अर्थ

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

नगरकोट—नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन्। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए।

अध्यक्ष शाक्यले भने– ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको हो।’

सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यता रहेको उनले बताए।
 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सुनचाँदीजस्तो संवेदनशील व्यवसायसम्बन्धी छुट्टै ऐन नहुँदा जिल्ला-जिल्लामा समस्या रहेको उल्लेख गरेका थिए।

कार्यक्रममा भक्तपुरका दुई वरिष्ठ सुनचाँदी व्यवसायी शाक्यान शाक्य र अष्टबज्र शाक्यलाई सम्मान गरिएको थियो।

यसैबीच सङ्घ साधाण सभाले पद्मसुन्दर शाक्यकै अध्यक्षतामा सर्वसम्मत् १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा वसन्तराज शाक्य, द्वितीय उपाध्यक्षमा विजयरत्न शाक्य, महासचिवमा प्रदीपरत्न शाक्य, सचिवमा अष्टरत्न शाक्य, कोषाध्यक्षमा पद्मसुन्दर शाक्य र सहकोषाध्यक्षमा हेमबज्र बज्राचार्य रहेका छन् । रासस

 

प्रकाशित: २ आश्विन २०७३ ०८:०० आइतबार

सुन किन बिकेन बैंक सरकारले खोजून्