अर्थ

बिहानै आलु बोकेर सदरमुकाम पुग्छन् पातारासीका महिला

आलु बेच्दै पातरासीका महिला ।तस्बिर: गोल्डेन/नागरिक

जुम्लाका पातारासी–७ रिनी गाउँकी हरिकला बुढा एकाबिहानै आलु पिठ्युँमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन्। उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ। घरबाट बजार पुग्न झन्डै एक घन्टा बढी हिँड्नुपर्छ। उनले सात रोपेनी जग्गामा आलु खेती गरेकी छन्। दैनिक दिन बजारमा आलु बेच्न आउनु उनको दैनिकी नै हो।

उनी एक उदाहरण मात्र हुन्। उनीसँगै गाउँका दर्जनौं महिला बजारमा आलु बेच्न आउँछन्। ‘बिहान पाँच बजे घरबाट बजारका लागि हिँड्छौं’, हरिकलाले भनिन्, ‘८÷९ बजे आलु बेचेर घर फर्किहाल्छौं। घाम, पानी, चिसो, गर्मी केही नभनेर आलु बेच्न आउने गरेका छौं।’ अहिले उनीहरूले ल्याएको आलु बजारका चोकचोक, तरकारी पसल र होटेलहोटेलमा किनबेच हुन्छ।  

आलु खेती गरेर पातारासी– ७ रिनीका एक परिवारले न्यूनतम ५० हजारदेखि १ ÷२ लाखसम्म वार्षिक आम्दानी गर्ने गर्छन्। आलुखेती गरेरै यहाँका महिला जीवनयापन गर्दछन्। यहाँको वर्षभरिको घर खर्च टार्ने खेती भनेको आलु हो, तर घरमा उत्पादन गरेको आलु बजारमा नल्याई सुख छैन। हरिकलाले भनिन्, ‘माघ महिनाको चिसो बरफमा बाटो अफ्ठ्यारो छ, तर कुनै प्रवाह नगरी आलुका भारी बोकेर बजार ल्याउने गरेका छौं।’ बजार अभावले आलु बेच्ने ठाउँ नभएको र दुई घन्टा डुलेपछि मात्र सबै आलु बिक्ने उनले बताइन्। घरघरै आलु बेच्न नहिँडे घरमै सडेर जाने भएकाले बजारका गल्लीगल्लीमा तरकारी बेच्न हिँड्नुपरेको उनको भनाइ छ।  

एक दिन एक हजार एक सय ७५ रूपैयाँबराबरको आलु बिक्री गरेको हरिकलाले बताइन्। उनले भनिन्, ‘आलु २५ रूपैयाँ प्रतिकेजीमा बेच्नुपर्ने बाध्यता छ, नत्र कुहिन्छ। आलु बेचेको पैसाले घर खर्च चलाउन सजिलो भएको छ। घरमा चुलो बलेको छ। राहतका लागि कसैसँग मुख ताक्नुपरेको छैन।’

यसैगरी रूपा खड्काले आलु बेच्न जुम्ला बजार आउनुको विकल्प नरहेको बताइन्। उनले भनिन्, ‘गाउँमा बजार छैन। आलु नबेच्ने हो भने घरव्यवहार चलाउन मुस्किल हुन्छ।’ आलु बेचेरै एउटा छोरी पढाएको उनले बताइन्। उनले भनिन्, ‘घरनजिकै बाटो पुगे पनि वर्षायामको हिलो र हिउँदमा बरफ जम्ने भएकाले पिठ्युँमा भारी बोकेर बेच्नका लागि बजार आउनैपर्छ। अहिले आलु नबेच्ने हो भने बारीमै कुहिन्छ।’

सम्झना खड्काले बिहान ५ बजे पिठ्युँमा आलुका भारी बोकेर हिलाम्य बरफमा हिँडेका भरमा बजार आइपुग्ने र आलु बेचेको पैसाले घर खर्च सञ्चालन गर्दै आइरहेका बताइन्। उनले भनिन्, ‘घरमा छोराछोरीका लागि कापी र कलम, बिहान–बेलुका छाक टार्नका लागि नुन, तेल र चामल किन्ने गरेको छु।’ सम्झनासँगै बस्ने चुटुकला भन्छिन्, ‘बजारमा तरकारी बोकेर घुम्दै बेच्ने र चाँडै बिक्री भए समयमै घर जाने गरेका छौं।’

हरिकला, रूपा, सम्झना र चुटुकलाहरू वर्षायाममा तरकारी, काउली, प्याज, टमाटर, गाँजरलगायतका तरकारी बेच्न सदरमुकाम धाउने गर्छन्। आफ्नो खेतबारीमा उत्पादित तरकारी बिक्री गरेर कमाएको पैसाले जीवन चलाउने गरेको उनीहरूको भनाइ छ।  

चन्दनानाथ नगरपालिका– ४ खड्क थापाले घरमै आलु किन्न पाउँदा धेरै खुसी लागेको बताए। ‘घरमै छानेर ताजा आलु पाउँदा धेरै सजिलो भएको छ’, उनले भने, ‘महिलाहरू घरघरमै आएर आलु नबेच्ने हो भने आलु पाउन मुस्किल हुने देखिन्छ।’ बजारमै प्रतिकेजी २५ रूपैयाँमा किसानले घरमै आलु ल्याएको भन्दै ताजा आलु तरकारी खाने गरेको बजारका स्थानीय बताउँछन्। यता कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७८÷०८९ मा २७ हजार मेट्रिकटन आलु उत्पादन भएको छ।

प्रकाशित: १८ माघ २०७९ ०२:२४ बुधबार