अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा तारवार सुरु

पोखरा—पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ।

कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी जमीनको तारवार लगाउन बाँकी भाग र पछि थप गरिएएको ६२९ रोपनीको पूरै जग्गामा तारवार लगाउन सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए।

कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन पनि बनाउन सुरु गरेको र आगामी कात्तिक ४ गतेसम्ममा ती सबै अस्थायी भवन बनाइसक्ने इन्जिनियर सापकोटाले जनाए।

ठेकेदार कम्पनीले विमानस्थल निर्माणको प्रारम्भिक डिजाइन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाइसकेको छ। विमानस्थल निर्माणका लागि चाहिने आवश्यक उपकरण कम्पनीको मुख्य कार्यालयबाट लोड गरिसकिएको र अब केही दिनमा निर्माणस्थलमा आइसक्ने बताइएको छ।

मुलुककै गौरवशाली आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ। रासस

प्रकाशित: २९ भाद्र २०७३ ११:२१ बुधबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा तारवार सुरु