अर्थ

राष्ट्रपति चढिन्, प्रधानमन्त्री र मन्त्रीहरु चढे तर जनता चढ्ने बेलामा थन्किए बिजुली बस

चार्जिङ स्टेसन नहुँदा ३ महिनादेखि थन्किएका छन् ३७ वटा बिजुली बस

साझा यातायातको विद्युतीय बस राखेको स्थान राधे राधे, भक्तपुर

चार्जिङ स्टेसन र चार्ज गर्दा बस राख्ने स्थान(पार्किङ)को व्यवस्था नहुँदा साझा यातायातले चिनबाट खरिद गरेर ल्याएका ३७ वटा बिजुली बस ३ महिनादेखि ग्यारेजमा थन्किएका छन्। 

विद्युतीय सवारी साधन प्रवद्र्घन गरेर स्वच्छ वातावरण कायम गर्ने सरकारी नीति र योजनाको यी बसले धज्जी उडाएका छन्। विद्युतीय साधन प्रवद्र्घनमा सरकार अझै अनुदार छ भन्ने ज्वलन्त उदाहरण हुन, यी बिजुली बस। 

साझा यातायातले ल्याएका ४० वटामध्ये बनेपामा २० र भक्तपुरमा १७ वटा गरी ३७ वटा बस थन्किएका हुन्। 

तीन वटा बिजुली बस काठमाडौँमा सफलता पूर्वक संचालन गरिरहेको साझाले थप ३७ बस चार्जिङ स्टेसन र पार्किङको अभावमा थन्काएको छ। 

सरकारकै लगानीमा खरिद गरिएका बसहरु कहाँ राखेर चार्ज गर्ने र कहाँ पार्किङ गर्ने भन्ने टुंगो नलाग्दा साझाले चलाउन नसकेको हो। बसहरुको प्राविधिक परीक्षण भएको लामो समय बितिसक्दा पनि साझाले बस चलाउने वातावरण तयार गर्न सकेको छैन।

बस किनेर ल्याउनु अघि नै बस संचालनका लागि आवश्यक पूवार्धारबारे पर्याप्त गृहकार्य र तयारी गर्न नसक्दा करोडौंको लगानी खेर गएको छ। अर्कातिर उपत्यकाको वायु प्रदुषण नियन्त्रणमा सहयोगी हुन सकेको छैन। 

साझाले बिजुली बसको चार्जिङ स्टेसनसहित पार्किङ स्थल खोजिरहेको तर नभेटिएकाले बस चलाउन नसकेको बताएको छ। 

साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधारले सरकारलाई चार्जिङ स्टेसन र पार्किङको विकल्पसहित व्यवस्थापनको लागि अनुरोध गरेको बताउँछन्। 

उनले बस नचल्नुको कारण खुलाउँदै भने, ‘विद्युतीय बस सञ्चालनमा नआउनुको दुई वटा कारण छ। एउटा चेकजाँच गर्ने प्रशासनिक प्रक्रिया । अर्को चार्जिङ स्टेसन र चार्ज गर्न बस राख्ने स्थान (पार्किङ) नभएर हो। चेक जाँच जहाँसम्म लाग्छ सकिएको छ। बोर्डसम्म रिपोट आएको छैन। तर काम सकेर रिपोर्ट दिए जस्तो लागेको छ।’ 

तुलाधारले चार्जिङ स्टेसन सरकारले दिनुपर्छ भन्ने मान्यता रहेको र त्यसको लागि सरकारले लगानी गर्छ भन्ने अनुमान रहेको बताए।  

उनले भने, ‘यसका लागि सरकारसँग सहकार्य पनि गरेका छौँ। यसमा लगानी गछौँ भनेर सरकारले समिति पनि बनाएको थियो। तर यसमा काम अगाडि बढ्न सकेन। हामीले बनाउने काम त गर्न सक्छाैँ। तर जग्गा चाहिँने ठाउँ नहुँदा हामीले काम गर्न नसकेका हौँ।’ 

तुलाधरले बस ल्याएको महिनौँ नभएको दाबी गर्छन्। ‘केही हप्ता भएको हो। खिया लागेको छैन। हामीले चेकजाँचको लागि राखेकोले समय लागेको हो’, उनले भने। 

बस कहिले सञ्चालनमा आउँछ भन्ने जवाफ तुलाधरले यसरी दिए ‘बस चलाउने कुरा हाम्रो हातमा छैन। सरकार र हामी मिलेर गरेका हौ। यी बस चलाउनका लागि सहकार्य गरिरहेका छौँ। कहिले सञ्चालन हुन्छ भन्ने ठ्याक्कै समय तोक्न सक्दैनौ। बसलाई यतिकै राख्ने हाम्रो चाँहाना होइन् र छैन।’

उनले बसको चेकजाँच भएर समितिले रिपोर्ट दिएको तर चार्जिङ स्टेसन राख्ने उपयुक्त ठाउँ र पार्किङ नहुँदा बस सञ्चालनमा ल्याउन नसकेको बताए।  

तुलाधर विद्युत् प्राधिकरणले राखेको चाजिङ स्टेसनबाट पनि चार्ज हुने भएकाले एक÷दुई वटा बस थपेर चलाउन सकिने तर सबै चलाउन नसकिने बताए। 

उनले चार्जिङ स्टेसन र पार्किङका लागि उपयुक्त जग्गा पाए किनेर चलाउने भनेका तर त्यसको लागि एउटा छुटै समस्या रहेको बताए। 

तुलाधरले भने, ‘हामीले ट्रली बस राखेको स्थानमा चार्जिङ स्टेसन र पार्किङ दिए हुन्छ भनेको हौ। अब यातायात मन्त्रालयले त्यो उपलब्ध गराइदिए सहज हुने थियो। चार्जिङ स्टेसन रोडमा राख्न मिल्दैँ न किनभने चार्ज गर्नका लागि खुल्ला स्थान चाँहिन्छ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार पार्किङको समस्या छ भन्दै सवारी साधन चलाउन रोक्न नहुने हो। 

उनले भने, ‘अब ३ वटा बस मात्र चलाएर हुँदैन कति सकिन्छ चलाउँदै जानु पर्याे। पार्किङको समस्या देखाउन भएन। अब सबै कुरा पुरा गरेर चलाउँछु भनेर त कहाँ सकिन्छ। चलाउँदै जाने हो समस्या समाधान गर्दै जाने हो।’

नेपालले साझाले चार्जिङ स्टेसनका लागि पुरानो ट्रली बस पार्किङ गर्ने स्थान खोजेको तर त्यहाँ सम्भावना नभएर दिन नसकेको बताए। 

उनले बिजुली बसको समस्याको समाधानका उपाय बताउँदै भने, ‘अब बिजनेस गर्न निक्ले पछि बिजनेसको हिसाबले चल्नु पर्याे। यो भएन त्यो भएन भनेर हुन्छ। अब सकिन्छ लिजमा लिगेर चलाउनु पर्‍यो। अब सरकारले यहाँ जग्गा छ भन्दै खोज्ने कुरा भएन। उहाँहरुले खोजेर विकल्प लिएर आउँनु भए समस्याको समाधान गर्न सकिन्छ।’

नेपालले सरकारी जग्गा यहाँ दिँदा ठिक होला भन्ने ठाउँ नभएको र दिन नसक्ने पनि बताए। 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार देशभरका ३२ स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। 

नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैकं(एडीबी) को ऋण सहयोगबाट करिब ३८ करोड रुपैयाँ लागतमा देशका विभन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन निमार्ण गर्ने भएको थियो। २०७८ साल बौशाख महिनामा ५० वटै चार्जिङ स्टेसन निर्माण गरेर संचालनमा ल्याउने गरी चीनको वाङबाङ डिजिटल इनर्जीसँग नेपाल विद्युत् प्राधिकरणले सम्झौता गरेको थियो। त्यो सम्पन्न भएको छ।  

उनले यसबारे भने, ‘हामीले बनाउने भनेको सबै ठाउँमा चार्जिङ स्टेसन बनिसकेको छ। एक दुई वटा ठाउँमा बाँकी होला नभए सबै ठाउँको सकिसकेको छ।’

भट्टराईले चार्जिङ पोर्ट अनुसारको जुन छ त्यसमा मिल्ने र साझा यातायातको पनि त्यहीँ अनुसारको पोर्ट भए मिल्ने बताए।

यस्तै २०७९ भदौ १४ गते नेपाल विद्युत् प्राधिकरणको केन्द्रीयकार्यल्यमा तत्कालीन ऊर्जा मन्त्री पम्फा भुसालले विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरेकी थिइन्। 

    बिजुली बसको इतिहास

नेपालमा विद्युतीय सवारी साधन चल्न सुरु भएको इतिहास हेर्ने हो भने चार दशक पुरानो छ । सन् १९७९ मा काठमाण्डौमा ट्रली बस सञ्चालन सुरु भएको थियो, यद्यपि यो अहिले बन्द छ । सन् १९९३ देखि सार्वजनिक यातायातको रुपमा सञ्चालन हुन लागेको सफा ट्याम्पोको इतिहास पनि लामो छ तर यसलाई विशेष प्राथमिकता दिन नसक्दा अहिले विद्युतीय सवारी साधनको संख्या न्यून नै छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी २०७६ सालको नयाँबर्ष बाट काठमाडौं उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने बताएका थिए। 

संघीय सरकारमा मात्र होइन, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा आगामी १० वर्ष भित्र अर्थात २०८५ सालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौती लगायत सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाएर विद्युतीय सवारी साधन चलाउने घोषणा गरेका थिए । घोषणा गरे अनुसार बागमती प्रदेश सरकारले पनि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न सकेको छैन।

त्यसपछि काठमाडौँमा पहिलो पटक २०७६ साल भदौ महिनामा सुन्दर यातायात कम्पनी प्रालिले काठमाडौं उपत्यकामा दुई वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। उक्त बसको उद्घाटन तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। 

त्यस बिजुली बसमा मोबाइलबाट क्युआर कोड स्कयान गरेर पनि रकम भुक्तान गर्न सकिने कम्पनीले जनाएको थियो। 

तर २०७९ माघ महिनामा सुन्दर यातायातले बिजुली बसमा नेपाल प्राधिकरणले डिमान्ड शुल्क नहटाएको भन्दै सेवा बन्द गराएको थियो भने उक्त डिमान्ड शुल्क प्राधिकरणले सच्चाएर फेरी पुन माघ महिनामै यातायातलाई पत्र पठाएको थियो। त्यसपछि अहिले सुन्दर यातायातको बिजुली बस काठमाडौँमा सञ्चालनमा आइ रहेको छ। 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार अहिले पुन बिजुली बस सञ्चालनमा आएको छ। 

उनले भने, ‘काठमाडौँमा ८ वटा र लुम्बिनीमा ४ वटा बिजुली बस चलाएका छौँ। र अहिले देशै भर गरेर १६ वटा बुजिली बस चलाएका छौँ।’

थापाले डिमान्ड शुल्क हटाएपछि अहिले निरन्तर सेवा दिँदै आएका बताए। 

उनले बिजुली बसको खरिदबारे भने, ‘हामीले पहिलो चरणमा १ करोड ५९ लाखमा बस ल्याएका थियौ। त्यसपछि १ करोड ३० लाख जतिको हारहारीमा ल्याएका हौँ।'

भाडा लेनदेनमा कठिनाइ नहोस् भनेर सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था र गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने, त्यस्तै ई सेवा, खल्तीजस्ता ई पेमेन्टबाट पैसा तिर्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।

साझाको यातायात ०७९ असार २३ गते देखि विद्युतीय सवारी साधन सञ्चालनमा ल्याएको थियो। चीनबाट पहिलो चरणमा तीन थान बस ल्याएर सञ्चालनमा ल्याएको थियो। 

संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो। 

सीएचटीसीएचओसँग साझाले प्रति बस करिब डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो। ४० वटा बसमा करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ। 

उक्त सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ। सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मत सम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ थप प्रदान गर्ने भनिएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वि.सं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो। उक्त निर्णय पश्चात्  साझा यातायातलाई विद्युतीय बस किन्नको लागि सरकारले सुरुमा तीन अर्ब रुपैयाँ दियो। रकम सरकारले सेयरको रुपमा लगानी गरेको थियो। सरकारले वि. सं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो।

तर बस किन्ने प्रकिया ढिला गरेको भन्दै सरकारले २०७६ माघमा ब्याजसहित फिर्ता मागेको थियो। तर साझाले सेयर फिर्ता नहुने अडान लिएपछि सरकारले माघ २०७७ गते विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो।  उक्त निर्णय पश्चात् साझाले २०७७ चैत १३ गते खरिद प्रकियाका लागि बोलपत्र आव्हान गरेको थियो। 

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरु तामझामका साथ बिजुली बस चढेर पुल्कोचबाट सिहंदबार प्रवेश गरे। ओलीले विद्युतीय सवारी युग सुरु भएको समेत घोषण गर्न पुगे। त्यस्तै सन, २०२२ भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पुयाउने समेत घोषणा गरे। तर विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यति बेला उद्घाटन गरिएकै बस कहाँ– कुन अवस्थामा छन् अत्तोपत्तो छैन। 

२०७५ कार्तिक ६ गते ५ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। 

बिजुली बस नाम दिइएको उक्त बसमा प्रधानमन्त्री ओलीसँगै पर्यटन मन्त्री रवीन्द्र अधिकारी, र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले पनि यात्रा गरेका थिए।

यस्तै २०७९ साल पुस २३ गते राष्ट्रपति पदको अन्त्य तिर आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी पनि साझाको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी थिइन्। 

प्रकाशित: १७ फाल्गुन २०७९ ०७:३२ बुधबार

साझा यातायात