अर्थ

पर्यटक आगमनले गति लिँदै

फाइल तस्वीर

फेब्रुअरीलाई विदेशी पर्यटक आगमन हुने महिना मानिन्छ। डिसेम्बरदेखि जनवरीसम्म सुस्ताउने पर्यटन क्षेत्र फेब्रुअरी लागेपछि बिस्तारै उकालो लाग्न थाल्छ। पर्यटक आगमन वृद्धिले यो वर्ष पनि निरन्तरता पाउने देखिएको छ। आगमन वृद्धिदर हेर्दा पर्यटन क्षेत्रले गति लिँदै गएको संकेत देखिएको पर्यटन बोर्डले बताएको छ।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरी यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को फेब्रुअरीको तुलनामा यसपटक भित्रिरहेका पर्यटक संख्याको वृद्धिदर राम्रो रहेको पर्यटन बोर्डले बताएको छ। सन् २०२२ को फेब्रुअरीमा नेपालमा जम्मा १९ हजार ७ सय ६६ जना पर्यटक भित्रिएका थिए। नेपाल भित्रिएका यी सबै पर्यटक हवाई माध्यमबाट आएका हुन्।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ को फेब्रुअरीको तुलनामा योवर्ष फेब्रुअरीमा पर्यटक आगमनमा ७२ प्रतिशत सुधार भएको छ। सन् २०१९ को फेब्रुअरीमा नेपालमा १ लाख २ हजार ४ सय २३ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यस्तै सन् २०२० को तुलनामा भने यो पटक ७५ प्रतिशत रिकभर भएको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा ९८ हजार १ सय ९० जना विदेशी पर्यटक भित्रिएका थिए। सन् २०२० मार्च पछि बल्ल पर्यटनमा कोरोना भाइरस संक्रमणको असर पर्न थालेको थियो। त्यसपछि आगमनमा गिरावट आउन थालेको थियो।

‘पोहोरको तुलनामा यो वर्षको आगमन दर निकै माथि उक्लिएको छ । पोहोरको संख्यामा भन्दा पनि सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष (२०१९) को आधारमा हेर्दा पनि रिकभर निकै राम्रो भएको मान्नुपर्छ,’ लामिछानेले भने, ‘पोहोरको आगमन त निकै कम थियो। बरु २०१९ र २०२० को तुलनामा यो पटक पर्यटक आगमनमा निकै सुधार भएको मान्नुपर्छ।’ कोरोनाको सबैभन्दा बढी मार परेको वर्ष सन् २०२१ को फेब्रुुअरीमा नेपालमा जम्मा ९ हजार २ सय ४६ जना विदेशी पाहुना भित्रिएका थिए। नेपालमा गत जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।यो फेब्रुअरीमा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतीयको संख्या १८ हजार ४ सय १ रहेको छ। त्यस्तै दोश्रो नम्बरमा अमेरिकी पाहुना नेपाल भित्रिएका छन्। अमेरिकी पर्यटकको संख्या ७ हजार ८ सय ८७ रहेको छ। तेश्रो नम्बरमा परेको थाइल्याण्डका ४८ सय २, चौथोमा परेको बेलायतका ४३ सय ४५ र पाँचौमा परेको दक्षिण कोरियाका ३२ सय ४६ जना पाहुना भित्रिएका छन्।

त्यस्तै अष्ट्रेलियाका २९ सय ६९ जना पाहुना भित्रिएर छैटौं नम्बरमा छ। सातौ नम्बरमा परेको चीनका २२ सय ६६ जना पाहुना भित्रिएका छन् । आठौंमा म्यानमारका २२ सय ३२, नवौंमा श्रीलंका २१ सय ७५ र दशौं नम्बरमा परेको जर्मनीका २१ सय ८ जना पाहुना नेपाल भित्रिएका छन्।  

चिनियाँ पाहुनाको आगमन पनि बिस्तारै बढ्न थालेको लामिछानेले बताए। चीनले अघिल्लो महिना आफ्ना नागरिकलाई घुमघामका लागि विभिन्न २० मुलुक खुला गरेको थियो। त्यसभित्र नेपाल परेको थिएन तर पनि समूहमा नभई व्यक्तिगत रूपमा चिनियाँ पर्यटक आउन थालेको लामिछानेले बताए। ‘चिनियाँ पाहुना समूहमा आएका छैनन्। व्यक्तिगत (एफआईटी)हरू भने आउन थालेका छन्। समूहमा खुलाएको भए यो आकार निकै माथि हुन्थ्यो,’ उनले भने, ‘व्यक्तिगत रूपमा भित्रिँदा पनि चिनियाँको आकार राम्रो देखिएको छ।’ चीनका विभिन्न सहरमा काठमाडौंदेखि सिधा हवाई उडान सुरु भएकाले चिनियाँको आगमन बिस्तारै बढ्न थालेको लामिछानेले बताए।  

पोखरामा माघ १ गते भएको हवाई दुर्घटनापछि विदेशी पर्यटक आगमन घटेको गुनासो व्यवसायीले गरिरहे पनि आगमनको संख्याले भने त्यो नदेखाउने लामिछानेले बताए। बरु पोखरा जाने विदेशी पाहुनाको संख्या केही घटेको हुनसक्ने उनले बताए। ‘नेपालभित्रै पाहुना नभित्रिएका होइनन् तर दुर्घटनापछि पोखरामा भने पाहुना कम भएका हुन्,’ उनले भने, ‘दुर्घटनाको असर नै नपरेको भन्ने होइन, केही त असर परेको थियो तर त्यसैका कारण पूरै गिरावट आएको भन्न मिल्ने गरी आगमन दर  

खस्किएको होइन।’ 

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:३७ बिहीबार