अर्थ

एक इन्जिनका भरमा सीताको जहाज अवतरण

काठमाडौं- निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरको एउटा जहाजले बिहीबार मध्याह्न एउटा इन्जिनको भरमा लुक्लाबाट काठमाडौं सफलतापूवर्क उडान गरेको छ। नियमित उडान तालिकाअनुसार बिहीबार बिहान साढे ७ बजे काठमाडौंबाट १४ यात्रु बोकेर लुक्ला गएको '९एन–एएचआर' कलसाइन भएको १८ सिटे 'डोर्नियर–२२८' जहाजको फर्किने बेलामा बायाँ इन्जिनमा समस्या आएको सीताका प्रवक्ता घनश्याम आचार्यले बताए। जहाजलाई क्याप्टेन दीपककुमार शाहले उडाएका थिए।

'बायाँ इन्जिनमा आयल प्रेसर इन्डिकेसन देखाएपछि त्यो इन्जिनले काम नगर्ने भयो,' आचार्यले नागरिकसँग भने, 'त्यसपछि इन्जिनियर तथा प्राविधिकको टोलीले  दायाँ इन्जिनको भरमा 'फेरी फ्लाइट' गर्न सकिने सुझाव दिएपछि एउटा इन्जिनको भरमा उडाएर काठमाडौं ल्यायौं।'

उनका अनुसार जहाजको बायाँ इन्जिन बिग्रिएपछि इन्जिनियर तथा प्राविधिकको टोली काठमाडौंबाट हेलिकोप्टरमा लुक्ला पुगेका थिए। त्यण्सपछि उनीहरूले काठमाडौं गएरमात्र जहाज मर्मत गर्न सकिने बताएपछि दायाँ इन्जिनको भरमा फेरी फ्लाइट गरी जहाज काठमाडौं ल्याइएको थियो।

'फर्किंदा भने जहाजमा इन्जिनियर र प्राविधिक टोलीमात्र थियो,' आचार्यले भने, 'जहाज मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। आवश्यक मर्मतपछि जहाज नियमित उडानमा फर्कने छ।'

प्रकाशित: ३१ भाद्र २०७३ ०३:०३ शुक्रबार

इन्जिनका भरमा सीताको जहाज अवतरण