अर्थ

पर्यटन मन्त्री किराँती भन्छनः पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्ने प्रयास छ

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती। तस्बिरः उमेश पुन/नागरिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्ने प्रयास भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा किराँतीले पोखरालाई अन्तर्राष्ट्रिय सहरसम्म हवाई सञ्जालमार्फत जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ,’ उनले भने, ‘चीन र भारतका नेपालका लागि राजदुतसँग मैले कुरा गरेको छु। पोखराको भगिनी सम्बन्ध रहेका नगर सहित चीनको, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास भइरहेको छ। त्यस्तै, भारतका विभिन्न सहरसँगपनि हवाई सम्बन्ध जोड्न कुटनीतिक पहल भइरहेको छ।’ तर यहि मितिबाट अन्तर्राष्ट्रिय उडान हुन्छ भनेर पात्रो हेरेर मिति भने भन्न नसक्ने उनको भनाई छ।

मन्त्री किराँतीले हवाई सम्बन्ध बिस्तारका लागि कुटनीतिक पहल भईरहेपनि परिणाम भने आउन समय लाग्न सक्ने बताए। ‘नागरिक उड्डयन प्राधिकरण समस्याको चाङ माथि छ। जादुको छडी होईन कि भन्ने बित्तिकै रिजल्ट आओस्। तैपनि चाँडै रिजल्ट आउने विश्वास छ,’ उनले भने।

मन्त्री किराँतीले पोखरा विमानस्थलमा आउजाउ गर्न पर्यटकलाई अप्ठेरो परेको गुनासो आएको आफूले सुनेको बताए । यसको समाधानका लागि आफूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म करिब चारकिलोमिटर दुरिसम्म विमानस्थल आफैले सवारी साधन सञ्चालन गर्नेबारे छलफल भइरहेको उनले बताए । ‘सायद चाँडै निर्णय होला,’ उनले भने।

मन्त्री किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताए। ‘म प्राविधिक होईन, कहाँ मुसाले काट्यो? कहाँ कति क्षति पु¥यायो भनेर हेर्ने,’ उनले थपे, ‘मैले निर्देशन दिइसकेको छु कि मलाई बिजनेस प्लान चाहियो। राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम गौरवको बन्नुप¥यो।’ 

उनले हवाई सेवामा सुरक्षाको ग्यारेण्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको बताए। मैले सुन्छु पाईलटले पार्टपुर्जा फेर्नुप¥यो भन्दापनि एकदुई फ्लाईटपछि मात्रै फेरौंला भनेर टार्ने गरेको सुनेको छु,’ उनले भने, ‘तर अब त्यस्तो हुँदैन, हुन दिईंदैन। तोकिएकै मितिमा पार्टपुर्जा फेरिनुपर्छ।’ उनले काम र परिणाम जनताले देख्ने र बुझ्ने गरि ल्याउन निर्देशन दिएको बताए।

मन्त्री किराँतीले माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि सो कम्पनीको जहाज चढ्न डराउने मनोविज्ञान भइरहेकाले त्यसलाई तोड्न आफू यतीकै जहाज चढेर पोखरा आएको बताए। उनले भने, ‘यो जहाज चढ्न आतंकित, भयभित मनोविज्ञान देखिएको छ। यसलाई चिर्न म यतीकै जहाज चढेर पोखरा आएको छु। दुर्घटना एक पटक भयो भनेर सँधै त्यस्तो हुन्छ भनेर सोंच्नु हुँदैन।’फरक प्रसङ्गमा उनले राष्ट्र नै एकढिक्का हुनेगरी राष्ट्रपतिको खोजी भइरहेको बताए। त्यसका लागि सहमतिको प्रयास भइरहेको उनको भनाई थियो।

प्रकाशित: ४ फाल्गुन २०७९ ०८:४४ बिहीबार

हवाई सञ्जाल पोखरा