अर्थ

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यही माघ २८ गते हुने भएको छ।उद्योग वाणिज्य संघको भूमिका र महत्व अझ बढाउने मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनाबी मैदानमा उत्रिएका छन्।

चुनाबका लागि चार जना अध्यक्ष नेतृत्वको समूह अहिले उद्योगी–व्यवसायीमाझ मत माग्न व्यस्त छ।जसमा तीन जना अध्यक्ष नेतृत्वको समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। चुनाबी प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट दुईवटा समूह कडा प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसबाट अध्यक्ष गायत्री कटवाल भण्डारी र जीवन पराजुली नेतृत्वको टीम चुनाबी मैदानमा सक्रिय छन्। यस्तै, अध्यक्षकै लागि उम्मेदवारी दिएका कांग्रेस पक्षकै पोखरेलले मंगलबार पराजुली टीमलाई समर्थन गर्ने घोषणा गरे। अर्का कांग्रेस पक्षकै मणिन्द्र कटवाल पनि अध्यक्षका उम्मेदवार छन्।अर्कातिर एमालेका तर्फबाट रञ्जु सिग्देल नेतृत्वको समूह चुनाबी प्रतिस्पर्धामा रहेको छ ।

अध्यक्ष भण्डारी नेतृत्व समूहलाई इटहरीका मेयर समेत रहेका कांग्रेसका नगरसभापति हेमकर्ण पौडेलले विज्ञप्ति नै जारी गरेर पार्टीको समर्थन रहेको जनाएका छन्। मंगलबार पराजुली नेतृत्वको समूहले अलगै भेला गरेर कांग्रेस र एमालेबाहेक अन्य राजनीतिक दल माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र व्यवसायी समूहलगायतको समर्थन रहेको घोषण गरिएको थियो।

उद्योगी व्यवसायीका अनुसार अध्यक्षका उम्मेदवार भण्डारी, पराजुली र सिग्देल नेतृत्वको टीमबाट प्रतिस्पर्धा हुने देखिएको छ। चुनाबी प्रतिस्पर्धामा उत्रिएका समूहले बैंकहरूले लागु गरेको नीतिका कारण व्यवसाय सञ्चालन गर्न गाह्रो परेको अवस्थामा उद्योगी व्यवसायीलाई प्रतिफल दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेर मतदाता आफ्नो पक्षमा पार्ने रणनीति अप्नाएका छन्।

प्रकाशित: २५ माघ २०७९ ०१:०६ बुधबार