अर्थ

पोखरालाई हब बनाउँदै चारवटा सहरबाट रात्रि उडान

पोखरा–भद्रपुर उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार बेलुकी अवतरण गरेको बुद्ध एयरको जहाज। तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘हब’ बनाउँदै विभिन्न चारवटा आन्तरिक विमानस्थलबाट पोखरासम्म रात्रिकालीन हवाई उडान सुरु भएको छ। निजी क्षेत्रको हवाई सेवा कम्पनि बुद्ध एयरले विहीबार बेलुकीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि रात्रिकालीन उडान सुरु गरेको हो।  

बुद्ध एयरका अनुसार काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट विहीबार बेलुकी जहाज पोखरा आएका थिए। पोखरा आएका ती चारैवटा जहाजको पोखरामै रात्रि बिसान भएको बुद्ध एयरले बताएको छ। पोखरामा रात्रि बिसान गरेका जहाजले शुक्रबार बिहानैदेखि विभिन्न सहरसम्मका लागि पोखराबाट आन्तरिक उडान भरेका थिए।  

पोखरामा बास बसेका ती जहाजले शुक्रबार बिहानै काठमाडौं, भैरहवा, भद्रपुर र नेपालगञ्ज उडान भरेका थिए। बेलुकीको समयमा पोखरा आई केहीदिनको बसाई र घुमफिर पछि भोलिपल्ट एकाबिहानै गन्तव्यमा फर्किन सकिने गरि बुद्धले उडान तालिका बनाएको बुद्धका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताएका छन्। पोखरा क्षेत्र घुमफिरपछि बिहानै गन्तव्यमा फर्किन पाउँदा आन्तरिक र बाह्य सबैखाले पर्यटकलाई सहज हुने उनले बताए।  

यसअघि पोखराबाट दिउँसो चारबजेसम्म मात्र उडान हुने गरेकोमा अब पोखराबाट बेलुकीको समयमा काठमाडौंका लागि पनि उडान राखिएको बुद्ध एयरले बताएको छ। अबदेखि हरेक दिन बेलुकी साढे पाँचबजे पोखराबाट काठमाडौंका लागि पनि उडान हुनेछ। त्यस्तै चारबजेपछि काठमाडौं–पोखरा रुटमा बेलुकीसम्म तीनवटा उडान राखिएको छ।

काठमाडौं–पोखरा बेलुकी ७ः३५ बजे अन्तिम उडान हुनेछ। त्यस्तै भद्रपुर–पोखरा बेलुकी ६ः५५, नेपालगञ्ज–पोखरा बेलुकी साढे ७ र भैरहवा–पोखरा बेलुकी ७ः२५ बजे उडान हुने बुद्धले बताएको। बुद्ध एयरसँग अहिले एटिआर–७२ जहाज ११ र एटिआर–४२ जहान ३ गरि १४ वटा जहाज छन्। बुद्धले अहिलेसम्म पोखराबाट नियमित रुपमा काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्जसम्म सिधा उडान गर्दै आएको थियो।  

पोखरा–भद्रपुर उडान सुरु

पोखरालाई पूर्वी गन्तव्यसम्म जोडनेगरि शुक्रबारदेखि पोखरा–भद्रपुर उडान सुरु भएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले शुक्रबार बिहान सवा ६ बजे पोखराबाट भद्रपुरका लागि जहाजले उडान भरेको जानकारी दिए। एटिआर–७२ उक्त जहाजले बिहान जाँदा ४८ जना यात्रु लिएर गएको थियो। जहाज बेलुकी ६ः ५५ मा पोखराका लागि भद्रपुरबाट उड्नेछ । पहिलो उडानमा पोखराका व्यवसायी सहितको समुह छ।

‘पूर्वि नाकाबाट अहिले पोखरा आउन निकै नै सास्ती थियो। हवाई माध्यम नहुँदा आउजाउ सकसपूर्ण थियो। तर, अब हवाई माध्यमबाट हरेक दिन बेलुकी पोखरा आउन पाइनेछ,’ उनले भने। ‘यसले नेपालको पूर्वि भेगका पर्यटकीय गन्तव्यसम्म आउजाउ गर्न सघाउने अपेक्षा छ,’ बरालले भने।  

बरालका अनुसार अहिले बिहानै पोखराबाट भद्रपुरका लागि जहाज उड्ने र बेलुकी भद्रपुरबाट पोखरा फर्किने भएकोले व्यवसायिक कामकाजलाई पनि यो उडानले सहजता थप्नेछ। ‘हालका लागि एउटा मात्र उडान राखेका छौ। यात्रु थपिएमा उडान संख्या थप्न पनि सकिन्छ,’ बरालले भने। बरालका अनुसार पोखरा–भद्रपुरको एकतर्फी हवाई भाडा सबैभन्दा कम एकतर्फी ७५सय रुपैयाँ रहेको छ।  

प्रकाशित: २६ फाल्गुन २०७९ १०:४० शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रि उडान बुद्ध एयर