धनगढीस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि कार्यालय नै बन्द भएको छ। बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै धनगढी शाखामा पनि बचतकर्ता रकम फिर्ता माग्न थालेका हुन्। बचतकर्ताको भिड लागेसँगै शिव शिखरको धनगढी शाखाले कार्यालय नै बन्द गरेर बेपत्ता भएका छन्।
बचतकर्ताहरु आफूले बचत गरेको पैसा फिर्ता लिन भिड लाग्न थालेपछि गत माघ २४ गतेदेखि धनगढी शाखा बन्द भएको हो। कार्यालय नै बन्द गरेर सञ्चालक तथा कर्मचारी नै बेपत्ता भएपछि यहाँका बचतकर्ताहरु मर्कामा परेका छन्। भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरुले बचत गरेको रकम फिर्ता गर्न नसेको सहकारीका ग्राहकहरुले बताएका छन्। मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै शिव शिखरका बचतकर्ताहरुले केही हप्तादेखि धनगढीमा रहेको कार्यालय नै बन्द भएपछि शेयर तथा बचत रकम डुब्ने हो कि भन्ने चिन्ता रहेको बताएका छन्।
दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता लिन खोजे पनि कार्यालय नै बन्द गरेर कर्मचारी तथा सञ्चालक सम्पर्कविहीन भएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पीडित संघर्ष समिति संयोजक मिना शाहीले बताइन्। उनले भनिन्,‘हामीले पटक पटक शिव शिखरमा पैसा माग्न जाँदा उल्टै पैसा छैन भन्दै खाली हात फर्काउनुका साथै केही दिनदेखि कार्यालय नै बन्द गरेर कर्मचारीहरु बेपत्ता भएका छन्।’ धनगढी कार्यालय बन्द भएको केही दिनमै सुदूरपश्चिमको डडेल्धुरा र कञ्चनपुरमा रहेको शिव शिखरको शाखा कार्यालयहरु पनि बन्द भएका छन्। सुदूरपश्चिमका तीन वटै शाखा बन्द भएपछि यहाँका हजारौं बचतकर्ताहरु तनावमा रहेका छन्।
शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएको विषय बाहिर आएपछि त्यसको प्रभाव कैलालीको धनगढी शाखामामा समेत परेको बताइएको छ । सहकारीको धनगढीस्थित कार्यालयमा दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्कबिहीन भएका थिए। उनीहरु अहिलेसम्म पनि कार्यालयको सम्पर्कमा आएका छैनन् भने कार्यालयमा तालाबन्दी भएको छ।
नियमित कार्यालय खोलेर कारोबार गर्नुको साटो कार्यालय नै बन्द गरेर निक्षेपकर्तालाई सशंकीत गर्ने काम गरेको भन्दै संघर्ष समिति संयोजक शाहीले भनिन्,‘कार्यालय के कति कारणले यतिका दिनसम्म बन्द भएको हो, त्यो जानकारीमा छैन, न त हामी बचतकर्तालाई पैसा सकुशल फिर्ता गर्न सक्छौ भनेर आश्वास्त नै गर्न सकिएको छ। त्यसैले हामी पनि शिव शिखरप्रति सशंकीत छौँ।’ शिव शिखरका निक्षेपकर्ताहरु एकजुट भएर संघर्षका कार्यक्रम गरिरहेको बताउँदै उनले भनिन्,‘हामी फागुन १० गतेका दिन विभिन्न राजनीतिक दलका प्रदेश तथा जिल्ला स्तरका नेतृत्वकर्तालाई समस्याबारे अवगत गराउने, जिल्ला प्रशासन कार्यालयमा स्मरण गराउनुका साथै थप संघर्षका कार्यक्रम गर्ने छौँ।’
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका बारेमा सहरकारी विभागमा पत्राचार गरेर समन्वय गरिरहेको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। उनले भने,‘हामीले सहकारी विभागलाई समन्वय गर्न जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरेका छौँ।’ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका धनगढीका कर्मचारीलाई यसबारे बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन।
प्रकाशित: ९ फाल्गुन २०७९ १२:५० मंगलबार