अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बढ्दैछन् उडान र यात्रु संख्या

आइतबार मात्र एकतर्फी २६ उडान

२७ सय बढी यात्रु ओहोरदोहोर

पोखरामा रात्रिकालीन उडानमार्फत आएका यात्रु जहाजबाट ओर्लिदै। तस्बिरः नागरिक

मुलुकलाई नै स्तब्ध बनाउनेगरि गत माघ १ गते पोखरामा भएको हवाईजहाज दुर्घटनापछि पोखराका लागि हुने हवाई यात्रामा एकाएक यात्रु घटे। यात्रु मात्र कम भएनन् की हवाई उडान संख्या पनि निकै नै थोरै भए। कतिपय उडान त यात्रुविहीन हुँदा रित्तै जस्तै उडे। हवाई उडान गर्नै हुँदैन भन्ने सन्देश एकाएक फैलिँदा सुरुका केही समय पोखराका लागि हुने हवाई उडानमा यात्रुको आकार निकै नै कम भएको थियो।  

दुर्घटनाको अघिल्लो दिनसम्म दिनमा करिब दुईदर्जन उडान भरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनापछि एकाएक सुस्ताउन पुग्यो। दिनको दुइदर्जन हाराहारीको उडान भईरहेकोमा दुर्घटनापछि एकाएक ८–१० वटा उडानमा खुम्चियो। यतिसम्मकी दिनमा १५ वटासम्म उडान भरिरहेको बुद्ध एयरका उडान संख्या पाँचवटासम्म खुम्चियो। दिनमा आधादर्जन हाराहारीमा उडान गरिरहेको यतीका उडान आकार त निकै नै खस्कियो। उडान संख्या घटेसँगै यात्रुको आकार पनि बढिमा ५ सय जतिमा झरेको थियो।

तर, पछिल्लो समय पोखराको हवाई उडानले दिनहुँ आकार बढाईरहेको छ । पोखराको हवाई यातायात लयमा फर्किन थालेको उडान तथ्यांकले पनि देखाउँछ। विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पछिल्लो समय पोखराको हवाई उडानले दुर्घटना अघिकै जत्तिकै आकार पाईसकेको छ। आइतबार मात्र पोखराका लागि विभिन्न हवाई कम्पनिका २६ वटा उडान भएका थिए। ती मध्ये बुद्धका १७ र यतीका ६ वटा उडान थिए। बाँकी सौर्यको दुइ र श्री एयरलाइन्सको एक उडान भएको थियो। उनका अनुसार यो उडान संख्या हवाई दुर्घटनापछिको सबैभन्दा बढी रहेको उनले बताईन।  

‘पोखराको हवाई उडानले दुर्घटनाअघिकै आकार लिँदै गएको छ। उडान संख्या मात्र नबढी यात्रु पनि हरेक दिनजसो थपिएका छन्। यात्रुसंख्या बढेसँगै हवाई उडानले पनि आकार लिने हो,’ उनले भनिन, ‘पोखराको आन्तरिक हवाईले अहिले गति लिन थालेको छ।’ उनका अनुसार आइतबारको हवाई यात्रु संख्या पनि दुर्घटनापछिको सबैभन्दा ठुलो आकारको थियो। आइबार पोखराबाट बाहिरिने यात्रुको संख्या १५ सय ३४ र पोखरा ओर्लिनेको संख्या १२ सय १० थियो। एकैदिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेको उनले बताईन।

‘दुर्घटनालगत्तै त निकै नै सुस्ताएको थियो। हवाईजहाज चढ्नै हुँदैन भन्ने मनोवैज्ञानिक असर यात्रुमा  परेको थियो। त्यसले गर्दा पनि एकाएक यात्रु र उडान संख्या घटेका थिए,’ सुवेदीले भनिन, ‘तर, अब भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले लय लिइसकेको छ। यात्रु संख्या पनि दिनहुँ बढिरहेका छन्।’ उनका अनुसार अघिल्लो सातासम्म पोखराको दिनको उडान संख्या दिनमा २०–२२ वटाको हाराहारीमा रहेकोमा आइतबारदेखि त्यो आकार झनै बढेको उनले बताईन।  

‘रात्रिकालीन उडान थपिनु, नयाँ गन्तव्यसम्म हवाई उडान सुरु हुनु, राती अबेरसम्म विमानस्थल संचालन भएकोले पनि यात्रुको आउजाउ बढाउन र उडान संख्या थप्न सघाउ पुगेको छ,’ उनले भनिन, ‘पर्यटकीय सिजन सुरु भएकोले पनि विदेशीको आगमन बढ्दा हवाई उडान र यात्रु संख्या बढेको देखाउँछ।’  

पछिल्लो सातादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान पनि हुन थालेका छन्। काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट रात्रिकालीन उडान भरेर जहाज पोखरा आउँछन्। पोखराका लागि रात्रिकालीन उडान भरेका बुद्धका एयरका चारवटा जहाजको रात्रि बिसान पोखारमै हुने र भोलिपल्ट बिहानै पोखराबाट विभिन्न गन्तव्यमा ती जहाजको उडान हुने भएकोले पनि यात्रुको आकार बढेको विमानस्थलकी प्रवक्ता सुवेदीले बताईन।  

‘पहिलो दिउँसो चारबजेपछि पोखरामा उडान हुँदैन भन्ने सन्देश फैलिएको थियो। अब त्यो चिर्न जरुरी छ। अब बेलुकी अबेरसम्म पनि पोखराका लागि हवाई उडान हुन्छ भन्ने सन्देश दिनुपर्नेछ,’ उनले भनिन, ‘कुनै अवरोध नआउने हो भने आगामि दिनमा पोखराका हवाई यात्रु र उडान संख्या अझै थपिन्छन्।’ 

कोरोना भाइरस संक्रमणका बेला सुस्ताएको पोखराको हवाई यातायात केही महिनाअघिसम्म निकै नै उकासिएको थियो। यतिसम्मकै पोखराको पुरानो विमानस्थल संचालनमा रहँदाको अवस्थामा पनि पोखरामा दिनमा ३८ सय बढी यात्रुको ओहोरदोहोर भएको थियो। तर, दुर्घटनापछि उडान संख्या र यात्रु घटेका थिए।

हवाई कम्पनिका पदाधिकारी पनि दुर्घटनापछि सुस्ताएको पोखराको हवाई यातायात र यात्रुसंख्या अहिले दिनहुँ बढिरहेको बताउँछन्। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल रात्रिकालीन उडान हुनु, राती अबेरसम्म विमानस्थल खुल्नु, विभिन्न गन्तव्यबाट पोखराका लागि रात्रिकालीन उडान हुनु, पर्यटकीय सिजन सुरु हुनु लगायतका कारणले अहिले उडान र यात्रुसंख्या थपिएका छन्।

‘हवाई यात्रुको आकार पनि निकै नै बढेको छ। काठमाडौं, भैरहवा, भरतपुर र नेपालगञ्जका यात्रुको आकार राम्रो छ। भद्रपुरको हालैमात्र सुरु भएको उडानमा यात्रु केही कमी भएपनि त्यसले पनि गति लिँदैछ,’ बरालले भने, ‘सुरुवाती चरण भएकोले भद्रपुरका लागि यात्रु  कम भएपनि यसको गति पनि बढिरहेको छ।’

बरालका अनुसार अहिले काठमाडौं–पोखरा रुटको हवाई उडानको यात्रु अकुपेन्सी अनुपात करिब ८० प्रतिशत पुुगिसकेको छ। यो आकार अघिल्लो महिनासम्म निकै नै कम थियो। काठमाडौं–पोखरा रुटका यात्रु मध्ये विदेशी र स्वदेशीको आकार करिब आधाआधा रहेको उनले बताए। ‘विदेशी यात्रु पनि बढेका छन्। विदेशीको सिजन भएकोले पनि हो,’ उनले भने, ‘त्यसबाहेक दुर्घटनापछिको त्रास अब कम हुँदै गएको पनि छ। घुमघामका लागि आउने आन्तरिक यात्रु पनि थपिएका छन्।’ उनले भैरहवा, नेपालगञ्ज र भरतपुरसम्मको उडानका यात्रु पनि पछिल्लो समय बढिरहेको बताए। ‘पोखरामा भएको हवाई दुर्घटना अघिकै आकार करिब आइसकेको छ। हवाई उडान लयमा फर्किन थालेको संकेत हो,’ उनले भने।

प्रकाशित: २९ फाल्गुन २०७९ ०८:४८ सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडान हवाई यात्रु