अर्थ

२ अर्बको लगानीमा टायल उद्योग

नेपालको प्रतिष्ठित व्यापारिक घराना मुरारका समूहले भारतीय कम्पनीसँगको साझेदारीमा २ अर्ब लगानी गरी टायल उद्योग सञ्चालन गर्ने भएको छ। उद्योग निर्माणका लागि भारतीय लगानी ल्याउन मुरारका समूहले भारतीय सेरामिक्स कम्पनी सोमानीसँग सम्झौता गरेको छ। मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारका र सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

भारतीय चर्चित ब्राण्ड सेरामिक्सको उत्पादन नेपालमा गर्न लागिएको हो। सन् २०२३ बाटै उत्पादन गर्ने योजनासहित भैरहवामा १३ बिघा क्षेत्रफलमा प्लान्ट स्थापना गर्ने कार्य भइरहेको छ। पहिलो चरणमा ३० लाख वर्गमिटर टायल उत्पादन गर्ने कम्पनीको योजना छ।

सोमानी भारतमा टायल उत्पादन गर्ने कम्पनी हो। सोमानीले भारतका विभिन्न ठाउँका प्लान्टबाट करिब ७ करोड ४० लाख वर्गमिटर टायल उत्पादन गर्दै आएको छ। सोमानीले भारतको गुजरातमा सातवटा प्लान्ट रहेका छन्। त्यसैगरी हरियाणा, आन्ध्र प्रदेशमा पनि प्लान्ट रहेको छ।  

यो उद्योगले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत उत्पादन गर्न सक्ने मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले बताए। नेपालमा अहिले भारतबाटै आयात भइरहेको छ। नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा पनि सहयोग पुग्ने भएको छ।

उपभोक्तालाई गुणस्तरीय उत्पादन तथा सेवा दिन प्रतिवद्ध रहेको मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले बताए। भारतीय कम्पनीसँगको सहकार्यमा गुणस्तरीय टायल उपलब्ध गराउने उनले बताए। ‘नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपूर्ति गर्नेछ हामीले विश्वास लिएका छौं’, उनले भने। स्वदेशमा रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने उनले बताए।

नेपालको प्रतिष्ठित व्यावसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले बताए। विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उच्च गुणस्तरको टायल उत्पादन गर्दै आएकाले नेपाली बजारमा पनि राम्रो बजार लिने सोमानीले बताए।

प्रकाशित: १६ फाल्गुन २०७९ ०१:३५ मंगलबार