘पछिल्लो समय देखिएका केही समस्याका कारण सहकारी अभियान तहसनहस हुने आभास भइरहेको छ,’जिल्ला सहकारी संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा संघकी उपाध्यक्ष मीना सिग्देलले भनिन्। सहकारी संघले आर्थिक मन्दीका कारण पछिल्लो समय केही सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको, ऋण फिर्ता नगर्ने, सहकारीका सञ्चालक र व्यवस्थापकलाई कालोमोसो दल्ने भनेर केही समूहले दिइरहेको धम्कीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागी सहकारीकर्मी र सरोकारवालाहरूले पछिल्लो समय सहकारीमा अनेक समस्या देखिएका र तिनको समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए।  

अधिकांश वक्ताले केही सहकारीका कारण समग्र सहकारी अभियान नै बदनाम हुने अवस्था आएको बताए। उनीहरूले स्वनियमनमा चल्नुपर्ने सहकारीमा विकृति बढ्दै गएको पनि बताए। सहकारी अभियानलाई अहिलेको संकटबाट पार लगाउन सबैले प्रयास गर्नुपर्छ भन्नेमा सहभागीहरू एकमत देखिएका थिए। कार्यक्रममा सहभागीहरूले पछिल्लो समय सहकारीहरू समस्यामा पर्नुका कारण र समाधानबारे धारणा राखेका थिए। उनीहरूले आर्थिक मन्दीको प्रभाव, कर्जा तिर्नुपर्छ भन्ने भावनाको कमी, सहकारी संस्थाको पहिचान नगरी सदस्य बन्ने प्रवृत्ति, सहकारीले उद्देश्यअनुसारका व्यावसायिक कारोबार सञ्चालन नगरेको लगायतका कारण सहकारी अभियान समस्यामा परेको बताए। यसैगरी, सहकारीले घुमाउरो बाटोबाट सदस्यलाई रकम बाँड्ने प्रवृत्ति, संस्थामा रहेका कोषहरू उद्देश्यअनुरूप प्रयोग नगरिनु, अधिकांश संस्थामा सदस्य शिक्षा तथा तालिमको व्यवस्था अत्यन्त कमजोर र प्रभावहीन हुनुजस्ता कारण पनि सहकारी समस्यामा परेका उनीहरूको भनाइ थियो।  

सहभागीहरूले सहकारी शिक्षा र तालिमको उचित व्यवस्था गर्नुपर्ने, दीर्घकालीन पुँजीको खोजी गर्नुपर्ने, ब्याजको मापदण्ड निर्धारण गर्नुपर्नेमा जोड दिए।  

यसैगरी सहभागीहरूले सहकारीहरू एकीकरणको मोडेलमा अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। उनीहरूले स्थानीय तहका सहकारी शाखाहरू क्रियाशील बन्नुपर्ने र नियमनको कामलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए। नेपालगन्ज, खजुरा र जानकी गाउँपालिकाका सहकारी शाखा प्रमुखहरूले बजेट अभाव, सहकारीहरूको निष्क्रियता र अधिकांश सहकारीले ऐनको पालना नगर्नु मुख्य समस्या रहेकोमा जोड दिएका थिए।  

जिल्ला सहकारी संघ एवम् सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुवेदीले कार्यक्रममा बाँकेमा सहकारीको समग्र अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए। उनले जिल्लामा रहेका चार सय नौ सहकारीमध्ये तीन सय ८९ सहकारी संघमा आबद्ध रहेको जानकारी दिए। तीमध्ये एक सय ६९ कृषि, ८० बहुउद्देश्यीय, ७७ बचत तथा ऋण र ५७ वटा अन्य सहकारीहरू रहेको जानकारी दिए। जिल्लाका सहकारीहरूमा अहिले तीन अर्बभन्दा बढी निक्षेप रहेको जानकारी उनले दिए।  

सहकारीहरूले एक हजार नौ सय ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएका र बीउबिजन, राइस मिल, बाख्रा पालन, अचार उत्पादन, अस्पताल, सामूहिक बजारजस्ता उदाहरणीय कामहरू पनि सहकारीमार्फत भएका उनले बताए। केही सहकारीहरूका कारण र अन्य बाह्य कारण सहकारीप्रति नकारात्मक धारणाको विकास हुँदै गएको उनले बताए। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीलगायतको पनि सहभागिता रहेको थियो।

प्रकाशित: ३० फाल्गुन २०७९ ०४:०८ मंगलबार