अर्थ

किन बढ्याे घरजग्गाको भाउ ?

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदा घरजग्गाको भाउ अकासिएको छ। भदौसम्ममा घरजग्गामा २ खर्ब ६० अर्ब लगानी भएको छ जुन उक्त कर्जा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जामध्ये घरजग्गामा मात्र २ खर्ब ६० अर्ब १ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ सय ४९ अर्ब ५० करोडको आवासीय कर्जासमेत) लगानी गरेका छन्।

उक्त क्षेत्रमा ऋण लगानी बढी भएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संकेत गरिसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार नागरिकलाई बताए ।

‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको छ,’ उनले भने, ‘बैंकले दिएको ऋणका कारण घरजग्गाको भाउ बढेको सुनिन्छ ।’

बैंक तथा वित्तीय संस्थाले बढी ऋण प्रवाह गरेकै कारण  घरजग्गाको भाउ बढेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अशोक राणाले बताए । ‘घरजग्गामा गएको ऋण बढी भयो कि भन्ने लागेको छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका राणाले भने, ‘यस विषयमा गभर्नर चिरञ्जीवी नेपालले समेत चासो देखाउनुभएको छ ।’

बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् ।

बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँसम्मको तरलता हुने गरेको थियो । तर अहिले १२ अर्ब मात्र बैंकमा लगानीयोग्य पुँजी रहेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

‘केही महिना पहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) प्रशस्त थियो । तर, अहिले बैंकिङ प्रणालीमा तरलता निकै नै कम छ,’ उनले भने, ‘कुल साढे १४ खर्ब बैंकले लगानी गरेका छन् । अहिले बैैंकमा करिब १२ अर्ब रुपैयाँ मात्र बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी छ जुन कुल लगानीको १ प्रतिशतभन्दा पनि कम हो ।’

बैंकहरुले घरजग्गा, जलविद्युत आयोजना, पर्यटन, सेयर लगायत क्षेत्रमा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव हुन थालेको छ । गत वर्षको भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सकेका थिएनन् । वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् ।

बैंक तथा वित्तीय संंस्थाले घरजग्गामा बढी लगानी गर्न थालेपछि राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्ने गरी चालु आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो । उसले सेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याएको थियो ।

साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बजेटलाई प्रोत्साहन गर्ने गरी केन्द्रीय बैंकले नयाँ मौद्रिक नीति ल्याएको थियो । उसले उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै अन्य क्षेत्रलाई कसेको थियो ।

नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेट कर्जालाई भने केही कसिलो बनाएको थियो ।

नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ । रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था छ । रियलस्टेट कर्जामा यसअघि धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था थियो । तर आवासीय रियलस्टेट कर्जामा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्मै कर्जा दिन पाइने नीति छ ।

बैंक तथा वित्तीय संस्थाले आवासीय रियलस्टेट कर्जा अधिकतम एक करोड रुपैयाँसम्म दिन पाउँछन् । रियलस्टेटमा कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ ।

मौद्रिक नीतिमा सेयर धितोको प्रवाहमा हुने ‘मार्जिन  लोन’ लाई समेत केही कडाइ गरेको छ । केन्द्रीय बैंकले ‘मार्जिन लोन’ प्रदान गर्दा १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकम मात्र कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ।

प्रकाशित: २२ कार्तिक २०७३ ०१:३५ सोमबार

किन बढ्याे घरजग्गाको भाउ