अर्थ

नेपालको प्रचार गर्न नवनियुक्त राजदूतलाई आग्रह

काठमाडौं- निजी क्षेत्रले नेपालमा प्रचूर सम्भावना भएका गन्तव्यको विदेशमा प्रचार गर्न नवनियुक्त राजदूतहरुलाई अनुरोध गरेको छ। नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, अस्ट्रिया र ब्राजिलका लागि सिफारिस भई जाने क्रममा रहेका राजदूत क्रमशः रमेश खनाल, प्रकाश सुवेदी र ताराप्रकाश पोखरेलसँग सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीले यस्तो अनुरोध गरेका हुन्। 

छलफलमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा जान लागेका राजदूतलाई नेपालमा प्रचूर सम्भावना भएका क्षेत्रको प्रचारप्रसार गर्न र त्यहाँबाट लगानी आकर्षित गर्न पहल गर्न अनुरोध गरे। ती देशमा नेपाली व्यवसायीको दक्षता र अनुभवका आधारमा उनीहरुलाई व्यवसाय विस्तार तथा प्राविधिक सेवाका क्षेत्रमा काम गर्ने वातावरण निर्माणमा सहयोग गर्न पनि शर्माले आग्रह गरे। 

अहिलेको प्रतिस्पर्धी र विश्वव्यापी बजारमा सूचना नै सबैभन्दा ठूलो व्यवसायिक उपकरण भएकाले नेपाली राजदूतले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सूचना तथा जानकारी नेपाली उद्योगी व्यवसायीलाई उपलब्ध गराउन सहयोग गर्नुपर्ने उद्योगीको भनाइ थियो।

…खास के के कानुनी विषयमा सम्बोधन भए वा के कस्ता सहुलियत र सुविधा पाए त्यहाँका लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन् भन्ने विषयमा नेपाली राजदूतावासले गहन अध्ययन गरेर सोही अनुसार नेपाल सरकारलाई सुझाव दिनुपर्छ,’ शर्माले भने।

परिसंघका उपाध्यक्ष सतिश मोरले नवनियुक्त राजदूतले परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतिमा जोड दिएर मुलुकमा लगानी, प्रविधि तथा सीप र अनुभव भिœयाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

ब्राजिलमा जलविद्युतका क्षेत्रमा भएको प्रविधि विकास र अनुभवका साथै जर्मनीलगायत युरोपेली देशले प्रविधि र पूर्वाधार क्षेत्रमा हासिल गरेको सफलता नेपालमा बढी सान्दर्भिक भएकाले त्यस्ता प्रविधि र अनुभव नेपाल भिœयाउन कूटनीतिक नियोगले विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।

छलफलमा सम्बन्धित देशसँगको द्विपक्षीय लगानी तथा व्यापार र आर्थिक कूटनीतिक सम्बन्ध विस्तारका विषयमा परिसंघ आबद्ध उद्योगी, व्यवसायी र प्रस्तावित राजदूतबीच छलफल भएको थियो।

राजदूतले अहिलेको परिस्थितिमा आर्थिक कूटनीति नै प्राथमिकतामा रहेकाले उद्योगी व्यवसायीलाई सन्देह नगर्न आग्रह गरेका थिए।

अस्ट्रियाका लागि नियुक्त राजदूत प्रकाश सुवेदीले भियनामा रहेको संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संस्था (युनिडो) मार्फत नेपालको औद्योगिक प्रवर्द्धनका लागि सम्भव भएसम्म सहयोग उपलब्ध गराउन प्रयत्न गर्ने बताए।

जर्मनीका लागि नियुक्त राजदूत रमेश खनालले त्यहाँबाट नेपालको पूर्वाधार विकासका लागि आवश्यक प्रविधि, उपकरण र अनुभव भिœयाउन लागिपर्ने बताए। ब्राजिलका लागि नियुक्त ताराप्रकाश पोखरेलले जलविद्युतको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सबै राजदूतले द्विपक्षीय व्यापारिक तथा सद्भाव भ्रमण आदानप्रदान गर्न र परिसंघले आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा सहभागी पठाउन सहयोग गर्ने बताए।

प्रकाशित: २१ भाद्र २०७३ ०४:२९ मंगलबार

नेपालको प्रचार गर्न नवनियुक्त राजदूतलाई आग्रह