अर्थ

म्याग्दीका क्वार्जखानी अलपत्र

म्याग्दी– जिल्लाकै विकट गाविस गुर्जामा आठ वर्षअघि पहिचान गरिएकोढुंगाखानी अझै उत्खनन हुन सकेको छैन । गुर्जा हिमालको फेदी घुर्मखोलामा रहेको खानीमा विलासी वस्तुमा प्रयोग हुनेक्वार्ज नामक ढुंगा रहेको ०६५ सालमै पहिचान गरिएको थियो तर उत्खननमा राज्यले अहिलेसम्म उचित पहल गरेको छैन ।

गुर्जा गाउँबाट करिब एकदिनको पैदल दुरीमा रहेको खानी आसपासका पहाड रातमा बत्ती बलेजस्तै टल्किने गरेको स्थानीय अगुवा झकप्रसाद छन्त्याल बताउँछन् ।

स्थानीयले एकदशकअगाडि खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमुना ढुंगा ल्याएका थिए । साँगुरो खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरे पनि सम्भव नभएपछि फर्किएका थिए । त्यहाँ पाइएको क्वार्जढुंगा ०६५ मा आयोजित म्याग्दी महोत्सवकोआकर्षण बनेको थियो ।

ढुंगालाई पहिचान तथा प्रशोधनका लागि भारत पु¥याइएको पनि थियो । ‘तर, राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोजेका व्यापारीलाई प्रहरीले निगरानी ग¥यो । त्यसपछि त्यत्तिकै भयो,’ म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्य भन्छन्, ‘राज्यले उत्खननमा ध्यान पु¥याए यो ढुंगा जिल्लाको आम्दानीको स्रोत बन्नसक्छ ।’

केही वर्षअगाडि तीन टन ढुंगा निकालेर बजारमा ल्याउने क्रममाप्रहरीले दरवाङमाव्यापारीलाई पक्राउ गरेर अदालतमा पेस गरेको थियो ।त्यसपछि उत्खननमा चासो देखाएकाहरू पछिहटेका थिए । तत्कालीन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष आजादश्रेष्ठले समेत खानी उत्खननमा निजी क्षेत्रबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाएका थिए ।

उचित प्रशोधनपछि ढुंगालाईगरगहना वा विलासी वस्तुमा पत्थरको रुपमा प्रयोग गर्न सकिने जानकार बताउँछन् । ‘गुणस्तर जाँच गर्ने विधिहरू धेरै छन् । खानी उत्खननमा राज्यले प्राथमिकता दिएको जनाएपनि पहिचानमा चासो देखाएको छैन,’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माले भने ।

उनले जिल्लाका विभिन्न गाविसमा रहेका खानीको संरक्षण र उत्खननमा निजी क्षेत्रले चासो देखाएपनि राज्यको नीति प्रस्ट नहुँदा काम अगाडि बढाउन नसकिएको बताए । जिल्लाका तामा, स्टेल, शिलाजित, खरी, चुनढुंगाका खानी वर्षौंदेखि बन्द छन्।

प्रकाशित: १८ कार्तिक २०७३ ०२:१९ बिहीबार

म्याग्दीका क्वार्जखानी अलपत्र