अर्थ

नेपालगन्जबाट निर्यात बढ्यो

मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ। नेपालगञ्ज भन्सारबाट चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा गत आर्थिक वर्ष (२०७८/७९) कोभन्दा दुई करोड ६० लाख बढीको सामान निर्यात भएको छ।

गत वर्षको पुस मसान्तसम्म नेपालगन्ज भन्सारबाट ९७ करोड तीन लाख तीन हजार रूपैयाँको वस्तुहरू निर्यात भएकोमा यस वर्षको पुससम्म ९९ करोड ६३ लाख नौ हजार रूपैयाँका वस्तुहरू निर्यात भएका छन्। जुन गत वर्षभन्दा दुई करोड ६० लाख ६ हजार रूपैयाँ बढी हो।

नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा उखुको छोक्रा, रिट्ठा, दालचिनी, खयर खच्छको निकासी बढेको छ। यसैगरी, खोटो रोजिन र जडीबुटीको निकासी पनि गत वर्षको तुलनामा बढेको पाइएको छ। नौनी, घ्यु, अलैँची, वनस्पति सार, तोरीको तेल, चोकर, भुस, पिना, स्पोर्ट्स सुज र फलामे पत्रुको निर्यात भने शून्यमा झरेको छ। नेपालगन्ज भन्सारको तथ्यांकअनुसार नेपालगन्ज नाकाबाट सबैभन्दा बढी मूल्यको निर्यात हुने वस्तुमा खोटो रोजिन पर्दछ।

गत वर्ष पुस मसान्तसम्म २६ करोड तीन लाख १३ हजारको खोटो रोजिन निर्यात भएकोमा चालु आर्थिक वर्षमा ५ दशमलव ४१ प्रतिशतले बढेर २७ करोड ४४ लाख आठ हजार हजार मूल्य बराबरको निर्यात भएको छ। चालु आर्थिक वर्षमा निर्यात वृद्धि भएको वस्तुमा उखुको छोक्रा रहेको छ। जुन ३४६ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पुस मसान्तसम्म १० लाख १६ हजारको उखुको छोक्रा निर्यात भएकोमा यस वर्ष ४५ लाख ३६ हजार बराबरको निर्यात भएको छ।

यसैगरी, रिट्ठाको निर्यातमा ३१४ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ भने दालचिनी २६९ दशमलव ८७ प्रतिशत, खयर खच्छको २१७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ। रिट्ठा तीन करोड ६७ लाख ६ हजार रूपैयाँको, दालचिनी ६८ लाख ६६ हजार रूपैयाँको, खयर कच्छ एक करोड ११ लाख ६७ हजार रूपैयाँको निर्यात भएको छ। चालु आर्थिक वर्षमा जडीबुटीको निर्यात १४ दशमलव ०८ प्रतिशतले बढेर २५ करोड ५२ लाख ९७ हजार बराबर पुगेको छ।

निर्यात बढेसँगै व्यापार घाटा पनि गत वर्षको यस अवधिको भन्दा कम भएको छ। गत वर्ष पुस मसान्तसम्म ९७.६८ प्रतिशत व्यापार घाटा थियो भने यस वर्ष ९६.९४ प्रतिशत रहेको छ। पुस मसान्तसम्म ३२ अर्ब ५६ करोड ९३ लाख ३३ हजार बराबरको वस्तु आयात भएको छ। भन्सारले राजस्व लक्ष्य भने पुर्‍याउन सकिरहेको छैन। पुस महिनामा लक्ष्यको ८४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।

दुई महिनामा तीन करोडको प्लाइउड निर्यात

नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्षबाट प्लाइउड पनि भारत निर्यात हुन थालेको छ। चालु आर्थिक वर्षबाट निर्यात हुन थालेको प्लाइउड निर्यात हुने वस्तुको सूचीमा पहिलो सात नम्बरमा रहेको छ। पुस मसान्तसम्म तीन करोड २५ लाख २३ हजार बराबरको प्लाइउड भारत निकासी भएको छ।

बाँकेबाट शिखर प्लाइउडले पहिलो पटक यसै वर्षदेखि भारततर्फ प्लाइउड निकासी गर्न थालेको हो। सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट प्लाइउड भारत निकासी गर्न थालिएको छ।

शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले कम्पनीले युकालिप्टिस र पोपलरका तीन लाख विरुवा लगाएको बताए। यसका साथै किसानले करिब दुई करोड बिरुवा लगाएका उनले बताए। कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि बाँकेबाट तयारी प्लाइ भारत पठाउन सकिएको बोथरा बताउँछन्।

यसैगरी गत वर्षको पुस मसान्तसम्म निर्यात शून्य रहेको सुठो, वनस्पति उत्पादन र वेत ताड पनि यसवर्षको पुस महिनासम्ममा निर्यात भएको छ। 

प्रकाशित: १९ माघ २०७९ ०२:१८ बिहीबार

दुई महिनामा तीन करोडको प्लाइउड निर्यात मुलुकको समग्र निर्यात व्यापारमा गिरावट