अर्थ

पर्यटकीय ‘हब’ बन्दै गाजाको दह

अग्लो पहाड। पहाडको बिचमा दह, मन्दिर र घरहरू। शान्त वातावरण र स्वच्छ हावापानी। योे गाजाको दहको पहिचान हो। हिउँदमा हिउँ खेल्नेहरूको र बर्खामा गर्मी छल्न आउनेहरूको यहाँ भीड नै लाग्ने गर्छन्। बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जिल्लाको जैमिनी नगरपालिका-३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ।

प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ र गलकोट नगरपालिका तथा बरेङ गाउँपालिकाको संगमस्थल हो। दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाको दहमा पुग्ने जो कोही पनि मोहित हुने गर्छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटर टाढा रहेको गाजाको दहमा चार घण्टाको पैदल र डेढ घन्टाको गाडीको यात्रामा पुग्न सकिन्छ। प्रत्येक याममा यहाँको सुन्दरता फरकफरक देख्न सकिन्छ। गाडीमा भन्दा पैदल घुमफिर गर्दा रोमाञ्चक बन्छ।

वन, पाखा, खोला, झरना, गाउँले जीवनशैली र दर्जनौं हिमशृंखलाले मनै लोभ्याउँछ। बागलुङ नगरपालिका-८ सिगाना, बौंडेचौर, रेशको चापखर्क हुँदै यहाँ पुग्दा घनाजंगल पर्दछ। अझ यहाँ रहेको दहले धेरैलाई आकर्षित गर्छ। दह वरपरका परम्परागत घर अहिले पनि देख्न सकिन्छ। गाजा दह क्षेत्रको प्रचार-प्रसार र पूर्वाधार निर्माणमा चासो नदिंदा ओझेलमा पर्न थालेको स्थानीय गोपाल छन्त्यालले बताए।

दहसँगै यहाँ बराह थान पनि रहेको छ। यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने थापा बताउँछन्। खासगरी यहाँ हरेक वर्ष वैकुण्ठ चतुर्दशीमा मेला लाग्ने र मेलामा देशभरबाट पर्यटक आउने गरेको उनको भनाइ छ। थापाले यहाँ पर्यटक आकर्षित गर्ने संरचना बन्न नसकेकाले पर्यटक बढाउन नसकेको बताउँछन्।

‘अहिले जति पनि पर्यटक आउँछन्, उनीहरू पुरानै प्रचारले आएका हुन्, पछिल्लो समय गाजाको दहको प्रचारप्रसारमा कमी छ, यति महत्त्वपूर्ण र रमणीय ठाउँ छन्, पर्यटक बढाउन सकिएको छैन’,छन्त्यालले भने, ‘प्रचार कम छ, यहाँ नयाँ संरचना पनि खासै बनेका छैनन्, प्रचारप्रसार व्यापक बनाउने र यहाँ पूर्वाधार निर्माण गर्न सक्ने हो भने वर्षमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ।’

पहिलेको तुलनामा केही परिवर्तन आएपछि गाजा दहमा पर्यटकीय आकर्षण बढेको उनको भनाइ छ। विद्यार्थी, कर्मचारी तथा जनप्रतिनिधि पनि समय-समयमा अवलोकन भ्रमणका लागि आउने गरेको उनी बताउँछन्। पछिल्लो समय खानबस्नको राम्रो व्यवस्था भएपछि रातमा पनि घुम्न आउने बढेको छन्त्याल बताउँछन्।

सडकको पहुँच पुगे पनि निकै जोखिमपूर्ण छ। धेरैले जोखिमपूर्ण यात्रा गर्न रुचाउँदैनन्। गुल्मीको शान्तिपुरबाट घुम्न आएका प्रवेश क्षेत्रीले सडकको स्तरोन्नति गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने बताए। ठाउँ निकै रमणीय भए पनि यसको प्रचारप्रसार र भौतिक संरचना बनाउन सके बाह्य पयर्कटलाई समेत आकर्षित गर्न सकिने उनले बताए।

क्षेत्री भन्छन्, ‘फोटो र भिडियोमा निकै सुन्दर देखिन्छ गाजाको दह, म पनि भिडियोमा देखेर घुम्न आएको हुँ, ठाउँ त धेरै रमाइलो रहेछ। तर, बाटो निकै अप्ठ्यारो रैछ, बाटोमा जोखिम मोल्दै आए पनि यहाँ आएर देखिने दृश्यले त्यो दुःख भुलाइदिंदो रैछ, तर यहाँको विकास गर्न धेरै बाँकी रैछ, सडक मात्रै पनि राम्रो भयो भने यहाँ आउन सहज हुने थियो।’

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाजाको दहको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण योजना बनाएर लागेको बताए। उनले यो ठाउँ ऐतिहासिक भएको भन्दै यहाँका संरचना तथा दहको संरक्षणका लागि विगतदेखि नै काम गर्दै आएको बताए। यहाँको दहमा बाह्रै महिना पानी हुने र यहाँ देखिने छायाँले धेरैलाई आकर्षित गर्ने गरेको उपप्रमुख शर्माको भनाइ छ।

उपप्रमुख शर्मा भन्छन्, ‘यो ठाउँ धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ, हरेक वर्ष यहाँ टाढाटाढाबाट पूजा-आजा गर्न भक्तजन आउँछन्। यस्तो महत्त्वपूर्ण क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ, अहिलेसम्म केही आधार तयार भएको छ, यसको थप विकासका लागि गुरुयोजना बनाएर पूर्वाधार निर्माण गर्ने चरणमा छौं।’

अहिलेसम्म यहाँ खानेपानी, मन्दिर व्यवस्थापन, शौचालय तथा सडक निर्माणको काम गरिसकेको र अन्य संरचना निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने उपप्रमुख शर्मा बताउँछन्। यस वर्ष थप संरचना निर्माणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको शर्माले बताए। यस क्षेत्रलाई पर्यटकीय हब बनाउन निजी कम्पनीसँग सहकार्य गर्ने उनको भनाइ छ। रासस

प्रकाशित: १८ माघ २०७९ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App