अर्थ

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

ताप्लेजुङ– काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।
केन्द्रिय विद्युत प्रसारण लाइनको व्यवस्थापनका लागि ताप्लेजुुङको साविकको दोखुु गाविसमा बनेको सव स्टेशनका सबै काम सकिए पनि विद्युत प्रवाहको अन्योल कायम रहेको हो। सव स्टेशनमा हुनु पर्र्ने सबै काम सकिए पनि सव स्टेशनसम्म विद्युत छिराउने र बाहिर पठाउने(ईन लुप र आउट लुप)को काम वाँकी रहँदा अन्योलता बढ्दै गएको हो। इन लुप र आउट लुपसहित बाँकी रहेको विद्युत प्रवाहको व्यवस्थापन गर्ने जिम्मा काबेली करिडोरको हो।

यी काम नभए पाँचथरको फिदिमबाट ताप्लेजुुङमा निमार्ण भएको सव स्टेशनसम्म बिद्युत प्रवाह हुन नसकी सदरमुकाम फुुङलिङमा केन्द्रीय बिद्युत प्रसारण लाइन जडान हुन रोकिन्छ। ताप्लेजुुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष रणबहादुर कार्की जटिल र चुनौतीपूर्ण काम सकिए पनि बाँकी मसिना कामले दशैंअघि नै बत्ति बल्नेमा शंका बढेको बताउँछन्। कार्कीले जिम्मेवारी पाएका निकायले कार्य सुचीअनुसार काम गरिदिने हो भने केन्द्रीय विद्युत प्रसारण लाइन जडानमा समस्या नरहेको तर्क गरेका छन्। उनले भदौ १७ गतेको बाढी र पहिरोले क्षति गरेका खोक्सेदेखि सव स्टेशनसम्मको भागको तार–पोलको व्यवस्थापन र यो क्षेत्रको बुुस कटिङको काममा विद्युत उपभोक्ता संस्था र युवा सरोकार समुहले मिलेर काम गर्ने बताए। कार्कीले यो कामका लागि बढीमा ७ दिनको समय लाग्ने जानकारी दिए। ‘बत्ती बाल्ने प्रयासमा सबै निकायको साथ हुने हो दशैं अघिकै समय पर्याप्त हो,’ कार्कीले भने, ‘यसका लागि जिम्मेवारी लिने सबै पक्ष जिम्मेवार भइदिनुु पर्यो।’  

केन्द्रीय विद्युत प्रसारण लाइन जडान युुवा सरोकार समुहका सचिव लक्ष्मीप्रसाद काफ्लेले इनलुप र आउट लुपको काममा रहेको व्यवधान हटाउन काबेली करिडोरलाई आग्रह गरेका छन्। उनले यो काममा ढिलाई गरी विद्युत प्रवाहमा समस्या आए यसको जिम्मा काबेली करिडोरले लिनुु पर्ने बताएका छन्। केन्द्रीय विद्युत प्रसारण लाइन जडानका लागि गर्नुपर्ने ठूला काम सबै सकिएकोले सानो प्राविधिक समस्यालाई उल्झनको रुपमा देखाउन नहुने बताएका छन्।

‘काबेली करिडोरले समस्या देखाउन पाउने मौका छैन,’ काफ्लेले भने, ‘पहिले नै सकिनुुपर्ने काम अहिलेसम्म थाती राखेर उसले त्यहीं गल्ती गर्यो।’ उनले विद्युत प्राधिकरण र स्वतन्त्र विद्युत उत्पादक संघ बीचको सम्झौतामा लिएको जिम्मेवारी काबली करिडोरले गल्ती गरेको आरोप लगाएका छन्।
यता, जिम्मेवारी अनुसारको काम पूरा नभएको आरोप खेपी रहेको काबेली करिडोरले भने प्राविधिक समस्या सल्टाउने बिषयमा आयोजना जिम्मेवारीबाट पछि नहटेको बताएको छ। आयोजना प्रमुुख दीपेन्द्रराज द्विवेदीले पाँचथरको फिदिम र ताप्लेजुुङको काबेलीदेखि सवस्टेशन सम्मको भागमा रहेको अवरोध हटाउन मुल समस्या रहेको जानकारी दिए। उनले जिम्मेवारीबाट करिडोर नपन्छिएको भन्दै अवरोध हटाउन लाग्ने लागत र रहेको समस्याका बारेमा प्राविधिक निरिक्षण भई रहेको जानकारी दिए।

उनले काबेलीदेखि सव स्टेशन सम्मको भागमा खासै समस्या नरहे पनि पाँचथरको फिदिममा लडेका रुख र बिग्रिएका पोलको थप व्यवस्थापन वाँकी चुनौतीको रुपमा रहेको जानकारी दिए। उनले प्राविधिक निरीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र करिडोरले चाल्नुुपर्ने भूमिका प्रष्ट हुुने जानकारी दिए। ‘बोलपत्र नै आवहन गरेर कार्य सम्पादन गनुपर्ने अवस्था आएका प्रक्रिया केही लम्बिन सक्छ,’ द्विबेदीले भने। एकले अर्कोलाई जिम्मेवारी पूरा नगरेको आरोप लगाई रहँदा गएको भदौ पहिलो साता मै जडान भइसक्ने दावी गरिएको केन्द्रीय विद्युत प्रसारण लाइन जडानको कार्य फेरी अन्योलमय बन्दै गएको छ। पछिल्लो समय सव स्टेशनमा ट्रान्सफर्मर जडान सहितका काम भने यसै साता सकिएको छ।

प्रकाशित: १२ आश्विन २०७३ १०:४२ बुधबार

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने