अर्थ

शुक्लाफाँटामा बाघ गन्ने काम सुरु

भीमदत्तनगर– कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रुपमा बाघ गणना सुरु गरेका हुन् ।

शुक्लाफाँटा आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले विगत वर्ष झँै यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको बताए। गणना कार्यको एक कार्यक्रमबीच राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले उद्घाटन गरे। उनले गणकलाई इमान्दारिताका साथ गणनामा खटिन निर्देशनसमेत दिए।

सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी लक्ष्य सुनाउँदै उपमहानिर्देशक डा ढकालले शुक्लाफाँटा बाघ गणनामा अग्रस्थानमा रहेको भए पनि खुल्ला सीमा चुनौतीका रुपमा रहेको बताए। पन्ध्र दिनसम्म चल्ने गणना कार्यक्रममा आरक्ष कार्यालय, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गण, राष्ट्रिय प्रकृति संरक्षण कोस, मध्यवर्ती उपभोक्ता समिति पदाधिकारी र स्थानीय विद्यार्थी गरी ४० जना गणना टोलीमा संलग्न छन् ।

गणनाका लागि ८६ जोडी स्वचालित क्यामेरा प्रयोग गरिनेछन् । तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको यस आरक्षमा यसअघिको गणनाअनुसार १७ वटा बाघ रहेका छन् । “हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर गणना गर्ने योजना बनाएका छौँ,” शुक्लाफाँटा आरक्षका प्रमुख संरक्षण अधिकृत ढकालले भने,  “प्रविधिज्ञहरुलाई पनि गणनाबारे आवश्यक तालिम दिइएको छ ।”

गणनामा आवश्यकताअनुसार हात्तीको समेत प्रयोग गरिने आरक्ष कार्यालयले जनाएको छ । बाघ र यसको आहारजन्य प्रजातिको बासस्थान विस्तार, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा चोरीसिकारी नियन्त्रणमा आरक्ष प्रशासन लागिपरेको छ। रासस

प्रकाशित: ६ मंसिर २०७३ ११:२८ सोमबार

शुक्लाफाँटामा बाघ गन्ने काम सुरु