अर्थ

हिमालय काठमाडौं—यङ्गुन सिधा उडानको तयारीमा

काठमाडौं— हिमालय एयरलाइन्सले काठमाडौं—यङ्गुनबीच सिधा उडानको तयारी थालेको छ। करिब पाँच लाख नेपाली भाषी बसोबास रहँदै आएको म्यानमार (बर्मा) सँग हवाई सम्पर्कको आवश्यकता खड्किरहेको सन्दर्भमा नेपाल—चीन संयुक्त लगानीको एयरलाइन्सले यङ्गुन जाने तयारी थालेको हो।

आन्तरिक तयारी तथा अनुमति प्रक्रिया समयमै पूरा भए यही डिसेम्बर महिनादेखि उडान सुरु हुनेछ।

नेपालका लागि म्यानमारका राजदूत यु लुविन ओ तथा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठबी हालै यो विषयमा छलफल गरेका छन्। भेटमा उपाध्यक्ष श्रेष्ठले राजदूत युलाई हिमालय एयरलान्सको पृष्ठभूमिबारे जानकारी गराउँदै काठमाडौं–यङ्गुन सिधा उडानका लागि कम्पनी सक्षम रहेको उल्लेख गरेकाे दूतावास स्रोतले बतायो।

म्यानमारको नागरिक उड्डयन विभागसँग उडान अनुमतिको प्रक्रिया चलिरहेको जानकारी दिँदै श्रेष्ठले कम्पनीले नयाँ थप्ने जहाजबाट काठमाडौं—यङ्गुन सिधा उडान गर्ने उल्लेख गरे। आन्तरिक तयारी तथा अनुमति प्रक्रिया समयमै पूरा भए यही डिसेम्बर महिनादेखि उडान सुरु हुनेछ।

काठमाडौं–यङ्गुन सिधा उडानले नेपालसँग रहँदै आएको वर्षौं लामो सम्बन्ध नयाँ उचाइमा पुर्‍याउनेछ भने जनस्तरको अन्तरघुलन अझ बढाउनेछ। सिधा उडानबाट नेपालबाट भिक्षु बन्न तथा ध्यान गर्न म्यानमार जाने नेपाली लाभान्वित हुनेछन्। बौद्ध मुलुक म्यानमारबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।

दुई हप्ताअघि राजदूत यु ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसँग भेटघाट गरेका थिए। भेटमा दुई मुलुकबीच सिधा उडान सुरु गर्न पहल गर्ने विषयमा मन्त्री शाही र राजदूत यू सहमत भएका थिए।

काठमाडौं विमानस्थल आधारित भएर अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलान्सले दोहा र कोलम्बो रुटमा एयरबस ३२०-२१४ बाट उडान गर्दै आएको छ।  नयाँ जहाजबाट यङ्गुनका अतिरिक्त काठमाडौंबाट चीनका सहरहरु चेंगदु, ल्हासा र बेइजिङ रुटमा उडान भर्ने हिमालयको तयारी छ। हिमालय एयरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपाली लगानीकर्ताको रहेको छ।

प्रकाशित: १९ आश्विन २०७३ १०:०६ बुधबार

हिमालय काठमाडौं—यङ्गुन सिधा उडानको तयारीमा