पोखराको समता शिक्षा निकेतनमा कार्यरत उमेश रेग्मी बेलाबेला काठमाडौं गइरहन्छन्। यात्रामा निस्कँदा उनी हत्तपत्ति बस चढ्दैनन्, पाएसम्म साना सवारीमा यात्रा गर्छन्। किनभने उनी साना सवारीमा चढ्न पाए तोकिएको समयमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने सोच्छन् तर सोचेजस्तो कहिल्यै हुँदैन।
तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्नुको कारण हो-पृथ्वी राजमार्गको पोखरा–मुग्लिनको पोखरा-आँबुखेरेनी (८० किमि) सडकमा कहाँ कतिबेर रोकिनुपर्ने निश्चित छैन। बिस्तारको क्रममा रहेको यो राजमार्गमा कुनै पनि बेला कहीं पनि रोकिनुपर्ने हुनसक्छ र रोकिएका पनि छन्। यात्राको क्रममा उनी सधैंजसो पोखरा-मुग्लिन खण्डमा कहीँकहीँ रोकिएकै हुन्छन्। रोकिएको यात्रा कहिले तत्कालै खुल्छ भने कहिले घन्टौ ठप्प हुन्छ। रेग्मी मात्र नभई स्थलमार्ग हुँदै ओहोरदोहोर गर्ने सबै यात्रुले यस्तै झन्झट बेहोरिरहेका छन्।
पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भइरहेको छ। पहिलो पूर्वीखण्ड आँबुुखैरेनी-जामुने ४१ किलोमिटर र दोस्रो पश्चिमखण्ड जामुने-पोखरा ३९ किलोमिटर बिस्तार गरिँदैछ। ठेक्का सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हुन्छ। पूर्वी खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताको भएको दुई वर्ष बितिसके पनि पूर्वी खण्डको काम १४ र पश्चिम खण्डको जम्मा ४ प्रतिशत काम भएको छ। सम्झौता अनुसार सन् २०२४ मध्यसम्ममा काम सकिनुपर्ने हुन्छ।
राजमार्ग बिस्तार सुरु हुनुअघि पोखरा–मुग्लिनको ९० किलोमिटर खण्ड पार गर्न बढीमा तीनघण्टा लाग्थ्यो। निजी गाडीमा त अढाइ घण्टामै पार भइन्थ्यो। पोखरा-काठमाडौं (२ सय किलोमिटर) सडक पाँच घण्टामै पूरा हुन्थ्यो तर अहिले पोखरा-मुग्लिन खण्ड नै पार गर्न कम्तिमा पाँच घण्टा र काठमाडौं पुग्न थोरैमा पनि आठ घण्टा लाग्छ। कहिलेकाहीँ त यो यात्रा अवधि १२–१३ घण्टासम्म पनि लम्बिन्छ। वर्षाका बेलाको त यो यात्रा अवधि झन् अनिश्चित बन्छ।
...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ देखि सञ्चालनमा आयो । अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अहिलेसम्मको शैली पुरानो विमानस्थलको झैं देखिन्छ। अहिले पनि दिउँसो चार बजेपछि पोखराबाट हवाई उडान हुँदैन। फेब्रुअरी अन्तिमदेखि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रीकालीन हवाई सेवा सुरु हुने भनिएको छ तर केहीदिन अघि पोखरामा भएको हवाई दुर्घटनापछि रात्रीकालीन उडानबारे पनि आशंका उब्जेको छ।
पोखराको पुरानो विमानस्थलबाट वर्षाैदेखि भइरहेको उडान-अवतरण अन्तर्राष्ट्रिय विमानस्थलमा सरेको मात्र हो तात्विक भिन्नता नदेखिएको पोखरेलीको गुनासो छ। त्यसैमाथि हवाई दुर्घटना पछि पोखराबाट हुने हवाईउडान संख्या पनि निकै नै घटेका छन् भने यात्रु पनि आधा संख्यामा झरेका छन्। पोखरेलीहरूमा हवाई यात्रा पूरै जोखिमयुक्त छ भन्ने गलत सन्देश फैलिएको छ।
...
पर्यटकीय सहर पोखराले सन् २०२२ मा झण्डै नौलाख हवाई यात्रु भित्र्याएको थियो। पर्यटन व्यवसायीका अनुमानमा वर्षभरिका ती हवाई यात्रुमध्ये कम्तिमा ७० प्रतिशत पर्यटक हुन्। अरू, स्थानीय यात्रुको आउजाउ हो। त्यसबाहेक स्थलमार्गबाट पनि पर्याप्त मात्रामा आन्तरिक र बाह्य पर्यटक पोखरा आउँछन्। स्थलमार्गबाट आउने ती पर्यटकको लेखाजोखा कतै छैन। त्यस्तै व्यक्तिगत सवारी, पर्यटक बस, अरू सार्वजनिक यातायातका साधनबाट आउने पाहुनाको संख्या पनि निकै नै ठूलो हुने गरेको व्यवसायी बताउँछन्।
कतै आधिकारिक तथ्यांक नभए पनि व्यवसायीको अनुमानमा वर्षमा कम्तिमा १० लाख आन्तरिक पाहुना पोखरा आउजाउ गर्छन्। त्यो संख्या कोरोना भाइरस संक्रमणका कारण अघिल्ला दुुई वर्ष केही कम भए पनि पछिल्लो समय बढिरहेको पोखराको भीडभाडले देखाएको थियो। हवाई दुर्घटनापछि भने पोखराको पर्यटन क्षेत्र सुनसान बनेको छ।
‘स्थलमार्गको यात्रा साह्रै झन्झटपूर्ण बन्यो। तोकिएको समयमा यात्रा कहिल्यै पूरा हुँदैन,’ पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘अहिले कतै नरोकिई जाने हो भने पनि पोखराबाट काठमाडौं पुग्न कम्तिमा नौघण्टा लाग्छ। त्यसमाथि सवारी ‘जाम’ मा परियो भने यात्रा १२–१३ घण्टासम्मको हुन्छ, धुलो, धुवाँको सकस त भनिसाध्य छैन ।’ स्थलमार्गको झन्झटपूर्ण यात्राका कारण अहिले पोखरा आउने आन्तरिक पाहुना निकै कम भएको उनले बताए।
‘पछिल्लोपटक पोखरामा भएको दुर्घटनापछि हवाई यात्रामाथि पनि सुरक्षाको प्रश्न उठेको छ। स्थलमार्गको यात्रा झन्झटिलो भएको गुनासो व्यापक छ,’ उनले भने, ‘यस्तो अवस्थामा आउने पाहुना पनि हच्केका छन्। विदेशी मात्र नभई आन्तरिक पाहुना पनि पछिल्लो समय आउन छाडेका छन्।’
पोखरामा भएको हवाई दुर्घटनापछि नेपालको आन्तरिक उडान निकै जोखिमपूर्ण रहेको भन्ने सन्देश फैलिँदा अहिले त्यसको मार पर्यटन क्षेत्रमा परेको उनले बताए। ‘हवाई जहाजको यात्रा त्रासपूर्ण हुनुहुँदैन, संसारमा हवाई माध्यम सबैभन्दा सुरक्षित यातायातको साधन मानिन्छ तर पोखरामा भएको घटनाले जनमानसमा नकारात्मक सन्देश प्रवाह गराएको छ,’ उनले भने, ‘पोखराको त यो एउटा दुर्घटना मात्र थियो तर यस घटनालाई बिस्तारै बिर्साउँदै लैजानुपर्नेमा झन् तोडमोड गरेर असुरक्षितको बिल्ला भिराइएको छ। त्यसले गर्दा यात्रामा मार परेको छ।’
उनका अनुसार स्थलमार्गको झन्झटिलो यात्रा र हवाई यात्राप्रतिको मनोवैज्ञानिक त्रासका कारण अहिले अत्यावश्यक कामलेबाहेक नागरिक यात्रामा निस्केका छैनन्। त्यसको मार पर्यटनले खेपेको छ। ‘यो बेला पर्यटन क्षेत्रमा अफ सिजन हो। विदेशी पाहुना कम आउने सिजन भए पनि आन्तरिक पाहुना पर्याप्त हुन्थे तर अहिले त आन्तरिक पाहुना नै आउन डराएका छन्,’ उनले भने, ‘यात्रुलाई हवाई यात्राप्रति आकर्षित गर्दै स्थलमार्गको काममा गति दिनुपर्छ ।’ उनका अनुसार हवाईयात्राप्रति त्रास फैलिएको र स्थलमार्गको यात्रा सकसपूर्ण बन्दा गण्डकी प्रदेशले आन्तरिक पाहुनाको ठूलो हिस्सा गुमाएको छ। गुमेको यो साख फर्काउन अझै केही समय लाग्ने उनले बताए।
सर्वसाधारण पनि स्थलमार्गको यात्रा निकै कष्टपूर्ण रहेको बताउँछन्। ‘पोखरा–काठमाडौंको यात्रा पाँचघण्टाको थियो तर अहिले त कम्तिमा आठघण्टा लाग्छ। कुनै बेला त १२–१३ घण्टासम्म पनि लागेको छ,’ समताका रेग्मी भन्छन्, ‘यात्रा त झन्झटिलो छँदैछ, बाटोभरीको धुलोका कारण गाडिभित्र गुम्सिएर यात्रा गर्नुपर्छ। सबैतिर भताभूंग छ। पानी परेको बेलाको यात्रा कष्टपूर्ण बन्छ। यो कारणले गर्दा पनि अहिले स्थलमार्गको यात्रा गर्न जो कोहीले रुचाएनन् ।’ पोखरा-आँबुखैरेनीको अधिकांश खण्ड अहिले भत्काइएको हुुँदा त्यसले यात्रालाई सकसपूर्ण बनाएको उनले बताए। ‘सबैतिर एकैपटक भताभुंग बनाउनु भन्दा थोरैथोरै गरेर काम सक्दै अघि बढेको भए यो समस्या नआउन सक्थ्यो,’ उनले भने।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी पनि स्थलमार्गको झन्झटपूर्ण यात्रा र हवाईयात्राप्रति अविश्वासका कारण पोखराले पर्यटनको ठूलो हिस्सा यो बेला गुमाएको बताउँछन्। ‘बाध्यकारी अवस्थामा मात्र अहिले मान्छे यात्रामा निस्केका छन्। झन्झटपूर्ण र त्रासका कारण गण्डकी प्रदेशले अहिले ठूलो संख्यामा आन्तरिक पाहुना गुमाएको छ, यसको मार व्यवसायमा परेको छ,’ अधिकारी भन्छन्, ‘यो बेला घुमघामका गतिविधि पूरै रोकिएका छन्। बाध्यकारी अवस्थामा मात्र मान्छे यात्रामा निस्केका छन् ।’
अधिकारीले पनि स्थलमार्ग भताभुंग हुँदा यात्रा अवधि लम्बिएको बताए । ‘हवाई दुर्घटनाका कारण जहाजका यात्रु कम छन्। त्यसको प्रभाव बसमा देखिएको छ। पर्यटक बसमा अहिले २० प्रतिशतसम्म यात्रु थपिएका छन्,’ उनले भने, ‘तर यात्रा इच्छुक छैन, बाध्यकारी अवस्थामा मात्र अहिले यात्रा गरिरहेका छन्।’
पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी पनि पहुँचका कारण पर्यटन क्षेत्रले निकैसकसपूर्ण अवस्था खेप्नुपरेको बताउँछन्। ‘भौतिक रूपमा पूर्वाधार निर्माण भइरहँदा केही समस्या भएको होला तर त्योभन्दा बढी समस्या संस्थागत रूपमा समन्वय अभावमा अप्ठेरो छ, जसले गर्दा पर्यटनमा मार परेको छ,’ भण्डारी भन्छन्। उनका अनुसार पोखराको हवाई दुर्घटनाले नेपालभरिकै आन्तरिक उडानमा मार परेको छ। पोखरा सबैभन्दा बढी प्रभावित भएको छ। ‘पोखरा अहिले यतिसम्म संकटमा छ कि राजमार्गको यात्रा सकसपूर्ण छ। हवाई यातायातप्रति अविश्वास पलाएको छ। यात्राप्रतिको अविश्वासले गर्दा पर्यटनमा मार परेको छ,’ उनले भने।
अहिलेको यो समस्या समाधान गर्न सरकारले केही पहल गर्नुपर्ने देखिन्छ। हवाई दुर्घटनापछि उड्डयन क्षेत्रमा निकै प्रश्न उठेका कारण त्यसको असर परेको उनले बताए। ‘पर्यटन क्षेत्र नै संकटमा पर्ने देखिएको छ। यो विषयको उठान समेत सरोकारवालाले गर्न सकेका छैनन्। सबैतिर लथालिंग र भताभुंग छ,’ उनले भने, ‘विदेशी मुद्राको स्थायी श्रोत पर्यटन भए पनि त्यो नै बन्द भएको छ। आन्तरिक पाहुनाको गतिविधि त झन् ठप्प नै भएको छ।’
प्रकाशित: १७ माघ २०७९ ०२:४९ मंगलबार