अर्थ

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

गत वर्ष यतिबेला खेतबारीमा लगाइएका गहुँ/जौंले बाला हाल्न सुरु गर्थे। समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन। तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन्। लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन्। त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ। त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ। जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ।

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका-५ का इन्द्रबहादुर खत्रीले बताए। उनले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउ समेत उत्पादन नहुने चिन्ता पोखे।

खत्रीले भन्छन्,‘यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछ कि भनेर आकाशतिर हेर्‍यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले। आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ।’

गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ। ढोरपाटन, तमान र ताराखोलामा जौं उत्पादन हुन्छ।

जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिंचाइ गर्न नसक्दा सुक्दै गएको बताए। शर्माले पाखो बारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको बताए।

‘खेतमा अलिअलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो, पोहोरपरार पानी पर्थ्यो, बाली राम्रै हुन्थ्यो, यसपालि खोई धेरै समय भयो पानी परेकै छैन’, शर्माले भने,‘पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाउने सम्भव छैन, अब एक सातासम्म पानी नपरेर यस्तै घाम लागिरहे गहुँ सबै सुक्छ।’

बागलुङमा कूल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङको आकलन छ। केन्द्रका सूचना अधिकारी कुमार पुन सिंचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको बताउँछन्।

पुन भन्छन्, ‘कृषकले गहुँ लगाएपछि लामो समय खडेरी पर्‍यो, सामान्यतया गहुँ लगाएको दुईतीन हप्तामा राम्रो सिंचाइको आवश्यकता हुन्छ। तर, यस वर्ष त्यो हुन सकेन, यसले गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ।’

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाइन्छ। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार एकसय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ सहज छ।

खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिंचाइको सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन्। रासस

प्रकाशित: २१ माघ २०७९ ०२:०७ शनिबार

भोकमरीको चिन्ता बढेको सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती