अर्थ

८६ मेगावाटको सोलु दुधकोसी परियोजना निर्माण

निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा निर्माण भएको ८६ मेगावाटको सोलु (दुधकोशी) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न थालिएको छ।

निजी क्षेत्रले करिब १४ अर्ब रूपैयाँ लगानीमा निर्माण गरिएको परियोजनाको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे।

साहस ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष हिम पाठकले विभिन्न खालका आरोह र अवरोधको सामना गर्दै ८६ मेगावाटको आयोजनाबाट बिजुली उत्पादन गर्न सकेको बताए। ‘यो परियोजना एक वर्ष अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका थियौं तर कोभिड १९ र अन्य कारणले तोकिएको समयभित्रै निर्माण गर्न सकेनौं।’

आयोजनाका अनुसार एक वर्ष अगावै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि कोभिड १९ महामारी, प्रसारण लाइन निर्माणमा ढिलासुस्ती र अत्यावश्यक उपकरण ढुवानीमा भएको ढिलाइका कारणले केही समय बढी लागेको हो। यो आयोजनामा ७.५४ किलोमिटर लामो मुख्य सुरुङ रहेको छ। आयोजनाबाट उत्पादन भएको ८६ मेगावाट बिजुली १२ किलोमिटर लामो १३२ केभीको सोलु कोरिडोर मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

सोलुको लमाने (टिङ्ला) सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। १३२ केभीको सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यो आयोजना सञ्चालन भएसँगै वार्षिक ५२० गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता रहेको छ। यो आयोजनाले वर्षामा ४१९.९३ गिगावाट आवर र हिउँदको समयमा १००.२७ गिगावाट आवर विद्युत् उत्पादन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ। यो नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना हो।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा विभिन्न संरचना निर्माण गरिएका छन्। आयोजनाबाट वार्षिक औसत ५२०.२० गिगावाट घण्टा सुक्खा याममा १००.२७ गिगावाट र बर्खा याममा ४१९.९३ गिगावाट आवर उत्पादन हुनेछ। यो आयोजनाप्रति मेगावाट १६ करोड रूपैयाँमा बन्ने प्रारम्भिक अनुमान रहेको छ।

प्रधानमन्त्री दाहालले नेपालमा ग्रिन इनर्जीको प्रचुर सम्भावना भएकाले ग्रिन हाइड्रोजनमा जानु उपयुक्त हुने बताए। ‘ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतिर जाने नयाँ युगतर्फ विश्व जादैंछ। त्यसैले अहिलेको बेला ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजन बनाउने सबैभन्दा उपयुक्त बेला हो,’ प्रधानमन्त्री दाहालले भने ‘ग्रिन इनर्जीको प्रचुर सम्भावना रहेको छ। त्यसलाई हामीले ग्रिन हाइड्रोजनमा परिणत गरेर फाइदा लिनुपर्ने बेला भइसकेको छ।’

प्रधानमन्त्री दाहालले सरकारले ग्रिन इनर्जीलाई ग्रिन हाइड्रोजनमा गएर किसानहरूलाई आवश्यक पर्ने रासायनिक मलखाद उत्पादन गर्नेतर्फ अग्रसर हुने बताए। ‘हामीले ग्रिन इनर्जीलाई हाइड्रोजनमा र अन्य तमाम उद्योगलाई आर्थिक गतिविधिमा अघि बढाइनेछ,’ उनले भने। प्रधानमन्त्री दाहालले नेपालमा उत्पादन भएको बिजुली बंगलादेश निर्यात गर्ने वातावरण बन्दै गइरहेको बताए।

‘नेपालमा उत्पादन भएको बिजुली बंगलादेश निर्यात गर्नका लागि वातावरण तयार हुँदै गइरहेको छ। अबको केही समयभित्रै नेपालको बिजुली बंगलादेश निर्यात गरिनेछ।’ प्रधानमन्त्री दाहालले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य थप उचाइमा पुर्‍याउने बताए।

यो जलविद्युत् आयोजनाको ठेक्का इटालियन कम्पनी सिएमसी रि दि भेन्नाले पाएको थियो। सो कम्पनीको निर्माण कार्य चित्त बुझ्दो नभएसँगै आयोजनाको ठेक्का रद्द गरेर नेपाली निर्माण कम्पनी सीई कन्स्ट्रक्सनले पाएको थियो। यो जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, सनसराइज बैक, प्रभु र सिभिल बैंक लगायतले ऋण लगानी गरेका छन्। यो परियोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट निर्माण गरिएको हो।

प्रकाशित: २४ फाल्गुन २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App