अर्थ

रुकुममा खुद्रा नोटको अभाव

गणेश विक

रुकुम– नेपाल बैंक लिमिटेड जिल्ला शाखा रुकुममा खुद्रा नोटको अभाव भएको छ। यस वर्षको दशंैका लागि आएको खुद्रा नोट कम भएका कारण समयमै अभाव भएको उक्त बैंकले जनाएको छ।

खुद्रा नोटका लागि नेपाल वैंक लिमिटेडमा पुगेका सेवाग्राहीहरु खाली हात घर फर्कन बाध्य भएका छन्। हाल जिल्लामा पाँच, दश, बीस र पचास रुपयाँको नोट अभाव भएको नेपाल वैंक लिमिटेडले जनाएको छ। एक सयको नोट भने पर्याप्त रहेको बैंकले जानकारी दिएको छ।

सरकारी बैंकमा नै खुद्रा नोटको अभाव भएसँगै यहाँका बासिन्दाहरु खुद्रा नोट लिन बजारमा सञ्चालित पसल तथा अन्य बैंकहरु धाउन थालेका छन्। ‘खुद्रा गराउन बैंकमा आएँ तर पाइएन, घर फर्कन लागेको छु’, आठ विसकोटका महेन्द्र बिकले भने, ‘यस वर्ष खुद्रा नोट नहुँदा समस्या हुने भयो।’ वर्षेनी खुद्रा नोटको अभाव खेपेका यहाँका बासिन्दाहरुले जसरी पनि खुद्रा रकम उपलब्ध हुनुपर्ने बताएका छन्।

दैनिक दुईदेखि तीन करोड रुपैयाँ बराबरका खुद्रा नोट कारोवार हुने गरेको नेपाल वैंक लिमिटेडका एक कर्मचारीहरुले बताए। नेपाल राष्ट्र नैंक नेपालगञ्जले खुद्रा नोट पठाए आफूहरुले सहज रुपमा सेवाग्राहीलाई खुद्रा नोट वितरण गर्ने उनले बताए।

जिल्लामा सञ्चालित अन्य वैंकहरुसमेत खुद्रा नोटको अभाव छ।

कारोवार बढ्यो

दशैं नजिकिँदै गएपछि जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरुको कारोबार चार गुणाले बृद्धि भएको छ। दशैंका लागि रकम निकासा गर्ने र ट्रान्सफर गर्ने क्रम बढेसँगै उनीहरुको कारोबार चार गुणाले बृद्धि भएको हो।
दशंैका लागि पैसा खुद्रा बनाउने, तलब तथा जम्मा पैसा निकासीको कामको बढी चाप भएको बैंकहरुले बताएका छन्। जिल्लाका दुई सरकारी वैंक बाणिज्य र नेपाल बैङ्क लिमिटेडमा धेरै सेवा ग्राहीहरुको भिडभाड हुने गरेको छ। हाल जिल्लामा दर्जनभन्दा बढी साना तथा ठूला बैंकहरु सञ्चालित छन्।

‘शिक्षक र सेवाग्राहीहरुको तलब निकासा एकैपल्ट आएकाले बढी चाप बढेको छ,’ नेपाल बैङ्क लिमिटेडका एक कर्मचारीले भने, ‘दैनिक सात आठ करोड बराबरको कारोबार हुने गरेको छ।’ उनका अनुसार पहिले दुई तीन करोडसम्मको कारोबार हुने गरेको थियो। नेपाल वैंक लिमिटेडमा मात्रै दैनिक सात आठ सय सेवा ग्राहीहरुसँग कारोवार हुने उनले बताए।

जिल्लाका मनि टा«न्सफरहरुमा पनि भीड बढेको छ । बाहिर जिल्लामा घर भएका कर्मचारी, सेना र प्रहरीहरुले दशैंमा घर जान नसकेपछि रकम पठाउने गरेका छन्। मनि ट्रान्फरहरुले दैनिक चार करोड बढीको कारोबार गर्ने गरेको उनीहरुले बताएका छन्।

प्रकाशित: २० आश्विन २०७३ ११:४५ बिहीबार

रुकुममा खुद्रा नोटको अभाव