अर्थ

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं- काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो। 

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्› कार्कीका अनुसार लक्ष्मीपूजाको दिन प्रधानमन्त्री पुष्पकमल दाहालले सौर्य बत्तीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दसैंअघि नै जडान गर्ने भनिएको सौर्य बत्ति प्राविधिक कारणले असफल भएपछि तिहारमा महानगरपालिका सौर्य उर्जाबाट झिलीमिली हुने भएको हो।

महानगरपालिकाका अनुसार दसैंअघि सौर्य बत्ती सञ्चालन गर्ने भने पनि आवश्यक मात्रामा ब्याट्री नआइपुगेकाले काम सकिएको थिएन। तर तिहारअघि सम्पूर्ण काम सकिने महानगरले दाबी गरेको छ। तिहारमा सहरलाई उज्यालो, सुरक्षित र लोडसेडिङमा विद्युत बचत गर्ने उद्देश्यका सौर्य बत्ती राख्न लागेको भन्दै महानगरपालिकाले राजधानीका सबै ठाँउमा सौर्य बत्तीका पोल गाड्ने काम सकिएको र बत्ती जडान गरेर परीक्षणको काम भइरहेको जनायो।

करिब २० करोड रुपैयाँ लागतमा राजधानीका ६६ स्थानमा १ हजार ७ सय सौर्य बत्ती जडान गरिएको महानगरले जानकारी दियो। सौर्य बत्ती राख्न ६० प्रतिशत अनुदान, महानगरपालिकाको २५ प्रतिशत र बाँकी १५ प्रतिशत स्थानीय उपभोक्ताले लगानी गरेका छन्। यस योजना अन्तर्गत महानगरपालिकाले करिब १६ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ भने बत्ती जडानमा उपभोक्ताले करिब ९ करोड ७५ लाख रुपैयाँ लगानी गर्नेछन्।

महानगरपालिकाले सौर्य सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष टिक्ने ग्यारेन्टी भएको हुनुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित: ११ कार्तिक २०७३ ०३:१६ बिहीबार

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली