अर्थ

पोखराका पर्यटन व्यवसायी भन्छन्ः विदेशी पाहुना नआउनुमा आर्थिक मन्दी कारण हुनसक्छ

सिजनको अग्रिम बुकिङको आकार कमजोर

पोखरा फेवातालमा डुंगा सयर गर्दै विदेशी पर्यटक। यहाँका होटलले सिजनका लागि पर्याप्त आकारमा विदेशी पाहुनाको अग्रिम बुकिङ पाउन सकेका छैनन। फाइल तस्बिर/नागरिक

पर्यटकीय सिजन सुरु भएको छ। पर्यटन व्यवसायीले फेब्रुअरी–अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्। त्यही अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखरामा विदेशी पाहुनाको आगमन बढ्थ्यो। फेब्रुअरी १५ पछिको समयलाई त व्यवसायीले पक्का सिजन मान्दै आएका थिए। त्यही अनुसार पाहुनाको अग्रिम बुकिङ आउँदा व्यवसायी मख्ख पर्दथे।  

तर, यो पटक भने पाहुनाको अग्रिम बुकिङ उत्साहजनक रुपमा नआएको व्यवसायीले बताएका छन्। सिजनको बुकिङको आकार न्यून हुँदा व्यवसायीलाई उत्साही बनाउन नसकेको उनीहरुको भनाई छ। टेम्पल ट्रि रिसोर्टका संचालक बसन्त गौतमका अनुसार १५ फेब्रुअरीदेखि पर्यटनको पक्का सिजन सुरु हुन्छ। त्यसपछि बिस्तारै पिकअप लिएर मार्चको पहिलो सातामा पिकमा पुग्ने गरेको थियो। तर, कोरोना भाइरस संक्रमणपछि त्यो गति बदलिएको छ। त्यसैमा पनि यो पटकको गति त झनै कमजोर रहेको उनले बताए।  

उनका अनुसार यो बेलाको पोखराको होटलका सिजनको अग्रिम बुकिङको आकार ५० प्रतिशत भन्दा तलै छ। यो निकै नै थोरै हो। ‘यतिबेलासम्म त अग्रिम बुकिङको आकार पनि ७० प्रतिशतमा उक्लिनुपर्ने थियो। तर,  मुस्किलले करिब ५० प्रतिशत नजिक छ,’ उनले भने, ‘यो सुखद होईन। व्यवसायिक क्षेत्रमा ठुलो मार खेपेको पर्यटन क्षेत्रले अझै सकस खेप्नुपर्ने संकेत देखाएको छ।’  

गौतमका अनुसार अहिलेको पोखराको होटलको अकुपेन्सी अनुपात बढीमा २० प्रतिशत मात्र रहेको छ। समय अनुसार यो आकारको अकुपेन्सी पनि निकै नै कम हो। ‘अग्रिम बुकिङले ७० प्रतिशत र अकुपेन्सी ५० प्रतिशत रहेको भए बल्ल हामीले केही सहज अनूभुति गर्न पाउँथ्यौ, तर, अहिले अकुपेन्सी बढीमा २० प्रतिशत छ। अग्रिम बुकिङ ५० प्रतिशत भन्दा तल नै छ,’ गौतमले भने, ‘व्यवसायी सन्तुष्ट हुने ठाउँ नै रहेन।’

उनका बिचारमा कोभिड संक्रमण सुरु हुन अघिको जस्तो अग्रिम बुकिङले गति लिन नसकेकै हो। २०२३ को अर्काे सिजन (सेप्टेम्बर–नोभेम्बर) देखि पर्यटनमा निकै नै सुधार हुने अपेक्षामा व्यवसायी रहेपनि त्यो समय अझै पछाडि धकेलिने देखिएको गौतमले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली पनि सिजन सुरु भएपनि अग्रिम बुकिङले सन्तोषजनक आकार लिन नसकेको बताउँछन। ‘सिजन सुरु भईसक्दा पनि अग्रिक बुकिङ राम्रो र सन्तोषजनक हुन सकेन। यतिबेला पर्यटक बढ्ने र बुकिङ पनि बढ्दै जानुपर्ने समय हो,’ पराजुलीले भने, ‘तर, त्यो अनुसार देखिएको छैन। मार्च र अप्रिलका लागि पनि राम्रो बुकिङ आउने बेला हो। तर, समय कम हुँदा पनि त्यो अनुसारको पाहुना आउने संकेत देखिएको छैन।’

उनले पनि पोखराका होटलको यो बेलाको अकुपेन्सी करिब २० प्रतिशत मात्र रहेको बताए। ‘यो बेला ५० प्रतिशत अकुपेन्सी पुुग्न सकेको भए बल्ल सिजनको लाभ पाउन सकिन्थ्यो, तर, खर्च पनि धान्न सकस हुने गरि २० प्रतिशतमै रोकिएको छ,’ पराजुलीले भने, ‘होटलको संचालन खर्च धान्न कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा त्यो हुन सकेन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि पदयात्राका लागि आउने पर्यटकको अग्रिम बुकिङ कमजोर रहेको बताउँछ। ‘चिनियाँ पाहुना आउनै पाएनन, त्यसले गर्दा पनि मार परेको छ। चिनियाँ पाहुना आउँदा व्यवसायीलाई राहत मिलेको थियो। तर, कोभिडपछि  चिनियाँले नेपाल आउने अनुमति पाएका छैनन,’ सुवेदीले भने, ‘पदयात्राका लागि आउने पर्यटकको सिजन भएपनि अहिले उत्तिसारो आकार बढेको छैन। यसले व्यवसायीलाई निराश बनाएको छ।’ मुख्य सिजनमा पनि विदेशी पाहुना नआँउदा पर्यटन क्षेत्र उत्साही हुन नसकेको उनले बताए।  

हवाई दुर्घटनापछि एकाएक घटे विदेशी  

पर्यटन व्यवसायीका अनुसार हवाई दुर्घटनाले कुनैपनि मुलुकको पर्यटनमा नराम्रो असर पार्छ। माघ १ गते पोखरामा भएको हवाई दुर्घटनाका कारण पर्यटन क्षेत्रमा पनि उत्तिकै असर परेको। जहाज दुर्घटनाको समाचार अन्तर्राष्ट्रिय मिडियामा छाएकोले पनि त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीले बताउँदै आएका छन्।  

होटल संघका केन्द्रीय सदस्य पराजुली पोखरामा हवाई दुर्घटना हुँदा जापानमा थिए। दुर्घटनाको सन्देश फैलिएलगत्तै जापानमा संचारमाध्यमले पोखराको हवाई दुर्घटनाबारे निकै नै बहस चलाएका थिए। दुर्घटनाको सम्भावित कारणबारे विज्ञ पाइलट र प्राविधिक बोलाएर संचारमाध्यममा बहस चलाएका थिए।  

‘स्थलमार्गको दुर्घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई उत्तिसारो चाँसो हूँदैन। तर, हवाई दुर्घटना बाह्य मुलुकका चर्चाको विषय बन्छ,’ पराजुली भन्छन, ‘पोखरामा भएको दुर्र्घटनाको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा बहसको विषय बनेको थियो। त्यसले पोखराको छवि विगारेको। समग्र नेपालको हवाई उड्डयन क्षेत्रमाथि नै प्रश्नचिन्ह् खडा भएको छ।’

टेम्पल ट्रि रिसोर्टका संचालक गौतम पनि हवाई दुर्घटनापछिको सुरुको तीनसाता त विदेशी पर्यटकको आगमन शुन्यमा झरेको बताउँछन। ‘हवाई दुर्घटनाको सुरुको तीन सातासम्म त पाहुना आगमन शुन्य नै भयो। अब पिकअप लिने देखिएको छ। तर, त्यो गति उत्साहजनक देखिन्न,’ उनले भने, ‘आन्तरिक र भारतीय पाहुना पनि दुर्घटनापछि प्रभावित भएका छन।’  

युद्ध र आर्थिक मन्दी कारण हुनसक्छ  

व्यवसायीको अनुमानमा अहिले तेश्रो मुलुकका पाहुनाको घुमफिर पहिले भन्दा कम भएको छ। घुम्नै चाहेका पाहुना पनि नजिकका गन्तव्यसम्म मात्र गएका छन्। टाढा र खर्चिला गन्तव्यसम्म पाहुना नजाँदाको मार अहिले नेपालको पर्यटनले खेपिरहेको व्यवसायीको विश्लेषण छ। पर्यटन व्यवसायी बसन्त गौतम भन्छन, ‘विभिन्न मुलुकमा युद्ध भईरहनु, कतिपय देशमा प्राकृतिक प्रकोप घट््नु, त्यसबाहेक कोरोना संक्रमणपछि रोजगार गुमाउँदा आयश्रोत कमजोर हुनु लगायतका कारणले पर्यटकीय गतिविधि कम भएको अनुमान छ।’

‘ट्राभल एजेन्सीले पनि अहिले बुकिङ नपाउनुको कारणबारे पर्यटकले लामो दूरीको यात्रा गर्न नै नरुचाएको बताउने गरेका छन,’ गौतमले भने, ‘अत्यावश्यक र नगई छाड्दिन भन्ने गन्तव्यमा मात्र पाहुना गएका छन। नत्र खर्चिला र धेरै समय लाग्ने गन्तव्यसम्मको यात्रा गर्न पर्यटक इच्छुक छैनन।’ 

लामो यात्रामा खर्च बढी हुने भएकोले पनि नेपालसम्मको यात्रा प्रभावित भएको उनको अनुमान छ ‘नेपालसम्मको हवाई यात्रा पनि निकै नै महंगो हुँदा असर पारेको छ कोरोनापछि आम्दानी गुमाउँदाको असर पनि प्रभाव परेको हो,’ उनले भने, ‘विश्वव्यापी रुपमा आर्थिक मन्दी लागेको छ । महंगी बढेको छ । त्यसको कारणले घुमघाममा कन्जुस्याँइ गरेको देखिन्छ।’

होटल संघका केन्द्रीय सदस्य पराजुली पनि आर्थिक मन्दीका कारण पर्यटकको घुमफिर कम भएको अनुमान गर्छ। ‘कतिपय मुलुकमा युद्ध छ। ती मुलुक जलिरहेका छन्। विश्वव्यापी रुपमा महंगी बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढी आर्थिक गतिविधि नै कमजोर बनेका छन। युद्ध, प्राकृतिक प्रकोप र महंगीका कारणले गर्दा पर्यटन क्षेत्र प्रभावित भएको अनुमान छ।’

प्रकाशित: ३ फाल्गुन २०७९ १२:३२ बुधबार

पोखरा विदेशी पाहुना सिजन