अर्थ

‘वैध रकम साट्न पहल गर’

काठमाडौं– निजी क्षेत्रका दुई ठूला संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपालमा रहेका ५ सय र हजार दरका भारतीय रुपैयाँ (भारु) तत्काल साट्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार विज्ञप्ति जारी गर्दै भारु सटहीको व्यवस्था गर्न सरकारसँग माग गरेको थियो । परिसंघले मंगलबार विज्ञप्तिमार्फत मुलुकको बैंकिङ प्रणालीमा रहेको ३ करोड ३२ लाख र कानुनसम्मत आर्थिक क्रियाकलाप गर्ने व्यापारी, उद्योगी र सर्वसाधारणसँग रहेको भारु सटहीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

भारतले एक साताअघि (कात्तिक २३) राति १२ बजेदेखि लागू हुने गरी ५ सय र हजार दरका भारु चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । भारतले आफ्ना नागरिकसँग भएका प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाए पनि अन्य मुलुकका नागरिकसँग रहेको ती नोटबारे केही व्यवस्था नगरेपछि समस्या आएको हो ।

नेपाल राष्ट्र बैंकले भारु सटहीको लागि पहल गरे पनि समस्या समाधान नभएपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारु साट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । टेलिफोन वार्तामा मोदीले दुवै देशका अर्थमन्त्रीबीच समन्वय गरी समस्या समाधान गर्ने बताएका थिए ।

यसअघि पनि राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भारतीय अर्थमन्त्री अरुण जेट्लीबीच यसबारे छलफल भएको थियो । त्यस्तै भारतले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि  राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) समक्ष पत्राचार गरेकामा आरबिआईले सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको थियोे ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिँदै नेपालसँग रहेको भारुको सटही सुविधा दिने÷नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । उसले नेपालको चासो आफ्नो अर्थ मन्त्रालयसमक्ष पु¥याएको र आफूले केही गर्न नसक्ने जानकारी दिएको छ ।

नेपालको तराई क्षेत्र र पश्चिम नेपालको पहाडी क्षेत्रमा भारु कारोबार उच्च हुने गर्छ । पश्चिम पहाडी क्षेत्रका सर्वसाधारणको रोजगारीको मुख्य थलो भारत हो । भारतबाट काम गरेर फर्कने सर्वसाधारणले सजिलोका लागि ५ सय र हजार दरकै भारु नोट ल्याउँछन् । करिब एक वर्ष अगाडिदेखि एक व्यक्तिले २५ हजार रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट ल्याउन–लैजान पाउने सुविधा पाएपछि यसको प्रचलन झनै व्यापक छ । त्यस्तै भारतबाट आउने पर्यटकले पनि सधैं ठूला दरका नोट ल्याउने गरेको व्यवसायी बताउँछन् ।

परिसंघका अनुसार मुलुकको कुल वैदेशिक व्यापारको करिब ६७ प्रतिशत भारतमा केन्द्रित छ भने आयातित उपभोग्य सामग्रीको करिब ८० प्रतिशत भारतबाट पैठारी हुने गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको ग्रामीण भेगबाट वैदेशिक रोजगारीमा जाने करिब ७० प्रतिशत नेपाली श्रमशक्ति भारत जाने गरेका छन् । काँकडभित्ता, विराटनगर, राजविराज, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरजस्ता सीमावर्ती सहरमा नेपालीले दैनिक आर्थिक क्रियाकलापमा भारु प्रयोग गर्ने चलन छ ।

भारतले ५ सय र हजार नोट कारोबारमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारु नोट सटहीमा बन्देज लगाएको छ । राष्ट्र बैंक, विदेशी विनिमय व्यवथापन विभागले गत बुधबार (कात्तिक २४) आफ्ना बैंकिङ तथा सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, मनि चेन्जर तथा अन्य निकायलाई परिपत्र जारी गर्दै ५ सय र हजार दरका भारु नोट सटही नगर्न भनेको थियो ।

राष्ट्र बैंकले पनि नेपालमा २५ हजार भारुसम्म ५ सय र हजार दरका नोट सटही गर्न पाउने व्यवस्थाको फाइदा उठाउँदै भारतमा लैजान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले ठूला दरका नोट जोहो गरेर राखेको अनुमान गरेको छ ।

प्रकाशित: १ मंसिर २०७३ १०:१८ बुधबार

वैध रकम साट्न पहल