अर्थ

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान

काठमाडौँ– रसायनशास्त्रमा नोबल पुरस्कार विजेता इजरायलका नागरिक प्राध्यापक सेच्ट्म्यानले प्राविधिक ज्ञानमा आधारित शिक्षाका माध्यमबाट मुलुकलाई छिटो समृद्धि प्रदान गर्न सकिने बताएका छन्।

विश्वमा शान्ति र समृद्धिको मुख्य साँचो प्राविधिक उद्यमशीलता विषयमा यहाँ साेबार प्रवचन दिँदै उनले भने, “स्वदेशमै उत्पादित प्राविधिकको सहयोगमा उद्योग स्थापना गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ।”

देश विकासका लागि मुख्य रुपमा शिक्षा, कृषि र उत्पादनलाई जोड दिनुपर्ने सल्लाह दिँदै उनले देश विकासका लागि मुलुक भित्रका सबै साधनस्रोतको अधिकतम उपयोग गर्न सक्नु पर्ने बताए।

शुद्ध खानेपानीका लागि मात्रै पनि इजरायलले निकै ठूलो धनराशि खर्च गरिरहेको प्रसङ्ग उल्लेख गर्दै नोबल पुरस्कार विजेता सेच्ट्म्यानले नेपाल जस्तो अथाह जलस्रोत भण्डार भएको मुलुकले जलस्रोत र कृषिबाट निकै लाभ उठाउन सक्ने धारणा राखे।

नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले नोबेल पुरस्कार विजेता वैज्ञानिक सेच्ट्म्यानको प्रवचनबाट नेपालका रसायनशास्त्रका विद्यार्थी र अरु प्रवुद्ध वर्गलाई महत्वपूर्ण ज्ञान र प्रोत्साहन प्राप्त भएको विश्वास व्यक्त गरे।

संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा गरेका अवसरमा सबै नेपालीलाई शुभकामना दिँदै उनले भने, “नयाँ संविधान जारी भएसँगै नेपाल धेरै विकासका सम्भावना बोकेको छ, आगामी दिनमा नेपाल र इजरायलबीचको सम्बन्ध अझै सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्न चाहन्छु।” रासस

प्रकाशित: ३ आश्विन २०७३ १४:३४ सोमबार

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यकः नाेबेल बिजेता सेच्ट्म्यान