अर्थ

भारतीय पक्षबाट चारपांग्रेमा रोक

बारा- भारतीय सुरक्षाकर्मीले पछिल्लो महिनादेखि नेपाल–भारत आवतजावत गर्ने नेपाली र भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाएका छन्। भारत-पाकिस्तानबीच तनाव बढेसँगै जिल्लाको छोटी भन्सार सिम्रौनगढ र मटिअर्वाबाट ओहोरदोहोर गर्ने नेपाली र भारतीय नम्बर प्लेटका सवारीसाधनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको जिल्लाका सुरक्षा अधिकारीले बताएका छन्।

'छोटी नाकाबाट पहिला ओहोर–दोहोर गर्ने नेपाली र भारतीय नम्बर प्लेटका गाडीलाई भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नमा कडाइ गरेको सुन्नमा आएको छ,' बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले भने। अहिले दुवैतर्फ आवतजावत गर्ने कार र जिपलाई भारतीय सुरक्षाकर्मीले कडाइ गरेकोबारे बुझ्न नसकिएको ढुंगानाको भनाइ छ।

सीमा सुरक्षा बल बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेले छोटी भन्सार कार्यालयबाट पहिला ओहोरदोहोर गर्ने भारतीय र नेपाली नम्बर प्लेटका सवारी–साधनमा अहिले भारतीय सुरक्षाकर्मीले कडाइ गरेको बताए। भारतीय पक्षबाट गरिएको कडाइबारे नेपाली पक्षलाई कुनै जानकारी नगराइएकाले यसबारे धेरै आफूलाई थाहा नभएको न्यौपानेको भनाइ छ।

विभिन्न बहाना बनाउँदै भारतीय सुरक्षाकर्मीले पहिलेदेखि छोटी भन्सारबाट ओहोरदोहोर गर्ने कार, जिप लगायत ठूला सवारीसाधनलाई आवतजावतमा रोक लगाएपछि सीमावर्ती स्थानीय पीडित बनेका छन्।

भारत–पाकिस्तानबीच तनाव बढ्नुपहिले दैनिक दुई दर्जनभन्दा बढी भारतीय नम्बरका गाडी भन्सारमा इन्ट्री गराएर नेपालतर्फ आउने गरेकामा भारतीय सुरक्षाकर्मीको कडाइका कारण अहिले नआएको मटिअर्वा छोटी भन्सार कार्यालयका सहयोगी प्रकाश साहले बताए। त्यस्तै, छोटी भन्सारबाट एक दर्जनजति नेपाली नम्बर प्लेटका कार र जिप भारततर्फ जाने गरेकामा अहिले भारतीय सुरक्षाकर्मीले रोक्ने गरेको साहको भनाइ छ।

भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेश गर्दा नाकामा पर्ने भन्सार वा नाकामा रहेका सुरक्षाकर्मीबाट अनुमति लिएर नेपालतर्फ ४० किलोमिटर भित्रसम्म प्रवेश गरी एक दिनमै फर्कनुपर्ने नियम छ।

भारतीय सीमावर्ती बजार आदापुरमा रहेको ससुरालीबाट श्रीमतीलाई लिएर भारतीय नम्बर प्लेटका जिपमा आउँदा भारतीय एसएसबीले मटिअर्वा छोटी भन्सारबाट आउन नदिएको कलैया निवासी मनोज साहले गुनासो गरे।

'नेपाली नम्बर प्लेट भएको जिपबाट श्रीमतीलाई ल्याउँदा भारतीय सुरक्षाकर्मीले भारतबाट नेपाल प्रवेशमा रोक लगाउने सम्भावना भएकाले ससुरालीबाटै भारतीय नम्बर प्लेटको जिपमा आएको थिएँ। त्यसलाई समेत मटिअर्वा नाकाबाट आउन दिएनन्,’ साहले भने,'त्यसपछि बाध्य भएर २५ किलो मिटर दूरीमा रहेको वीरगन्ज भन्सारबाट आउनुपर्‍यो।’

भारत सरकारअन्तर्गतको सीमा शुल्क विभाग पटनाले ०७२ माघ ११ देखि भारत प्रवेश गर्ने नेपाली सवारीसाधनले भारतीय कस्टमबाट अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू गरेको थियो।

सो नियमले भारत प्रवेश गर्ने नेपाली सवारीसाधनलाई मात्रै समस्या हुने भनिए  पनि अहिले भारतीय नम्बर प्लेटका गाडीलाई समेत छोटी भन्सार कार्यालयबाट नेपालतर्फ आउन रोक लगाउने भारतीय सुरक्षाकर्मीको कार्यप्रति सीमावर्ती स्थानीय चिन्तित छन्।

सदियौंदेखि सीमावर्ती गाउँमा आवातजावत गर्नका लागि दुवैतर्फका स्थानीयले नेपाली र भारतीय नम्बरको जिप र कार निर्धक्क रूपले छोटी भन्सार प्रयोग गर्दै आए पनि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि यसमा कडाइ गरिएको देखिन्छ।

खुला सीमाना, आवतजावतमा सहजता, सांस्कृतिक–धार्मिक एकात्मकताकै कारण सीमावर्ती भारतीय र नेपालीबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गाँसिँदै आएको छ। यसैलाई लिएर दुई देशका नागरिक 'रोटीबेटी'को सम्बन्धले जोडिएको चर्चा हुने गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७३ ०४:४० शनिबार

भारतीय पक्षबाट चारपांग्रेमा रोक