अर्थ

ताप्लेजुङमा ६ महिनामा २३ करोड राजश्व संकलन

चालू आर्थिक बर्ष २०७९/०८० को ६ महिने अवधिमा ताप्लेजुङमा २३ करोड बढी रकम राजश्व संकलन भएको छ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार सबैभन्दा बढी रकम अनुदान फिर्तामार्फत राजश्व खातामा जम्मा भएको छ। अनुदान फिर्ता बापत १६ करोड ५८ लाख ८९ हजार ५ सय ६५ रुपैयाँ जम्मा भएको छ।

कोलेनिकाका लेखापाल नवीन खनालका अनुसार त्यसपछि बेदर्तावालबाट गरिने मूल्य अभिवृद्धि कर असुली रकम बापत २ करोड ३० लाख ३६ हजार ७ सय ६४ रुपैंया र निकासा फिर्ता बापत २ करोड ११ हजार ३ सय ४६ रुपैयाँ जम्मा भएको छ। यस्तै यो अवधिमा पुँजीगत लाभकर बापत ८४ लाख ६ हजार ४ सय २३ रुपैंया र बेरुजु बापत ५२ लाख ९८ हजार ५ सय ६५ रुपैयाँ असुली भएको कोलेनिकाले जनाएको छ।

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर बापत ३६ लाख २३ हजार ३ सय ८६ रुपैयाँ र पारिश्रमिक कर बापत २७ लाख २३ हजार ३ सय ३६ रुपैयाँ असुल भएको छ। एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर बापत १५ लाख १४ हजार ८ सय ५७ रुपैयाँ असुल भएको छ। 

कोलिनिकाका अनुसार न्यायिक जरिवाना बापत ६ लाख ८३ हजार ७ सय ४० रुपैयाँ, अन्तःशुल्क मदिरा बापत ६ लाख ५५ हजार २ सय ५० रुपैयाँ, धरौटी बापत ५ लाख ६८ हजार ३ सय रुपैयाँ र परामर्श तथा ठेक्का बापत ३ लाख ८९ हजार ९ सय २६ रुपैयाँ राजश्व असुल भएको छ। यस्तै सम्पत्ति, बहाल तथा पट्टा बापतको आयमा लाग्ने कर बापत १ सय ४७ हजार ७ सय २३ रुपैंया राजश्व असुल भएको छ।

कोलेनिकाका अनुसार अहिले सम्म सबैभन्दा अन्य प्रशासनिक सेवा शुल्क बापत २ सय रुपैयाँ त्यसपछिको कम आकस्मिक लाभकर बापत १ हजार ५ सय रुपैयाँ संकलन भएको छ।

प्राइभेट लिमिटेड कम्पनीबाट असुल हुनुपर्ने निकायको मुनाफामा लाग्ने कर, स्वास्थ्य सेवा कर,साना सवारीमा लाग्ने सवारी साधन कर, अन्य निकायबाट प्राप्त लाभांश, परीक्षा शुल्क, कम्पनी रजिस्ट्रेसन दस्तुर बापत र पर्यटन सेवा शुल्क सहितको शीर्षकमा कुनैपनि रकम असुल भएको छैन।

प्रकाशित: १७ माघ २०७९ १०:१४ मंगलबार