अर्थ

गाईघाटको तुलसी सहकारीका सञ्चालक भागेको अनुमान,सदस्यहरुको ५० करोड जोखिममा

गाईघाटस्थित सञ्चालक बेपत्ता भएको तुलसी सहकारी भवन। तस्बिरः महेश्वर

सदरमुकाम गाईघाटमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’ का सञ्चालक देश छाडेर भागिसकेको अनुमान गरिएको छ। सातादिनदेखि कारोबार बन्द गरेको सहकारी सञ्चालक केदारनाथ शर्मा मंगलबार भैरहवा नाका हुँदै भारततर्फ भागिसकेको अनुमान गरिएको सरोकारवालाहरुले बताएका छन्।

‘हामीले सञ्चालकको खोजी निरन्तर गरिहेका छौँ, खोजी गर्ने क्रममा शर्मा भैरहवा नाका भएर भारत छिरिरकेको भन्ने अपुष्ट खवर आएको छ’ बचत रकम नदिएपछि घेराउमा परेको सहकारीको विषयमा छानविन गर्न गठित समितिका एक सदस्यले भने ‘यो कुरा अपुष्ट हो तर, पनि सञ्चालक नेपालमा भने कहिकतै नरहेको निष्कर्ष निस्केको छ।’ बाँकेको उढरापुर गाउँपालिका २ स्थायी ठेगाना भएका शर्मा मंगलबार साँझ भैरहवा पुगेको उनीनिकट स्रोतले छानविन समितिलाई जानकारी दिएको ती सदस्यले बताए। शर्मासँगै सहकारीका कानुनी सल्लाहकार, काठमाडौंँ बस्दै आएका शर्माका श्रीमति र छोरा पनि भूमिगत भइसकेको समितिले जनाएको छ।

मुख्य बिराटनगर महानगरपालिका ८ मा रहेको सहकारी सञ्चालक शर्मा त्यहाँबाट महिना दिनदेखि नै सम्पर्कबिहीन भएको बताइएको छ। उनी सम्पर्कबिहीन भएपछि मात्र उदयपुरका बचतकर्ताहरु आफुहरुको लगानी जोखिममा परेको भन्दै रकम फिर्ता गर्न दबाब दिदै सहकारी घेराउमा उत्रिएका थिए। पहिनौँदेखि फिर्ता मागेको बचत नपाईरहेकै बेला मिति उल्लेख नभएको सूचना गत मंगलबार भित्तामा टाँसेर ‘१५ दिनका लागि सहकारीको कारोबार बन्द गरिएको’ जानकारीदिएको भोलिपल्ट बचतकर्ताहरुले सहकारी घेराउ गर्न थालेका थिए। बचतकर्ताको घेराउपछि प्रहरी प्रशासनले सञ्चालकको खोजी गर्दा नभेटेपछि छानविन गर्न थालेको हो।

जिल्ला प्रशासन, प्रहरी, त्रियुगा नगरपालिका, बचतकर्ता प्रतिनिधि र सहकारी कर्मचारी सम्मिलित समितिले प्रारम्भिक छानविनको क्रममा ४ हजार २ सय बचतकर्ताको झण्डै ५० करोड हाराहारी रकम बचत, निक्षेप र शेयर लगानी भएको पाइएको छ। एउटै व्यापारीको ५० हजारदेखि ४ करोडसम्म बचत रहेको सहकारी सञ्चालक शर्मा भागेको हुनसक्ने अनुमान गर्दै खोजी गर्ने क्रममा भैरहवा नाका हुँदै भारत पसिसकेको खवर आएको समितिले जनाएको छ।

त्रियुगा नगरपालिका ११ गाईघाटस्थित हिमाली टोलमा ४ तले पक्की भवनमा कार्यालय रहेको सहकारी र उसकै भगिनी व्यापारिक संस्था ‘गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर’ सञ्चालक तथा अध्यक्ष भनिएका शर्मा सम्पर्कविहीन भएपछि समितिका उपाध्यक्ष, सचिवलगायत पदाधिकारीको खोजी सुरु भयो। तर, सचिव सबिता न्यौपानेबाहेक कोही नभेटिएको छानबिन समितिले जनाएको छ। न्यौपाने लगायत केही व्यक्ति भने बिराटनगर प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

सहरकारीको विषयमा छानबिन गर्न गठित समितिले जिल्ला प्रशासन कार्यालय उदयपुरमा गत आइतबार दुईपक्षीय छलफल राख्दा सचिव न्यौपाने उपस्थित भएको जनाइएको छ। उनले त्यहाँ अध्यक्षसँग सम्पर्क हुन छाडेको बताएको तर, सहकारीले कसैको बचत अपचलन नगरेको भन्दै केही समयलाई आर्थिक मन्दी भएकाले कारोबार रोक्न मात्र खोजे बताएको समितिको भनाइ छ। ‘हामीले कसैको रकम अपचलन गरेका छैनौँ, आर्थिक मन्दी भएकाले केही दिन कारोबार रोक्ने निर्णय मात्र गरिएको हो’ न्यौपानेलाई उद्धृत गर्दै समितिले भन्यो ‘सबै बचत, निक्षेप र शेयर सुरक्षित छ, एकएक गरी पाउनुहुनेछ।’

न्यौपानेको दावी यस्तो रहे पनि छानविन समितिले हालसम्म गरेको अनुसन्धानले  सहकारीको वास्तविक सम्पत्ति दायित्वभन्दा धेरै कम रहेको निश्कर्ष निस्केको छ। कार्यालय रहेको ४ तले भवन, सोही भवनमा रहेको डिपार्टमेन्ट र त्यहाँ मौज्दात सामग्री तथा बिभिन्न ठाउँमा देखाइएको जग्गा जमिनको मूल्यांकनभन्दा बचतकर्तालाई तिर्नुपर्ने शेयर, निक्षेप र फिर्ता गर्नुपर्ने बचत दायित्व धेरै गुणाले बढी हुन आउने त्रियुगा ११ का वडाध्यक्ष सुमन्त कोईरालाले बताए। उनका अनुसार छानविनको क्रममा सहकारीको ४० करोड रकम न्यौपानेको खातामा ‘ट्रान्सफर’ भएको देखिएको र उनको खाताबाट अ्रन्यत्र खर्च भएको प्रारम्भिक जानकारी आएको छ। उनी मोरङ प्रहरीको नियन्त्रणमा रहेकाले बिस्तारै सबै कुरा खुल्दै जाने पनि वडाध्यक्ष कोईराला बताउँछन्।

छानबिन समिति सदस्यसमेत रहेका त्रियुगा नगरपालिका, उ्रद्योग तथा सहकारी शाखा प्रमुख विष्णु खत्रीले बजारमा भनिएजस्तो भवन, जग्गा जमिन र डिपार्टमेन्ट केही पनि तुलसी बहुउदेश्यीय सहकारीको नाममा दर्ता नरहेको बताए। उनका अनुसार सहकारी भवन, डिपार्टमेन्ट स्टोर, त्रियुगा ४ बगाहा र त्रियुगा १५ खाँबुको जमिन सहकारीको नभई अन्यकै नाममा दर्ता रहेको छ। बगाहा र खाँबुको पाखो बारी तुलसी रिसर्च सेन्टर, शिखर अर्गनाईजेसन र नटराज एग्रो प्रालिको नाममा दर्ता पाइएको मालपोत कार्यालयको अभिलेखले देखाएको छ। खत्रीले जे जति जमिन देखिएको छ ती सबको प्रचलित मूल्यभन्दा दसौँ गुणा बढी मूल्यांकन गरेर बैंकबाट ऋण लिएको भन्ने प्रारम्भिक जानकारी आएको तर, यकिन भइनसकेको बताए।

‘बचतकर्ताहरुलाई सुनाइएजस्तो सहकारी, घर, जग्गा, डिपार्टमेन्ट स्टोरजस्ता सम्पत्ति सञ्चालकको नाममा देखिएन’ अधिकृत खत्रीले भने ‘भएका जायजेथा पनि अर्कै कम्पनीको नाममा पाइएको छ। ती कम्पनीहरुमा सञ्चालक भनिएका शर्माको स्वामित्व छ छैन भन्ने कुरा भने पत्ता लाग्न बाँकी भएकाले यसबारे छानबिन गर्दैछौँ।’

सहकारीले बचत रकम अपचलन गरेको कुरा बाहिरिएपछि त्रियुगा नगरपालिकाले उक्त सहकारीको नाममा रहेको जग्गा जमित र चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ। स्थानीय बचतकर्ता सर्वसधारणले नगरपालिकालाई गरेको आग्रह अनुसार न्यायिक समितिको निर्णय अनुसार मालपोत कार्यालयलाई पत्राचार गरी सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढाएको न्यायिक समिति संयोजक उपप्रमुख महेश्वरी राईले बताइन्। उनका अनु्सार माघ २५ गते कुमार घिमिरेलगायत १७ जना बचतकर्ताले सामुहिक निवेदन दिदै बचतकर्ताको रकम असुरक्षित देखिएकाले सञ्चालक शर्मा र उनीसँग सम्बन्धित सहकारीलागयत कम्पनीहरुको नाममा दर्ता रहेका चलअचल सम्पत्ति रोक्का गर्न आग्रह गरे बमोजिम मालपोतलाई आग्रह गरिएको हो।  

प्रकाशित: ३ फाल्गुन २०७९ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App