अर्थ

चितवन विशेषः भरतपुरका ठुला आयोजना संघ र प्रदेशकै भरमा

भरतपुर महानगरपालिका देशकै केन्द्रबिन्दुमा पर्छ। यहाँको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालले गरेकी छन्। सोही अनुसार भरतपुरमा विकास निर्माणका काम पनि तीव्र गतिमा भइरहेका छन्। अधिकांश विकास निर्माणका आयोजना संघ सरकारबाट बजेट ल्याएर नै भएका छन्। ठुला आयोजनामा महानगरपालिकाको बजेट प्रयोग गर्न नपरेको दाहाल बताउँछिन्।

‘संघ र प्रदेश सरकारबाट यहाँ ठुल्ठुला आयोजना धेरै भएका छन्। हामीले महानगरको बजेटबाट ससाना बाटा, पुल, कल्भर्ट निर्माणजस्ता काम भएका छन्,’ उनले भनिन्, ‘यहाँको बजेटले ठुला आयोजना गर्न सकिँदैन।’

अन्य पालिकामाभन्दा भरतपुर महानगरपालिकामा संघीय बजेट बढी नै आएको छ। पाँच वर्षको अवधिमा संघीय सरकारबाट १३ अर्ब रूपैयाँबराबरका आयोजना भरतपुरमा आएका छन्। चालु आवमा मात्रै ५ अर्ब ६४ करोड रूपैयाँबराबरका आयोजना संघीय सरकारबाट सञ्चालित छन्। ‘यो उनको आफ्नै प्रयासमा भएको काम हो। म महानगरपालिकामा मेयर छु। भन्न त भन्छन्, प्रचण्ड बुवा भएकाले बजेट ल्याएको। तर यो पाँच वर्ष महानगरपालिकामा मेयर हुँदा उहाँ प्रधानमन्त्री त हुनुहुन्थेन,’ उनले भनिन्, ‘आफ्नै मेहेनतमा सक्रिय पहल र समन्वय गर्न हामी सफल भएका छौं।’

संघीय सरकारबाट सबैभन्दा महानगरपालिकामा सहरी मन्त्रालयबाट ३ अर्ब, खानेपानी मन्त्रालयबाट ३ अर्ब, सडक पूर्वाधारमा ३ अर्ब नारायणी नदी नियन्त्रणमा साढे २ अर्ब, भूमिगत जल सिँचाइमा ७ करोड, पूर्वाधार विकास कार्यालय चितवनबाट २५ करोड रूपैयाँका आयोजना सञ्चालित छन्।

जब कि भरतपुर महानगरपालिकाको आव २०७९/८० को कुल बजेट ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार रूपैयाँ रहेको थियो। जसमध्ये चालुतर्फ विनियोजित कुल बजेट २ अर्ब ५३ करोड १३ लाख ५८ हजार र पुँजीगत खर्चतर्फ विनियोजित कुल बजेट ३ अर्ब ३१ करोड २८ लाख ९८ हजार रूपैयाँ रहेको छ।

पाँच वर्षे कार्यकालमा पूर्वाधारतर्फ सबैभन्दा गर्व गर्नलायक काम नारायणी नदीमा तटबन्धको काम हो। ‘आम महानगरवासीको सरोकार र समस्याका रूपमा रहेको नारायणी नदीको तटबन्धको कार्य महानगरको पहलमा नेपाल सरकारबाट विभिन्‍न पाँच खण्डमा २ अर्ब ४३ करोड ५८ लाख रूपैयाँको लागतमा ठेक्का सम्झौता भई नारायणी तटबन्ध आयोजनामार्फत कार्य अगाडि बढेको छ,’ उनले भनिन्, ‘प्रत्येक वर्ष जनता पीडित हुनुपर्ने अवस्था थियो। हामीले यस आयोजनाबाट महानगरवासीलाई सुरक्षित राख्न सक्नेछौं।’

यी योजना संघीय सरकारबाटै भइरहेका छन्। महानगरको पहलमा नारायणी तटमा सि–बिच मोडल विकासको कार्यका लागि नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख रूपैयाँ, सघन सहरी विकास आयोजनाबाट २ करोड रूपैयाँ र पर्यटन विभागबाट ७ करोड रूपैयाँ गरी जम्मा २४ करोड ५० लाख रूपैयाँको निर्माण कार्यअगाडि बढिरहेको छ।

पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको कार्य अगाडि बढिरहेको र ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ। यसैगरी हुलाकी सडकको १९ किलोमिटर विस्तार एवं स्तरोन्‍नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ। महानगर र आसपासका क्षेत्रको आर्थिक एवं पर्यटकीय गतिविधिलाई बढावा दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनहरू गर्न सिटी हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी बढाइएको उनले बताइन्।

भरतपुर महानगरीय रिङरोड ८८ किलोमिटरमध्ये संघ, प्रदेश र भरतपुर महानगरपालिकाको लगानीमा ४२ किलोमिटर निर्माण सम्पन्न हुने चरणमा रहेको छ भने बाँकी ४६ किलोमिटर स्रोत सुनिश्चित गरी निर्माण गर्ने प्रक्रियामा रहेको छ। साथै, लिंक रोडहरू निर्माण सम्पन्नको चरणमा रहेका छन्।

महानगरको पहलमा भरतपुर विमानस्थललाई स्तरोन्‍नति गरी आधुनिक र सुविधा सम्पन्‍न बनाउन विमानस्थलमा अत्याधुनिक टर्मिलन भवनको निर्माणको ठेक्का सम्झौता भई कार्य अगाडि बढिसकेको छ भने विमानस्थल विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। भरतपुर महानगरपालिकाको सुविधासम्पन्‍न प्रशासनिक भवन संघ, प्रदेश र महानगरको साझेदारीमा निर्माणको कार्य अगाडि बढिरहेको र हालसम्म वेसमेन्टको काम सम्पन्‍न भइसकेको छ।

भरतपुर महानगरपालिकामा दाहालको यो दोस्रो कार्याकाल हो। पहिलो निर्वाचनमा सकस पूर्ण तरिकाले विजयी भएकी दाहालले दोस्रो निर्वाचनमा सहजै जित हासिल गरिन्। कामका आधारमा उनले जनताको मत जितेको देखिन्छ। विशेष गरी चितवनमा संघीय सरकारबाट ठुला रकमका कार्यक्रम आएका छन्। यी कार्यक्रम ल्याउनका लागि त्यति सहज नरहेको दाहाल बताउँछिन्। ‘स्थानीय तहमा बसेर काम गर्दा धेरै नै दुःख गर्न पर्दो रहेछ। एउटा मन्त्रालय मात्र गएर पुग्दैन। त्यसका अलवा विभिन्न विभाग धाउनै पर्‍यो, सबैलाई बुझाउनै कठिन,’ उनले भनिन्, ‘केन्द्रीय आयोजना ल्याउन कानुनी झन्झट पनि त्यत्तिकै छन्।’

सरकारी स्वास्थ्य संस्थामा जन्मने भरतपुर महानगरवासीका छोरी सन्तानको १ लाख पाउने गरी १५ वर्ष अवधिको जीवन बिमा र ७ हजार लिटरसम्मको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गरिदिनेसम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरी हालसम्म २ सय १० जना छोरीको जीवन बिमा सम्पन्‍न भइसकेको छ। खानेपानी महसुल भुक्तानी कार्यक्रम मार्फत १० वटा खानेपानी उपभोक्ता समितिसँग सम्झौता भई १० हजार २ सय ९७ जना महानगरवासीले यो सुविधा प्राप्त गरिसकेको उनले बताइन्। यस कार्यक्रमबाट सर्वसाधारण प्रत्यक्ष प्रभावित भएकाले मन पराइएको छ।

भरतपुर महानगरपालिकालाई फोहोर व्यवस्थापनमा चुनौती छ। अहिलेसम्म ल्यान्डफिल्ड साइड छैन। फोहोरको दिगो व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्न आवश्यक अध्ययनको कार्य अगाडि बढाइएको उनले बताइन्।

महानगरले शैक्षिक सुधारका लागि विशेष काम गरेको छ। शैक्षिक गुणस्तर सुधारका लागि प्रतिकक्षा एक शिक्षकको अवधारणा अनुसार महानगरको आन्तरिक स्रोतबाट अनुदान उपलब्ध गराई १ सय २१ जना अंग्रेजी, गणित र विज्ञान विषयका युवा स्वयंसेवक शिक्षक नियुक्तिको व्यवस्था मिलाइएको छ। बालबालिकासँग मेयर कार्यक्रमअन्तर्गत १८ विद्यालय/स्रोत कक्षाका १ हजार १ सय ५४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। अटिजम भएका विद्यार्थीलाई पढाउने विद्यालय स्थापना गरिएको छ। अटिजम स्कुल नेपालमै पहिलो हो। संस्थागत विद्यालयसँग समन्वय गरी कक्षा ११ मा २ सय ७४ जना र कक्षा १२ मा २ सय ३९ जनालाई समावेशी र योग्यताका आधारमा छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको उनले बताइन्।

महानगरपालिकाले सेवा प्रवाहलाई समेत ध्यान दिएको छ। सेवा प्रवाहलाई सहज बनाउन ९ वटा भुक्तानी सेवा केन्द्र स्थापना गरी सञ्‍चालनमा ल्याएको छ। यसले सेवाग्राही भरतपुर आउनैपर्ने बाध्यता हट्दै गएको छ।

भरतपुर महानगरले कृषि क्षेत्रलाई प्राथमिकता राखेको छ। दुध, मासु र मत्स्य उत्पादनमा आत्मनिर्भर बनाई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याई अनुदानका कार्यक्रम ल्याएको उनले बताइन्। ‘अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउन दूधको उत्पादन वृद्धि गरी टेवा पुर्‍याउने उद्देश्यले साविकमा दूध उत्पादक किसानलाई लक्षित गरी प्रति लिटर दुधमा ३ रूपैयाँ अनुदान उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘साना सिँचाइ निर्माण तथा मर्मतसम्भार कार्यक्रमअन्तर्गत १ सय २० वटा डिप बोरिङ, कृषि कार्यमा प्रयोग हुने औजार उपकरणतर्फ ३० वटा संस्थालाई, मेयरसँग युवा लक्षित कार्यक्रमअन्तर्गत ४० जना युवालाई र तरकारी बजार संकलन केन्द्र निर्माण गरेका छौं।’

विपन्‍न वर्ग आर्थिक सहायता कार्यविधि, २०७९ तर्जुमा गरी ६४ जना विपन्‍न नागरिकलाई आर्थिक सहायता प्रदान गरेको छ। हालसम्म २५ हजार ६ सय ९३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ताको दोस्रो त्रैमासिक निकासा उपलब्ध गराइसकिएको छ। त्यसैगरी हालसम्म विभिन्‍न प्रकारका अपांगता भएका १८ सय ८० जनालाई अपांगता परिचयपत्र वितरण गर्नुका साथै ६० जना मध्यम अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा सम्पन्न गरेको महानगरपालिकाको तथ्यांकमा उल्लेख छ।

भरतपुर महानगरपालिका बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा चितवनका सात स्थानीय तहमध्ये पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आव २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको थियो।

दाहाल आफ्नो कामप्रति पूर्ण सन्तुष्ट छिन्। आगामी दिनमा महानगरमा भएका परियोजना सम्पन्न गर्ने उनको लक्ष्य छ। त्यसका साथै जनगुनासो नआउने गरी प्रशासनका कामलाई सुधार गर्ने उनले बताइन्। भरतपुर विमानस्थलको विस्तार, अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशाला र फोहोर व्यवस्थापनका लागि काम गर्ने उनको योजना छ।  

प्रकाशित: १९ फाल्गुन २०७९ ०२:२२ शुक्रबार

भरतपुर महानगरपालिका देशकै केन्द्रबिन्दु भरतपुरमा विकास निर्माणका काम पनि तीव्र गतिमा