काठमाडौँं– करिब रु एक खर्बको खाद्यान्न आयात हुने देशमा यस वर्ष रु एक अर्ब २५ करोडको बीउबिजन आयात भएको छ।
तेलहन र खाद्यन्नबालीमा ७० र तरकारीमा सतप्रतिशत परनिर्भर हुनुपरेको बीउबिजन अधिकृत महेश रेग्मीले राससलाई जानकारी दिए। बीउबिजन केन्द्रको तथ्याङ्कअनुसार नेपाललाई कूल वार्षिक दुई हजार टन बीउको आवश्यकता पर्छ। तरकारीमा सिर्जना जातको गोलभेँडा र मकैमा खुमल हाइब्रिड–२ मा भने नेपाल आत्मानिर्भर भएको पाइन्छ।
गत वर्ष ५४ मेट्रिक टन तरकारी, ७८७ मेट्रिक टन मकै र ९७७ मेट्रिक टन धान आयात गरिएको थियो। सो परिमाणको तरकारी, मकै र धान केन्द्रसँग अनुमति लिएर आयात गरिएको थियो। तीन गुणभन्दा बढी बीउ अनुमति बेगर आयात गरिएको बताइन्छ।
भन्सार विभाग, त्रिपुरेश्वरले आव २०७२/७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका १६ देसबाट दुई लाख ४७ हजार २१२ किलो तरकारीका बीउ आयात भएको उल्लेख छ। आयातित बीउमा काउली, ब्रोकाउली, बन्दागोेभी, भन्टा, भेंडेखुर्सानी, काँक्रा, फर्सी, लौका, घिरौँला, चिचिन्डो, गोलभेँडा, रायो, मुला, गाँजर, धनियाँलगायतका छन्।
इटाली, चिली, अमेरिका, न्युजिल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अष्ट्रेलिया, फ्रान्स, ताइवान, लेवनान, भारत, चीन, जापान, स्वीजरल्यान्ड, इन्डोनोसिया र कोरियाबाट बीय आयात गरिएको हो । यस वर्ष सबैभन्दा धेरै एक लाख ३९ हजार २३१ किलो रु चार करोड बराबरको बीउ भारतबाट आयात तथा अन्य देशबाट रु ३८ करोडको आयात गरिएको छ ।
विश्वमा बीउ उत्पादन गर्ने १० कम्पनीबाट ६७ र नामकहलिएका अन्य तीन कम्पनीबाट ५० प्रतिशत बीउ आयत गरिएको हो। अमेरिकाको मोन्टान्सो विश्वमा सवैभन्दा धेरै बीउ निर्यात गर्ने कम्पनीमा सूचीकृत छ। प्राध्यापक डा. गोपाल शिवाकोटी ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु’ भन्ने उखान हाम्रा पूर्वजले सिकाउदै आए पनि नेपालीले सो उक्तिलाई यतिखेर व्यवहारमा उतार्न नसकेको बताउँछन्। ।
कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की पूर्खाको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक रहेको बताउँछन्। तर आजभोलि विmसान छिटो पाक्ने र धेरै फल्ने बीउको खोजीमा रहेकाले स्वदेशी बीउ क्रमशः विस्थापित भएको उनको भनाइ छ।
पूर्खाले खाद्यान्न तथा दलहन एवम् तरकारी बालीमा पाकेको फलबाट ठूला दाना र स्वस्थ बिँया छनोट गरी पहिले नै जतन गर्दथे। तर अहिले हाइब्रिड जातको बीउमा निर्भर भएका कारण स्वदेशी बीउ प्रशोधन, सङ्कलन तथा जतन एवम् स्वस्थ बियाँको छनोट गर्ने बानी हराउँदै गएकाले बीउमा परनिर्भरता बढ्दै गएको हो।
पूर्खाले खाद्यान्न भण्डारण गर्नु पूर्वनै बीउको जोहो गर्दथे । तर अहिले बजारमा सजिलैसँग बीउ खरिद गर्न सकिने भएपछि रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइनै छोडेको छ । बीउबिजन ऐन २०४५ र बीउबिजन नियमावली २०६९ले बहुर्र्रािष्ट्रय कम्पनीबाट उत्पादित वर्णशङ्कर जातका बीउ खास खास प्रक्रिया पु¥याई नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने सङ्घारमा छन् ।
राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङ्कर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ। बहुर्राष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगर्ना र संरक्षणतर्फ ठोस पहल हुन नसकेकोले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भएका छन्।
नेपालमा निजी क्षेत्रका बीउबिजन कम्पनीले बिना अनुसन्धान अन्र्राष्ट्रिय क्षेत्रबाट आयातित बीउलाई प्याकेजिङ गरेरमात्र बिक्री वितरण गर्ने गरेको पाइन्छ । उनीहरुबाट सतप्रतिशत गुणस्तरीय बीउ आयात हुन्छ नै भन्न नसकिने सरकारी अधिकारीको भनाइ छ। राजाराम कार्की/रासस
प्रकाशित: १८ आश्विन २०७३ १०:४७ मंगलबार