अर्थ

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

संस्थाहरूलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका छन्। यसै अवसरमा कोषले सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रूपैयाँको चेक प्रदान गरेको छ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरूको पुनर्स्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन-नेपाल शंखरापुर काठमाडौंलाई २ लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ।

साथै कोषले उपत्यकाबाहिर फरक क्षमता भएका बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरूको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यको लागि २ लाख रूपैयाँको चेक प्रदान गरेको छ। चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: २६ फाल्गुन २०७९ ०३:१३ शुक्रबार

नागरिक लगानी कोष संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)