अर्थ

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

फाइल तस्बिर।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन्।

शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन्। उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए।

‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन। आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ’, उनले भने, ‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान्। तर अटोमोबाइल्स विलासिताको वस्तु होइन। यो आवश्यकताको वस्तु हो।’

अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो। तर अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ। राज्यले पूर्वाधार निर्माणमा ठूलो लगानी लगाउँछ।’

उनले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए। नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको पौडेलले बताए। उनले अर्थतन्त्रका बाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए।

 त्यस्तै,नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नयाँ सरकार आएसँगै उत्साह थपिएको बताए। उनले अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको बताए। राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको उनले गुनासो गरे। उनले वर्तमान सरकार आएपश्चात व्यवसायी उत्साही बनेपनी अटो व्यापार ८० प्रतिशतले घटेको गुनासो गरे।  

उनले अटो व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको उनको भनाइा छ।

प्रकाशित: २८ माघ २०७९ ०७:०९ शनिबार

विष्णुप्रसाद पौडेल