अर्थ

आन्तरिक उडानमा सामसङको नोट ७ प्रतिबन्ध

काठमाडौं- मुलुकको उडड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डय प्राधिकरणले सुरक्षाको कारण देखाउँदै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजमा सामसङ ग्यालेक्सी नोट ७ मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ।

प्राधिकरणको निर्णयपछि निजी कम्पनीका वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयर, तारा एयर, सिम्रिक एयरलगायतले बिहीबारबाट उक्त फोन आफ्नो जहाजभित्र लैजान प्रतिबन्ध लगाएको हो।

प्राधिकरणको उडान सञ्चालन शाखाका प्रबन्धक क्यापटेन दीपकुकमार लामाद्वारा हस्ताक्षरित पत्रमा सामसङ ग्यालेक्सी नोट ७ मोबाइल जहाजभित्र लैजान प्रतिबन्ध प्रतिबन्ध लगाएको उल्लेख छ। पत्रमा उक्त मोबाइल अन गर्न वा चार्ज गर्न पनि पाइनेछैन। चेक इन भइसकेको ब्यागमा पनि उक्त मोबाइल प्रतिबन्ध लगएको पत्रमा भनिएको छ।

प्राधिकरणका एक अधिकारीले यात्रु र समग्र उड्डय क्षेत्रलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको नागरिकन्युजसँग बताए। यति एयरलायन्सका बजार प्रबन्धक भीमराज राईले प्राधिकरणको पत्र आएपछि यति र तराका सबै उडानमा सामसङ बोक्न प्रतिबन्ध लगाएको जानकारी दिए।

सामसङ नोट धमाधम पड्किन थालेपछि यसअघि नै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उक्त फोन लैजान प्रतिबन्ध लगाएको थियो।

 

प्रकाशित: १३ आश्विन २०७३ ०७:४४ बिहीबार

आन्तरिक उडानमा सामसङको नोट प्रतिबन्ध