अर्थ

माछापालनमा युवा

सुर्खेत- स्थानीय आदर्शराज बोर्डिङ स्कुलका शिक्षक हुन्, विदुर कटुवाल । वीरेन्द्रनगरका कटुवालले अंग्रेजीमा एमए गरेका छन् । तर, उनको लक्ष्य उदाहरणीय कृषक बन्नु हो । मध्यपश्चिम विश्वविद्यालयमा एमबिए अध्ययन गर्दै गरेका जगदीश शाही पनि स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक हुन् । उनी पनि सफल कृषक बन्न चाहन्छन् । मोटरसाइकल र ट्रेडिङ व्यवसाय गर्दै आएका इन्द्रबहादुर खड्का पनि कृषि कर्ममा तानिएका छन् ।

यी तीनै युवाको सपना फुलाउने केन्द्र हो— महादेव कृषि फार्म । वीरेन्द्रनगर– १८ मा २२ कट्ठा जमिन भाडामा लिएर उनीहरूले माछापोखरी बनाएका छन् । चार पोखरीमा ५० हजारभन्दा बढी माछा छन् ।

‘एक महिनामा २० क्विन्टल माछा बिक्री ग¥यौं,’ खड्काले भने, ‘यो सिजनमा कम्तीमा २० लाखको माछा बिक्री गर्ने लक्ष्य लिएका छौं ।’

सुर्खेतलाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले आफूहरूले माछापालन गरेको उनीहरू बताउँछन् । ‘सुर्खेत माछामा आत्मनिर्भर छैन, भारतीय माछाले यहाँको बजार ओगटेको छ,’ शाहीले भने, ‘हाम्रो उद्देश्य सुर्खेतलाई माछामा आत्मनिर्भर बनाउने हो ।’ उनीहरूले अहिले प्रयास जातको माछापालन गरेका छन् ।

‘जाडोका लागि कमन, ग्रास, रहुलगायत माछाका भुरा ल्याउँदै छौं,’ शाहीले भने, ‘सुर्खेतमै पहिलोपटक बाह्रैमास माछा उत्पादन गर्ने तयारीमा हामी लागेका छौं ।’

अहिले दैनिक एक क्विन्टलको माछा बिक्री भइरहेको छ । ग्राहकहरू पनि फार्ममै आएर माछा खरिद गर्छन् । शाही भन्छन्, ‘पोखरीबाट निकालेको ताजा माछा भएकाले बिक्रीमा कुनै समस्या छैन ।’

माछापालन सुरु गरेको पहिलो वर्षमै राम्रो आम्दानी भएपछि उनीहरू यसलाई विस्तार गर्ने सोचमा छन् । ‘कम्तीमा पनि चार बिघा जमिनमा माछापालन गर्ने तयारीमा हामी लागेका छौं,’ उनले भने, ‘यसका लागि जग्गा खोज्दै छौं ।’

दैलेखका साथै कर्णालीको पनि प्रवेशद्वार भएकाले सुर्खेतमा माछा खपत उच्च रहेको उनीहरूको अनुभव छ । ‘माछापालन अघि हामीले धेरै ठाउँमा गएर यसबारे बुझ्यौं, वर्षमा कति माछा खपत हुन्छ भन्ने तथ्यांक संकलन ग¥यौं,’ अर्का युवा कटुवालले भने, ‘आम्दानी राम्रो हुने देखिएकाले यसको व्यावसायिक पालन सुरु ग¥यौं ।’

माछापालनसँगै उनीहरूले फायर क्याम्प फिस कटेज पनि सञ्चालनमा ल्याउने तयारी गरेका छन् । ‘हामीले सुरुवात माछाबाट गरे पनि अरु कृषि कर्मका साथै कजेट पनि सञ्चालनमा ल्याउँदै छौं,’ खड्काले भने, ‘यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।’ तिहारलगत्तै कटेज सञ्चालनमा ल्याइने खड्काले जानकारी दिए ।

‘हाम्रो उत्पादन नै कटेजमा प्रयोग गर्नेछौं । ग्राहक आफैंले माछा मार्ने, हामीले पकाइदिने पनि योजना छ,’ उनले भने, ‘सहर बजारको कोलाहलभन्दा केही टाढाको ठाउँ भएकाले एकान्तप्रेमी ग्राहकका लागि यो उपयुक्त हुने अपेक्षा हामीले गरेका छौं ।’

प्रकाशित: १३ कार्तिक २०७३ ०४:०२ शनिबार

माछापालनमा युवा